भरतपुर विमानस्थल विस्तार गर्न सहमत : सेनाको ब्यारेक हटाइने, एक हप्तामा टोली गठन गरिने

Spread the love

भरतपुर । २०४९ सालदेखि नै भरतपुर विमानस्थल विस्तार गर्ने कुरा उठेको हो । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला चितवन आउँदा चितवनवासीले भरतपुर विमानस्थल विस्तार गर्न आग्रह गरेका थिए ।

आग्रह गरेको २६ वर्ष पूरा हुँदा पनि भरतपुर विमानस्थल विस्तार होइन झन् साँघुरो हुँदै गयो । नजिकमा मापदण्ड मिचेर केही अग्ला–अग्ला घरहरु ठडिए, जसका कारण जोखिम झन्झन् बढ्दै गयो । लुक्लापछिको दोस्रो जोखिमपूर्ण विमानस्थलको रुपमा भरतपुरलाई चिनिन थालियो ।

भरतपुर अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प : प्रचण्ड

सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले भरतपुर विमानस्थललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पका रुपमा विकास गर्नुपर्ने बताएका छन् ।

बुधबार भरतपुरमा विमानस्थलबारे भएको अन्तक्र्रिया कार्यक्रममा अध्यक्ष दाहालले भने, ‘त्रिभुवन विमानस्थलको विकल्पका रुपमा साना जहाजलाई भरतपुर विमानस्थलमा ल्याउन सकिन्छ । तर, यसका लागि अब हामीले बोलेरमात्रै हुँदैन, तत्काल एक्सनमा जानुपर्छ । विमानस्थलबारे अब बैठक बसिरहनु आवश्यक छैन ।’ जनताको नजरमा नेपाललाई विकासको नयाँ युगमा प्रवेश गरेको आभास दिलाउने गरी काम गर्नुपर्ने बेला आएको उनले बताए ।

विमानस्थलवरिपरिका संरचना र आडैमा रहेको नेपाली सेनाको ब्यारेकको व्यवस्थापन गर्ने विषयमा छलफल गरेर छिट्टै निष्कर्ष निकाल्नुपर्ने उनको भनाइ छ । ‘भौगोलिक बनावटलाई हेर्दा भरतपुरमात्रै होइन समग्र जिल्लालाई नै विशेष खालको गति दिनु आवश्यक छ’, उनले भने, ‘तर जिल्लाको पर्यटन, उद्योगलगायतका विभिन्न खालका व्यवसायलाई हेर्दा सबैभन्दा पहिले विमानस्थललाई व्यवस्थित बनाउनेतर्फ हाम्रो ध्यान गएको छ ।’

त्यस्तै, प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले भरतपुर विमानस्थलको विकास र स्तरोन्नति गर्न सकिने बताएका छन् । भरतपुर विमानस्थल भनेको देशकै गौरवको विषय भएकोले सरकारले चाहेमा अप्ठ्यारालाई हल गर्न समस्या नरहेको उनले बताए ।

मुख्यमन्त्री पौडेलले विमानस्थलले हवाईमार्गबाट राजधानी जान–आउन निकै ठूलो भूमिका खेलेको छ ।’ देशकै मध्य भागमा रहेको हुँदा देशका अन्य विमानस्थलको तुलनामा भरतपुर विमानस्थलको मह¤व फरक रहेको उनको भनाइ छ । ‘

प्रदेश मन्त्रालयको उद्देश्य भनेकै १३ वटा जिल्लालाई छिटो र छरितो तरिकाले सम्पर्क गराउने हो’, उनले भने, ‘त्यसका लागि विमानस्थलको विस्तार गर्नु आवश्यक छ ।’

२०४९ सालदेखिको चितवनवासीको चाहना अब पूरा हुने भएको छ । भरतपुर विमानस्थल विस्तार गर्न यहाँका राजनीतिक दलहरु सहमत भएका छन् । विमानस्थलको विस्तार गर्न नजिकै रहेको नेपाली सेनाको ब्यारेक कालीबहादुर गणसमेत हटाउन सबैको सहमति भएको छ । नेपाली सेनाले समेत विकासको बाधक नभई सहयोगी बन्ने जनाएको छ ।

भरतपुर विमानस्थलको विस्तार गर्न बुधबार महानगरमा राखिएको अन्तक्र्रियामा पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले गिरिजाबाबुकै उत्तराधिकारी बनेर भरतपुर विमानस्थल विस्तार गरिने बताए । उनले यही छलफल नै भरतपुर विमानस्थलको विस्तारको अन्तिम छलफल भएको बताए ।

