मेलम्चीको नयाँ डेडलाइन असार मसान्त ! यसरी हुँदैछ काम

Spread the love

२० कात्तिक, काठमाडौं । नेपालमा विकास–निर्माणको ढिलासुस्तीलाई कुनै परियोजनाले वास्तविक प्रतिविम्बित गर्न सक्छ भने त्यो मेलम्चीले सक्छ । दुई दशकअघि नै सुरु भएको मेलम्ची परियोजनाले काठमाडौंमा पानी खसाउने मिति धेरै पटक तोकिए पनि काम अझै सकिएको छैन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लो वर्ष आगामी वैशाखमै मेलम्चीको खानेपानी काठमाडौंमा आइपुग्ने घोषणा गरेका थिए । त्योभन्दा पछि खानेपानी मन्त्री बीना मगरले दशैंमा काठमाडौंवासीले मेलम्चीको पानी पिउन पाउने दाबी गरिन् । यसभन्दा पहिले पनि विभिन्न सरकारका पालामा काठमाडौंमा मेलम्ची आउने मिति तोकिएकै हुन् ।

पछिल्लो पटक मन्त्री मगरले दशैंमा पानी काठमाडौं झर्नेे दाबी गरिरहँदा निर्माणको जिम्मा पाएको इटालियन कम्पनी सीएमसी नै काम छोडेर हिँड्यो । सीएससी भागेपछि सरकारले चिनियाँ कम्पनी सिनो हाइड्रोलाई बाँकी कामको जिम्मा दिएको छ ।

अहिले भने कहिले आइपुग्ला त पानी भन्ने प्रश्नमा सरकारका ठूला मान्छेहरु मुख खोल्ने हिम्मत गर्दैनन् । बुधबार मेलम्ची आयोजनाको साइड अफिसमा भेटिएकी खानेपानी मन्त्री मगर समेत कहिले सम्पन्न हुन्छ भन्ने प्रश्नको जवाफ दिइनन् ।

मन्त्री मगरले भनिन्, ‘अब सम्पन्न भए पछि यस दिन उद्घाटन हुन्छ भनेर तपाईहरुलाई खबर गर्छौं, अहिले चाहिँ नभनौ होला ।’

‘सीको आदेश छ’

सिनो हाइड्रोका प्रतिनिधिले आयोजना निर्माणमा विलम्ब नहुने बताएका छन् । निकै विश्वासका साथ आफूहरुलाई निर्माणको जिम्मा दिइएको भन्दै त्यो विश्वास तोड्न नदिने उनीहरुले बताए ।

अनुगमनका लागि पुगेको प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिकी सभापति कल्याणी खड्का लगायतसँग कुरा गर्दै सिनो हाइड्रोका टनेल इञ्चार्स सीओ ह्याउँले पहिले को–को भागे भन्ने बिर्सन आग्रह गरे । रफ्तारमा काम भइरहेको भन्दै उनले अझै कामदार थपेर निर्माण चाँडोभन्दा चाडो सक्ने योजना सुनाए ।

‘चिनियाँ राष्ट्रपति सी चीनफिङको नेपाल भ्रमणका क्रममा समयसीमा नै सम्पन्न गर्नु भन्ने सन्देश आएको छ’ उनले भने, ‘काम चाडै सम्पन्न गर्नका लागि नेपालस्थित चिनिया दुतावासले समेत निकै चासो दिएको छ । त्यसैले यो हाम्रो राष्ट्रपति र देशको इज्जतको सवाल भएका कारण निर्माणमा कुनै विलम्ब हुँदैन ।’

सीएमसी भागेपछि आयोजनाको बाँकी काम सम्पन्न गर्न चिनियाँ कम्पनी सिनो हाइड्रोले जिम्मा पाएको हो । यो कम्पनी हाल माथिल्लो तामाकोशीको प्रमुख ठेकदार पनि हो । कुलेखानी तेस्रोमा काम गरेको सिनोले निर्माणाधीन तनहुँ जलविद्युत आयोजना पनि पाएको छ ।

मेलम्ची खानेपानी आयोजनाले मुख्य कामलाई दुई वटा प्याकेजमा विभाजन गरेर ठेक्का लगाएको थियो । दुबै ठेक्का सिनोले नै पाएको हो । मेलम्चीमा सिनोले काम सुरु गरिसकेको छ ।

‘सहजीकरण गर्न तयार छौं’

मंगलबार अनुगमनको नेतृत्व गर्दै मेलम्ची खानेपानी आयोजना स्थल पुगेकी विकास तथा प्रविधि समिति सभापति खड्काले अनुगमनपछि केही समस्याहरु आफूले देखेको बताइन् । कामले गति लिएको भए पनि स्थानीयका गुनासा, स्थानीय सप्लाशर्यहरुको भुक्तानी लगायतका केहि समस्याहरु रहेको उनको भनाइ छ ।

