मानव बेचबिखनमा बदलिँदो स्वरुप

Spread the love

मानव बेचबिखन विश्वव्यापी समस्या हो । नेपाल पनि यो समस्याबाट ग्रस्त छ । नेपालमा मानव बेचबिखन नयाँनयाँ शैली र स्वरुपमा देखिन थालेको छ । पछिल्लो समय विवाहको आवरणमा दस लाख रुपैयाँमा चीनमा नेपाली युवती बेचिने गरेको रहस्य सार्वजनिक भएको छ । नेपालमा आर्थिक अवस्था कमजोर भएका युवतीलाई प्रभावमा पारेर चिनियाँ युवकसँग बिहे गराएर यौनदासी बनाउने गरेको तथ्य मानव बेचबिखन अनुसन्धान ब्यूरोले पत्ता लगाएको छ । हालै चार चिनियाँ दलालसहित दस जनाको गिरोहलाई प्रहरीले पक्राउ गरेपछि मानव बेचबिखनको बदलिँदो स्वरुप खुलेको हो । चिनियाँ युवकसँग बिहे गरी चीन जाने तयारीमा रहेकी युवतीलाई गिरोहमाथि शंका लागेपछि बेचबिखनको एकपछि अर्को रहस्य खुलेको हो । नेपालका दलालहरु गाउँगाउँबाट मंगोलियन मूलका सामान्य लेखपढ गर्न जान्ने युवती खोज्ने र चिनियाँ दलाललाई भेट गराउने काममा सक्रिय रहेको भेटिएको छ । दलालले युवतीहरुलाई चिनियाँ युवकसँग बिहे गराइदिएबापत दस लाख रुपैयाँ लिने गरेको तथ्य खुलेबाट मानव बेचबिखनको अवस्था भयावह देखिएको हो । चीनमा लामो समयदेखि बेहुली किन्ने प्रथा कायम छ । चीनमा विगतमा एक सन्तान नीतिका कारण धेरै छोराहरु जन्मिएपछि बेहुली नपाउने समस्याका कारण नेपाली युवतीसँग बिहे गर्ने र किनेर ल्याएको भन्दै चरम् यातना दिँदै यौनदासी बनाउने गरेको पनि ब्यूरोको अनुसन्धानमा खुलेको छ ।

मानव बेचबिखनमा नयाँ नयाँ आवरणमा दलालहरु सक्रिय भइरहेका छन् । इन्डोनेसियाको राजधानी जाकार्ता र प्रसिद्ध पर्यटकीय गन्तव्य बालीमा बन्धक बनाइएका तीन नेपाली युवक र एक युवतीलाई सकुशल स्वदेश फर्काइएपछि मानव बेचबिखनका लागि प्रयोग हुन थालेका नयाँ मार्ग र गन्तव्य सार्वजनिक भएको हो । अस्ट्रेलिया लैजाने भन्दै जाकार्ता र बाली लगेर बन्धक बनाइएका नेपाली युवायुवती त एक दृष्टान्त मात्रै हो । नेपालमा कमजोर आर्थिक अवस्था भएका र सीधासाधा व्यक्तिहरु दलालको चंगुलमा परिरहेका छन् । विगतमा नेपालीहरुलाई भारतका प्रमुख सहर हुँदै तेस्रो मुलुकमा लगेर मानव बेचबिखन हुने गरेका विवरण सार्वजनिक हुने गरे पनि पछिल्लो समय नयाँ बाटा र गन्तव्यहरुको प्रयोग हुन थालेको छ । मानव बेचबिखनविरुद्ध काम गर्दै आएका ब्यूरोका अधिकारीहरुका अनुसार वैदेशिक रोजगारी, आप्रवासन, शिक्षा र बिहेबारीजस्ता आवरणमा नेपालबाट मानव बेचबिखन हुँदै आएको छ । यी आवरणमा नेपालका सुरक्षा अधिकारीहरु संवेदनशील भई सीमानाका र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कडाइ हुन थालेपछि गिरोहहरुले नयाँ शैली र मार्ग अवलम्बन गर्न थालेका हुन् । यसले मानव बेचबिखन नियन्त्रणमा चुनौती थपेको छ ।

राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदनले गत वर्ष नेपालका करिब ३५ हजार मानिस बेचबिखनमा परेको जनाएको छ । जसमध्ये १२ हजार वैदेशिक रोजगारी, ७ हजार वयस्क मनोरञ्जन र ३ हजार निकृष्ट बालश्रमका लागि बेचबिखनमा परेको अनुमान गरिएको छ । १५ लाख बेचबिखनको जोखिममा छन् । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन–२०६४ अनुसार कुनै पनि उद्देश्यले मानिस बेच्ने वा किन्ने, फाइदा लिई वा नलिई वेश्यावृत्तिमा लगाउने, कानुनी बमोजिमबाहेक मानिसको अंग झिक्ने र वेश्यागमन गर्नलाई मानव बेचबिखन मानेको छ । किन्ने वा बेच्ने उद्देश्यले मानिसलाई विदेश लैजाने, वेश्यावृत्तिमा लगाउने वा शोषण गर्ने उद्देश्यले कुनै प्रकारले प्रलोभनमा पारेर, झुक्याएर वा करकापमा पारेर कसैलाई बसिरहेको घर, स्थान वा व्यक्तिबाट छुटाइ लग्ने, आफूसँग राख्ने वा नेपालभित्रकै कुनै ठाउँ, विदेश वा कसैलाई दिने कार्यलाई ओसारपसारको रुपमा परिभाषित गरेको छ । नेपाली किशोरी तथा युवतीलाई भारतलगायत विभिन्न मुलुकबाट बेलाबेलामा उद्धार गरिएका खबर सार्वजनिक हुँदै आए पनि चीनमा बिहेको आवरणमा बेचिएका युवतीका कथा बाहिर आएका छन् । मानव तस्करीबारे भइरहेका नयाँ प्रविधिको प्रयोग, नयाँ गन्तव्य र मार्गका विषयमा सरकारले गम्भीरतापूर्वक अनुसन्धान गरी नियन्त्रणमा ध्यान दिनु आवश्यक देखिएको छ ।


Spread the love