श्रीलंकाको समुद्री तटमा मृत फेला परे सयौं कछुवा

Spread the love

श्रीलंकाको राजधानी कोलोम्बोको समुद्री तटमा सयौं कछुवा मृत फेला परेका छन्।

गत जुन २ मा कोलोम्बो बन्दरगाहनजिकै पानीजहाजमा आगलागी भएको थियो। पछि उक्त जहाज समुद्रमै डुबेको थियो।  जहाजले बोकेको रसायनिक पदार्थ र तेल समुद्रमा खसेको थियो। त्यही कारणले समुद्रमा भएका जनावहरू मरेको हुन सक्ने रोयटर्सले जनाएको छ।

वातावरण अभियन्ताहरूले १७६ वटा कछुवासँगै २० वटा डल्फिन र चार वटा ह्वेल पनि मृत फेला परेको जनाएका छन्।

जहाज डुब्नु अघि नै त्यसमा भएका रसायन र तेलले उक्त क्षेत्रको सामुद्रिक पारिस्थितिक प्रणालीमा गम्भीर असर पर्ने चिन्ता व्यक्त भएको थियो।

श्रीलंकाका वातावरण विज्ञहरूले यसलाई अहिलेसम्मकै सबैभन्दा नराम्रो समुद्री प्रकोप भएको बताएका छन्।

भारतबाट सिंगापुर जान लागेको पानीजहाजमा मे २०मा भीषण आगलागी भएको थियो। श्रीलंकाको कोलम्बो हुँदै सिंगापुर जान लागेको एमभी एक्स-प्रेस पर्ल मालवाहक पानीजहाजमा आगलागीपछि बिस्फोट पनि भएको थियो।

श्रीलंका नौ सैनिकले पानीजहाजका चालक दलको उद्धार पनि गरेको थियो।

भारतको हाजिरा बन्दरगाहबाट १ हजार ४ सय ८६ कन्टेनर सामान बोकेर सिंगापुरको ध्वजावाहक उक्त पानीजहाज मे १५ मा छुटेको थियो। २५ टन नाइट्रिक एसिड र अरू रसायन पनि बोकेको पानीजहाजको एउटा कन्टेनरमा आगो लागेको थियो। त्यसपछि उक्त जहाज कोलम्बो पोर्टमा रोकिन खोजेको थियो।

जहाजको चालक दलमा फिलिपिन्स, चीन, भारत र रूसका २५ जना थिए। तीमध्ये दुई जना घाइते भएका थिए।

आगो निभाउन श्रीलंकाली वायु सेनाको हेलिकप्टरबाट केमिकल फालेको थियो भने जहाजमा रहेका कैयौं कन्टेनर समुद्रमा खसेका थिए।

श्रीलंका र भारतीय नौ सैनिकहरूले जहाजको आगो निभाउन प्रयत्न गरे पनि असफल भएका थिए।

श्रीलंकाली सरकारले पानीजहाजमा भएको क्षतिको आरोप जहाजका क्याप्टेन ट्युटकालो भिटालीसहित १५ जनामाथि लगाएको छ। क्याप्टेन भिटालीलाई अदालतले देश छाड्न प्रतिबन्ध लगाएको छ।

जहाज डुबेर असर गरेको क्षेत्रमा अधिकारीहरूले गत हप्ता नै माछा मार्न अनुमति दिएको थियो। तर विज्ञहरूले त्यसमा खतरा रहेको बताएका छन्।


Spread the love