विभागले रेम्डेसिभिर पठायौं भन्छ, यहाँ पुगेन बाटैमा हराएजस्तो छ: रूपन्देहीका अस्पताल

Spread the love

नेपाल औषधी व्यवस्था विभागले रेम्डेसिभिर औषधी उपलब्ध नगराउँदा रूपन्देहीका विभिन्न अस्पतालमा रहेका कोरोना संक्रमितको उपचार प्रभावित बनेको छ। 

अत्यन्त सिकिस्त संक्रमितको उपचारमा प्रभावकारी मानिएको रेम्डेसिभिर औषधी विभागले बंगलादेशबाट दुई पटक गरी  सात हजार भाइल आयात गरेको जनाएको छ। 

उक्त औषधी मंगलबार हाम्रो मेडिकन्सर्नले ३ हजार भाइल र आयान हेल्थ केयर प्रालिले बुधबार ४ हजार भाइल काठमाडौं  आयात गरेको थियो। औषधी व्यवस्था विभागले काठमाडौं आयात गरिएको औषधी कोरोनाका बिरामीको उपचार गराइरहेका अस्पताललाई वितरण गरेको जनाए पनि सम्बन्धित अस्पतालले भने नपाएको बताएका छन्। 

विभागले मंगलबार आइपुगेको ३ हजार भाइलमध्ये रूपन्देहीका लुम्बिनी प्रादेशिक अस्पताल बुटवललाई १ सय ८ भाइल र युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज भैरहवालाई ५४ भाइल उपलब्ध गराएको दाबी गरेको छ। 

त्यस्तै, बुधबार आयात गरिएको ४ हजार भाइल औषधीमध्ये पनि लुम्बिनी प्रादेशिक अस्पताललाई ७२, युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज भैरहवालाई १ सय २ र भीम अस्पताल भैरहवालाई २४ भाइल उपलब्ध गराइएको जनाएको छ।

रूपन्देहीका कुनै पनि अस्पतालले हालसम्म औषधी उपलब्ध नभएको र विभागसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन नसकेको बताएका छन्। लुम्बिनी प्रादेशिक अस्पतालका फार्मासिस्ट पदम खनालले औषधी व्यवस्था विभागले दुई पटक गरी  अस्पताललाई १ सय ८० भाइल औषधी उपलब्ध गराएको जनाए पनि अस्पतालमा प्राप्त नभएको सेतोपाटीलाई बताएका छन्।

‘विभागले रेम्डेसिभिर औषधी पठाइएको भनेर सूचनासमेत सार्वजनिक गरेको छ, तर औषधी आएको छैन, विभागमा सम्पर्क गर्न खोज्दा कसैसँग सम्पर्क हुँदैन,’ उनले भने।

युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज भैरहवाका प्रमुख प्रशासकीय अधिकृत कमल ढकालले पनि मेडिकल कलेजमा औषधी नआएको बताए।

‘विभागले औषधी पठाए पनि बाटोबाटै गायब भयो भन्ने सुनिन्छ, मेडिकल कलेजमा भने अहिलेसम्म आइपुगेको छैन,’ उनले भने।

विभागले दुई पटक गरी मेडिकल कलेजलाई १ सय ५६ भाइल औषधी उपलब्ध गराएको जनाएको छ। त्यस्तै भैरहवास्थित भीम अस्पतालमा पठाएको भनिएको २४ भाइल औषधी पनि अस्पतालमा आएको छैन। अस्पतालका कोरोना फोकल पर्सन डाक्टर  आरिफ हुसेनले विभागले औषधी पठाएको भन्ने समाचार सुने पनि अस्पतालमा नआएको बताए। 

विभागले दुई पटक गरी देशभर कोरोनाका बिरामीको उपचार गरिरहेका ५०  अस्पताललाई औषधी वितरण गरेको जनाएको छ। तीमध्ये कोरोनाको उपचार गरिरहेका अस्पतालमा पनि औषधी पठाइएको छैन। रूपन्देहीमा क्रिमसन अस्पताल र देवदह मेडिकल कलेजले पनि कोरोनाका बिरामीका लागि बेड छुट्याएर नै उपचार गरिरहे पनि विभागले औषधी उपलब्ध गराएको छैन। 

नेपाल औषधी व्यवसायी महासंघका पूर्वअध्यक्ष बाबुराम भट्टराईले औषधी व्यवस्था विभागले पठाएको भनिएको औषधी अस्पतालमा नआइपुग्दा बिरामी मारमा परेको बताए।

‘विभागले औषधी पठाएको भन्छ, यहाँका अस्पतालमा औषधी आइनपुग्दा व्यवसायीले लुकाएको आरोप लाग्ने अवस्था आयो,’ भट्टराईले भने।

चिकित्सकका अनुसार रेम्डेसिभिर औषधी कोरोनाका सबै बिरामीको लागि आवश्यक नपरे पनि गम्भीर अवस्थाका बिरामीलाई लाभदायक मानिन्छ। यो औषधी एकजना बिरामीलाई ६ भाइल आवश्यक पर्ने उनीहरू बताउँछन्।

लुम्बिनी प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर राजेन्द्र खनालले अक्सिजन अभाव भइरहेको अवस्थामा अस्पतालमा पठाइएको भनिएको औषधीसमेत अस्पतालमा आइनपुग्दा बिरामीको ज्यान जोखिममा पुगेको बताए। 

‘चिकित्सक र स्वास्थ्यकर्मी अस्पतालमा उपलब्ध स्रोतसाधनको अधिकतम उपयोग गर्दै बिरामीको सेवामा खटिने हो, चिकित्सक आफैं स्रोत साधन खोज्न लाग्ने हो भने बिरामीको उपचार कसरी गर्न सकिएला,’ उनले भने।

लुम्बिनी प्रादेशिक अस्पतालमा बुधबार रातीदेखि नै अक्सिजन अभाव भएको डाक्टर खनालले बताए। बुधबार राती र बिहीबार दिनभर अक्सिजनको खोजीमा लागे पनि अहिलेसम्म उपलब्ध हुन नसकेको उनले बताए।

‘सप्लायर्सले बिहीबार रातीसम्म ६० सिलिन्डर भए पनि अक्सिजन उपलब्ध गराउँछु भनेको थियो, अहिलेसम्म अक्सिजन उपलब्ध भएको छैन, सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सक्दैन,’ उनले भने।

दिन प्रतिदिन गम्भीर अवस्थाका संक्रमितको संख्या थपिँदै जाँदा अक्सिजन र औषधी अभाव भएपछि बिरामीको अवस्था टुलुटुलु हेरेर बस्नुबाहेक अर्को विकल्प नभएको भन्दै उनले आवश्यक सहयोग गर्न सबै क्षेत्रसँग आग्रह गरेका छन्। 


Spread the love