यस्ता समस्या सहजीकरण गर्न समितिले भूमिका खेल्ने सभापति खड्काले बताइन् । ‘अनुगमनपछि काम राम्रै भइरहेको देखियो, तर केहि बिवाद र समस्या छन्,’ उनले भनिन्, ‘ति समस्याहरु कसरी हल गर्न सकिन्छ भन्ने विषयमा हामीले स्थानीयको सुझाव लियौं, आयोजनाको ब्रिफिङ पनि सुन्यौ, आवश्यक सहजीकरण समितिले गर्छ ।’

समितिका सदस्य सांसद यज्ञराज सुनुवारले मेलम्चीको पानी काठमाडौंबासीले मात्रै नभएर देशभरीकै जनताले पिउने भन्दै चाँडोभन्दा चाडो निर्माण सम्पन्न हुनुपर्छ भन्ने योजनाका साथ अनुगमन गरिएको बताए । आगामी असारमै पानी पुर्‍याउने आयोजनाले बताएको उल्लेख गर्दै उनले निर्धारित समयमा पानी पुर्याउन सबैले सहयोग गर्नुपर्नेमा जोड दिए ।

समितिले अनुगमन गरे पनि निर्देशन भने केही दिएको छैन । अब चाँडै बेठक बसेर छलफल गरी आवश्यक निर्देशन दिन सकिने सभापति खड्काले बताइन् ।

मंगलबार र बुधबार विकास तथा प्रविधि समितिले आयोजनाको निरीक्षण गर्‍यो । बुधबार मुहान, टनेलको ८ किलोमिटर लगायतको अनुमगनका साथै आयोजनासँग प्रगतिबारे ब्रिफिङ लिएको समितिले बुधबार स्थानीयको सुझाव लिएका थियो ।

चालु वर्षभित्रै काठमाडौं पानी झार्ने योजना

आयोजना सम्पन्न कहिले हुन्छ भन्ने विषयमा सरकारले नबोल्ने नीति लिएको छ । यद्यपि, आयोजनाले भने चालु आर्थिक वर्षभित्रै सुन्दरीजलसम्म पानी पुर्‍याउने योजना रहेको बतायो ।

आयोजनाका कार्यकारी निर्देशक तिरेशकुमार खत्रीले संसदीय समितिलाई बिफ्रिङ गर्ने क्रममा आगामी असार मसान्तसम्ममा काठमाडौंको सुन्दरीजलमा पानी झार्ने योजना रहेको सुनाए । मेलम्ची आयोजनाको बाँकी कामलाई १० प्याकेजमा विभाजित गरिएको उनले जानकारी दिए ।

खत्रीका अनुसार दुईवटा प्याकेजमा खुला बोलपत्र आह्वान गरिएको थियो भने बाँकी ८ वटा प्याकेज पुराना स्थानीय ठेकदारलाई दिइएको छ । हेडवक्र्सतर्फ पानी थुन्ने इन्टेक संरचना, पहुँच मार्गको सुधार, कभर ड्यामको डिजाइन र निर्माण, पहुँचमार्गको स्टिल ब्रिजको निर्माण, क्याम्प साइटको मर्मत, फ्लसिङ सिस्टमको जडान लगायतका काम गर्नुपर्ने छ । यस्तै हाइड्रोमेकानिकल गेट, एसएस पाइपको आपूर्ति जडान र इन्स्ट्रुमेन्टेसन कामको ठेक्का पाउने ठेकदारसँग समन्वयको काम पनि गर्नुपर्छ ।

सुरुङमार्गतर्फ सिनोले सुरुङको अन्तिम ंरचना निर्माण, डाइभर्सन सुरुङ र अडिट सुरुङको लाइनिङ र फिनिसिङ, अडिट सुरुङसम्मको पहुँचमार्ग सुधार, ग्याल्थुमको पहुँचमार्ग पुलको पुनर्निर्माण, क्याम्पहरुको मर्मत सुधारलगायतका काम गर्नुपर्छ । सुरुङमा भेन्टिलेसन बनाउने र विभिन्न स्थानमा पाइप आपूर्ति र जडानको काम पनि यसमा छ ।

यसअघि इटालियन कम्पनी सीएमसीले आयोजनामा ८ वटा लोकल भेन्डरका रुपमा राखेका कम्पनीहरुलाई सोझै ठेक्का लगाइएको थियो । हाईड्रो–इलेक्ट्रो मेकानिकल र केही आपूर्तिसम्बद्ध ८ वटा ठेक्का त्यहाँ कार्यरत पुरानै कम्पनीले बिनाप्रतिस्पर्धा पाएका हुन् । सीएमसी आफैंले गरिरहेको जटिल प्राविधिक काम चाहिँ अब सिनोले नै अघि बढाउनेछ ।

हेडवक्र्सको काम १५ महिनामा र सुरुङको काम १२ महिनामा सक्नेगरी टेन्डर आह्वान गरिएको थियो । सरकारले गत जेठमा ल्याएको नीति तथा कार्यक्रममा एक वर्षभित्र मेलम्ची ल्याउने जनाएको थियो । सरकारले आगामी वर्षको बजेटमार्फत मेलम्चीका लागि लागि ७ अर्ब ३९ करोड बजेट छुट्याएको छ । यो रकम काठमाडौंमा पाइप बिछ्याउन पनि उपयोग हुने बताइएको छ ।

From OnlineKhabar


Spread the love