महराको ‘लटरपटर’ राजीनामा

Spread the love

बलात्कार आरोपमा मुछिएका प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले राजीनामा दिएका छन्।

संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीलाई आइतबार राति उनकै डेरामा गई बलात्कार गरेको आरोप महरामाथि लागेको थियो।

उक्त घटनापछि मंगलबार बिहान बसेको नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकले महरालाई सभामुख र सांसदबाट राजीनामा दिन भनेको थियो।  महरा तत्कालीन नेकपा  माओवादी केन्द्रबाट  सभामुख चुनिएका थिए।

अहिले तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर नेकपा बनेको छ।

नेकपा सचिवालय निर्णयअनुसारपछि उपसभामुख शिवमाया तुम्बाहाम्फे महराको राजीनामा आउने ठानेर सिंहदरबारस्थित कार्यालयमा पुगेकी थिइन्।

तुम्बाहाम्फे कार्यालयमा पुगेको निकैबेरसम्म पनि महरा राजीनामा दिन आएनन्। बरू उनले निवासबाट राजीनामापत्र जारी गरे।

मिडियामा समाचार आइसकेपछि महराका स्वकीय सचिव सागर केसीले सिंहदरबार पुगेर उपसभामुख तुम्बाहाम्फेलाई राजीनामा पत्र बुझाएका छन्।

महराले राजीनामा पत्रमा उनले केबाट राजीनामा दिएका हुन् भन्ने अस्पष्ट छ।

राजीनामा पत्रमा उनले के पदबाट राजीनामा दिएको खुलाएका छैनन्। सभामुखको लेटर प्याड भएकाले सभामुखबाट राजीनामा दिएको स्वत: बुझिन्छ। तर सांसदबाट भने उनले राजीनामा दिएका छैनन्। पत्रमा सांसदबाट राजीनामा दिएको कहिँकतै उल्लेख छैन।

महरा २०७४ को प्रतिनिधि सभा निर्वाचनमा दाङ-२ बाट निर्वाचित भएका थिए।

नेकपाको सचिवालय बैठकले उनलाई सभामुख र सांसद दुबैबाट राजीनामा दिन भनेको थियो।

राजीनामा पत्रमा उनले छानबिन प्रक्रिया नसकिँदासम्मका लागि राजीनामा दिएको व्यहोरा लेखेका छन्। तर राजीनामा दिइसकेपछि त्यो छानबिनबाट प्रमाणित भए पनि नभए पनि उनी स्वत: पदमा फर्किने भन्ने हुन्न। सभामुखको राजीनामा स्वीकृत भएपछि प्रतिनिधि सभाले चुनावबाट नयाँ सभामुख चुन्नेछ।

Source: setopati.com


Spread the love