हामी असाध्यै नेगेटिभ त भएनौं ? : बर्षा सिवाकोटी

Spread the love

बर्षा सिवाकोटीको सुन्दरतामा भुतुक्कै हुने धेरै छन् । त्यो भन्दा धेरै उनको अभिनय हेरेर रमाउने छन् । कम तर मिठो बोल्ने मिजाशिलो स्वभावकी यी सुन्दर अभिनेत्रीलाई चलचित्र ‘नाई नभन्नु ल २’को सफलतापछि पछाडि फर्किएर हेर्नुपरेको छैन ।

यो समयसम्म आइपुग्दा उनले पशुपती प्रसाद, सुब्बा साब, भैरे, लप्पन छप्पन, कारखाना, बिर विक्रम २, जय शम्भो लगायतका चलचित्रमा काम गरिसकेकी छन् ।

एकपछि अर्को हिट चलचित्र दिएसँगै लोकप्रिय बनेकी बर्षाले पछिल्लो समय केहि चलचित्रबाट सोचेजस्तो रिजल्ट पाइनन् । सोहि कारण मैले पछिल्लो समय एकदमै ध्यान दिएर मात्रै प्रोजेक्टमा साइन गरेकी छु, साप्ताहिककर्मी रामजी ज्ञवालीसँगको एक कफी भेटमा उनले भनिन्, ‘आजभोली प्रोजेक्टको अफर आउने बेला धेरै ध्यान पुराउने गरेकी छु ।’ बर्षालाई के कुराले चित्त दुख्छ भने चलचित्रको स्क्रिप्ट सुनाउने बेला र निर्माण भएपछि अर्कै किसिमको बनेर आउँछ । उनी थप्छिन्, ‘मैले अब निर्माण टिम, चलचित्रको स्क्रिप्ट राम्रोसँग अध्ययन गरेर मात्रै प्रोजेक्टहरुमा सामेल हुन्छु ।’

बिभिन्न ब्राण्डहरुमा समेत धमाधम व्यस्त बर्षाले अब नयाँ चलचित्र ‘चालबाज’मा काम गर्दैछिन् । त्यसपछि उनी अर्को चलचित्र ‘सुदुर’ र स्क्रिप्ट पढिरहेका अरु दुई प्रोजेक्टमा व्यस्त हुनेवाला छिन् । विभिन्न ब्राण्ड र कम्पनीको एम्बेस्डर, धमाधम म्युजिक भिडियो र निरन्तर चलचित्रको काममा ब्यस्त बर्षा आफुलाई भाग्यमानी ठान्छिन् । उनी थप्छिन्, ‘संसारमा ठुला स्टार बनिएकाहरुका चलचित्र पनि कहिले चल्छ, कहिले चल्दैन । यो ठुलो कुरा होइन । तर, काममा मिहेनत गर्ने हो, एउटा नभए अर्को चलचित्र चल्छ । एउटा मन नपराएका दर्शकले अर्को चलचित्र पक्कै मन पराउनुहुन्छ ।’

बर्षाका बारेमा मिडियामा निकै समाचार बन्छन् । अन्तरवार्ताहरु छापिन्छन् । आकर्षक सुन्दर तस्विरहरुले पेज भरिएका हुन्छन् । कहिलेकाँहि उनलाई लिएर गसिप बन्छन् । बर्षा आफुलाई सकेसम्म गसिपमा रमाउन मन नलाग्ने बताउँछिन् । कहिलेकाँहि साह्रै चित्त नबुझ्ने विषय मिडियामा सार्वजनिक हुन्छन्, यस्ता कुराले मलाई त केहि फरक पर्दैन तर परिवारमा यसले असर पुराएको हुन्छ, उनले थपिन्, ‘पछिल्लो समय त परिवार र आफन्त अलिकती बुझ्ने गरेका छन्, सजिलो भएको छ ।’ मिडियाकर्मीहरुले कहिले लभमा पारिदिनुहुन्छ, कहिले छुटाइदिनुहुन्छ, कहिले कुन चलचित्रबाट निकाल्नुहुन्छ, कहिले साइन गरेको भन्नुहुन्छ, उनले थपिन्, ‘जे कुरा हो सम्वन्धित व्यक्ति र पात्रलाई सोध्नेहो भने त खास कुरा के हो थाहा हुन्थ्यो नि !’

चलचित्र उद्योगमा निरन्तर व्यस्त बर्षा आफु यो उद्योगको मायाकै कारण व्यस्त हुन सकेको बताउँछिन् । परिवारको साथ र दर्शकको मायाको कारण मलाई यो उद्योग छाडेर भाग्न कहिल्यै मन भएन, उनी भन्छिन्, ‘हामी असाध्यै धेरै नेगेटिभ भयौं कि ? कुरा काट्ने, खुट्टा तान्न खोज्ने, असहयोग व्यवहार, मपाइत्व जस्ता विभिन्न कुराले गाँजेको छ हामीलाई । यो त्यागेर अगाडी बढ्न सकियो भने निकै गज्जब हुन्थ्यो, मलाई अनि हामी सबैलाई ।’


Spread the love