सेरमले भन्यो- यो वर्षको अन्तिमबाट अरू देशलाई खोप दिन सकिन्छ कि

Spread the love

संसारकै ठूलो खोप उत्पादक कम्पनी सेरम इन्स्टिच्युट अफ इन्डियाले सन् २०२१ को अन्तिमतिरबाट मात्रै अरू मुलुकलाई कोरोनाभाइरस विरूद्धको खोप दिन सकिने बताएको छ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै सेरमका प्रमुख कार्यकारी अधिकृत आदर पुनावालाले कोभ्याक्स र अन्य मुलुकलाई वर्षको अन्त्यतिरबाट खोप दिन सकिने आशा व्यक्त गरेका छन्।

पछिल्लो समय भारतमा महामारीका बेला आफ्नो देशलाई चाहिने खोप सुरक्षित नगरिकन विदेशमा निर्यात गरेको भन्दै नरेन्द्र मोदी सरकारको आलोचना भइरहेको छ। राजधानी नयाँदिल्लीमा बिजुलीका पोलपोलमा ‘मोदीजी हाम्रा बच्चाहरूको भ्याक्सिन किन विदेश पठाइयो’ लेखिएका पोस्टर टाँसिएका छन्।

पुनावालाले भने भारतीयको ज्यान जोखिममा राखेर कहिल्यै पनि खोप निर्यात नगरेको बताएका छन्।

भारतमा खोप कार्यक्रम सञ्चालन भइसकेको र संक्रमितको संख्या एकदमै न्यून भएका बेला संसारका अरू मुलुकलाई कोरोनाविरूद्ध लड्न सघाउने सरकारको नीतिअनुसार झन्डै ६ करोड ६० लाख डोज विदेश पठाइएको उनले बताएका छन्।

अहिले भारत नै दोस्रो लहरले आक्रान्त बनेकाले अबका केही महिना उत्पादित खोप घरेलु रूपमै प्रयोग हुने पुनावालाको भनाइ छ।

यसैबीच भारतले आउँदो अक्टोबरभन्दा अघि खोप निर्यात खुला नगर्ने बताएको छ। समाचार संस्था रोयटर्सले विभिन्न सरकारी अधिकारीहरूलाई उद्धृत गर्दै एक महिनाअघि बन्द भएको खोप निर्यात खुल्न अक्टोबर नै कुर्नु पर्ने देखिएको जनाएको छ।

गत वर्ष भारतले नेपाललगायत छिमेकी मुलुकलाई कैयौं लाख खोप अनुदानमा उपलब्ध गराएको थियो।

बेलायतको अक्सफोर्ड विश्वविद्यालय र अष्ट्राजेनेकाले विकास गरेको खोप भारतमा सेरम इन्स्टिच्युट अफ इन्डियाले कोभिसिल्ड नाम दिएर उत्पादन गरिरहेको छ।

सेरमसँग नेपाल सरकारले २० लाख डोज खोप किन्ने सम्झौता गरेको थियो। त्यसअनुसार १० लाख डोज खोप आइसकेको छ भने बाँकी १० लाखका लागि पनि अर्थ मन्त्रालयले बजेट निकासा गरिसकेको छ।

सम्झौताअनुसार सेरमले बाँकी १० लाख डोज खोप नेपाललाई दिएको छैन। सेरमले बाँकी खोप नदिएपछि कोभिसिल्डको पहिलो डोज लगाएका ६५ वर्षमाथिका नागरिकले दोस्रो डोज कहिले पाउँछन् भन्ने अन्यौल भएको छ।

सरकारले सेरमसँग थप १० लाख डोज पनि किन्ने सम्झौता भइसकेपछि त्यहीअनुसार ६५ वर्ष माथिका नागरिकलाई पहिलो डोज दिएको थियो।


Spread the love