१५ लाख डोज खोप नेपाली जनतालाई अमेरिकी जनताको उपहार हो: अमेरिकी राजदूतावास

Spread the love

मित्र राष्ट्र अमेरिकाले नेपाललाई कोरोनाभाइरसविरूद्धको १५ लाख डोज खोप अनुदानमा दिने भएको छ।

काठमाडौंस्थित अमेरिकी राजदूतावासले उक्त खोप नेपाली जनतालाई अमेरिकी जनताका तर्फबाट उपहार भएको जनाएको छ।

राजदूतावासकी प्रवक्ता एना रिचे एलेनले अमेरिकी जनताका तर्फबाट नेपाली जनतालाई उपहारस्वरूप जोन्सन एन्ड जोन्सन कम्पनीले बनाएको  १५ लाख डोज खोप दिन लागेको बताइन्।

‘नेपालीप्रति अमेरिकाको दशकौं लामो प्रतिवद्धता र कोभिड-१९ महामारीमा हामीले गरिरहेको सहयोगको हिस्साका रूपमा नेपाललाई जोन्सन एन्ड जोन्सनको १५ लाख डोज खोप अनुदान दिँदैछौं,’ एलेनले भनिन्, ‘यो जीवन जोगाउने एकमात्र उद्देश्यका साथ अमेरिकी जनताका तर्फबाट नेपाली जनतालाई उपहार हो। हामी छिट्टै खोपबारे विस्तृत जानकारी दिनेछौं।’

परराष्ट्र मन्त्रालयले पनि अमेरिकाबाट खोप ल्याउने तयारी भइरहेको बताएको छ। यद्यपी खोप कहिले आइपुग्छ भन्ने ठ्याक्कै टुंगो लाग्न बाँकी छ।

‘हामी कुरा गरिरहेका छौं। आउने हप्ता अमेरिकाबाट खोप आइपुग्छ होला,’ परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले सेतोपाटीसँग भनिन्।

आजै बेलायती समाचार संस्था रोयटर्सले अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइटहाउसका अधिकारीलाई उद्धृत गर्दै आज (शुक्रबार) अमेरिकाले नेपाललाई १५ लाख र भुटानलाई मोडेर्ना कम्पनीले बनाएको ५ लाख डोज खोप पठाउन लागेको समाचार प्रकाशन गरेको थियो।

यसअघि अमेरिकाले नेपाललाई कोभ्याक्समार्फत् खोप दिने मुलुकहरूको सूचीमा राखेको थियो। अहिले पठाउन लागिएको खोप कोभ्याक्समार्फत् आउन लागेको हो कि सोझै आउने हो भन्ने खुलिसकेको छैन।

स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले पनि कोभ्याक्समार्फत् अमेरिकी खोप आउनेबारे कुराकानी भइरहेको भए पनि कुन समयमा कति डोज आउँछ भन्नेबारे टुंगो नभएको बताएका छन्।

जोन्सन एन्ड जोन्सनले बनाएको खोप एक डोज लगाए पुग्छ।


Spread the love