संरक्षित वन्यजन्तुको छालासहित दुई जना बौद्धबाट पक्राउ

Spread the love

संरक्षित वन्यजन्तुको आखेटोपहारसहित दुई जना पक्राउ परेका छन्।

केन्द्रीय अनुसन्धान ब्युरोले दुई जनालाई काठमाडौं महानगरपालिका वडा नम्बर ६ बौद्ध पिपलबोटबाट पक्राउ गरेको हो।

उनीहरूलाई प्रहरीले दुइटा संरक्षित वन्यजन्तुको छालासहित शुक्रबार पक्राउ गरेको ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए।

प्रहरीले काठमाडौं महानगर-६ गोठाटार बस्ने २८ वर्षीय सबिन तामाङ र रामेछाप लिखु गाउँपालिका-५ नागदह घर भई भक्तपुरको पुरानो ठिमी बस्ने २६ वर्षीय हितबहादुर मगरलाई पक्राउ गरेको हो।

उनीहरूबाट एउटा सालकको छाला र अर्को चरी बाघको जस्तो देखिने छाला बरामद गरेको हो। यद्यपी छाला चरी बाघकै हो वा होइन भन्नेबारेमा बुझ्ने काम भइरहेको प्रहरी उपरीक्षक महतोले बताए।

संरक्षित वन्यजन्तुको छाला बेच्न लागेको भन्ने सूचना प्रहरीलाई लामो समयदेखि आएको उनले बताए।

सोही सूचनाको आधारमा अनुसन्धान गर्दै जाँदा उनीहरूलाई फेला पारी प्रहरीले पक्राउ गरेको हो।

थप अनुसन्धान गर्न प्रहरीले उनीहरूलाई डिभिजन वन कार्यालय, हात्तीसारमा पेश गरिएको छ।


Spread the love