उनले भने, ‘एक हप्ताभित्र भरतपुर विमानस्थल विस्तारका लागि एउटा टोली गठन गरिन्छ, जुन टोलीमा तीन तहका सरकारका प्रतिनिधि र प्राविधिक टोली रहन्छ ।’ उनका अनुसार मन्त्रालयको कार्ययोजनामा नै विमानस्थल विस्तारमा भरतपुरको नाम नै किटान गरिएको छ ।
मन्त्री भट्टराईले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई एक हप्तामा रक्षामन्त्री, रक्षा सचिव, प्रधानसेनापति र पर्यटन मन्त्रालयबीचको छलफल राखेर विमानस्थल विस्तारको सम्पूर्ण निकास खोलिदिन आग्रह गरेका थिए ।

कार्यक्रममा नेपाली सेना मध्य पृतनाका उपरथि, पृतनापति ताराध्वज पाण्डेले नेपाली सेना विकासको बाधक नभएको बताए । उनले भने, ‘नेपाली सेनाको देश विकासमा ठूलो भूमिका छ, देशको विकासमा सेनाले बाधा पु¥याउँदैन, जुनसुकै समस्या फुकाउन हामी तयार छौँ ।’

साँघुरो विमानस्थल :

विमानस्थलवरिपरि बनेका संरचनाकै कारण विमानले पूरै धावनमार्ग प्रयोग गर्न नपाएको विमानस्थलले जनाएको छ । विमानस्थलका अनुसार दक्षिण–पूर्वतर्फ मापदण्डविपरीत केही संरचनाहरु बनेका छन् । विद्युत्को ‘हाइएक्सटेन्सन’ लाइन पनि छ, जसका कारण धावनमार्गको पूरा जमिन प्रयोग गर्न नसकिएको विमानस्थलले जनाएको छ । विमानस्थल प्रमुख पवनकुमार गौतमले एक हजार २०० मिटर लम्बाइ भएको धावनमार्गमा ९०० मिटरभन्दा बढी प्रयोग गर्न नपाएको बताए । विमानस्थलको दक्षिणपूर्वमा प्लटिङमा बनेका संरचनाहरु पनि छन् ।

सेनाले भोगचलन गर्दै आएको घोडा तबेलाको जग्गा र ब्यारेकको जग्गा उपलब्ध भए ७२ सिटे विमान अवतरण गर्न सकिने विमानस्थलका प्रमुख गौतमले बताए । भरतपुर विमानस्थलको रनवे जम्मा १२ सय मिटर छ । एटिआर ७२ सिटे विमान अवतरणका लागि यो जमिन पुग्दैन । विमानस्थलको टर्मिनल टावर पनि पुरानो र आवश्यकताअनुसार साँघुरो भएको उनको भनाइ छ ।

विमानस्थलका प्राविधिक ई. प्रदीप अधिकारीले भने, ‘अहिलेको आवश्यकतालाई हेर्ने हो भने भरतपुर विमानस्थलमा रात्रिकालीन उडानसँगै ७२ सिटे जहाजको आवश्यकता छ’, ‘तर त्यसका लागि ठाउँ नै पुग्दैन ।’ ७२ सिट क्षमताको जहाजका लागि धावनमार्गको लम्बाइ कम्तीमा पनि एक हजार ८०० मिटर चाहिन्छ । यही भनाइलाई आधार मान्ने हो भने अब भरतपुर विमानस्थलको धावनमार्ग थप ६०० मिटर चाहिन्छ ।

भरतपुर महानगरपालिकाले भने हाल बस्दै आएको कालीबहादुर गणलाई स्थानान्तरण गरे विमानस्थल विस्तार गर्न समस्या नरहेको बताएको छ । ‘हाल बसिरहेको ब्यारेकलाई वडा नं १ को ठिमुरा अथवा दियालो बंगला रहेको ठाउँमा व्यवस्थापन गर्ने हो भने विमानस्थलको क्षेत्रफल बढाउन सकिन्छ’, मेयर रेनु दाहालले भनिन्, ‘सेनालाई कहाँ राख्दा ठीक हुन्छ भन्ने विषयमा ठाउँको लागि मोटामोटी अध्ययन भइसकेको छ ।’ ठिमुरामा मात्रै साढे ५८ बिघा सार्वजनिक जग्गा रहेकोले नेपाली सेनालाई ठिमुरामा सार्न सकिने उनको सुझाव थियो ।

सांसद् कृष्णभक्त पोख्रेल, पार्वती रावलले भरतपुर विमानस्थलको विस्तारको कुनै विकल्प नभएको बताए । प्रदेश सांसद् विजय सुवेदी, मिलनबाबु श्रेष्ठ, कृष्णप्रसाद भूर्तेल, गीता वाग्ले, कांग्रेस जिल्ला सविच उत्तम जोशी, उद्योग वाणिज्य संघका अध्यक्ष सहनलाल प्रधान, उद्योग संघका अध्यक्ष भेषराज दुवाडी, पूर्वसांसद् जगन्नाथ पौडेल, पोल्ट्री विज्ञ तिलचन्द्र भट्टराईलगायतले विमानस्थलको विस्तार कार्यक्रममा सुझाव दिएका थिए ।


Spread the love