प्रधानमन्त्री ओलीले घनश्याम र योगेशसँग गरे ३ घन्टा लामो छलफल

Spread the love

See the source image

प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले बरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय नेताहरू घनश्याम भुसाल र योगेश भट्टराईसँग छलफल गरेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार राती तीन घन्टा बढी छलफल भएको थियो।

भेटमा प्रधानमन्त्री ओलीले आफूले पार्टीलाई मिलाएर लैजान चाहेको बताएका थिए। भुसाल र भट्टराईले भने २०७५ जेठ २ गतेको अवस्थामा एमालेलाई फर्काउनु पर्ने प्रस्ताव राखेका थिए। तर ओलीले भने त्यसमा कुनै जवाफ दिएका थिएनन्।

प्रधानमन्त्रीले छलफल गर्नुअघि अर्थमन्त्री बिष्णु पौडेलले पनि भुसाल र भट्टराईसँग छलफल गरेका थिए। पौडेलले बिहीबार नै नेपाल पक्षीय नेताहरू सुरेन्द्र पाण्डे र गोकर्ण बिष्टसँग समेत कुराकानी गरेका थिए।

नेपाल पक्षीय नेतासँग अर्थमन्त्री पौडेलले पार्टी विवाद मिलाउनका लागि कार्यदल बनाउने प्रस्ताव राखेका थिए। तर नेपाल पक्षीय नेताले भने कार्यदललाई स्पष्ट कार्यादेश दिनु पर्ने भनेका थिए। त्यसमा भने पौडेल सहमत हुन नसकेको स्रोतको भनाइ छ।

आफूहरूले जेठ २ मा फर्किनु पर्ने स्पष्ट अडान राखे पनि ओली पक्षीय नेताहरूले बीचको बाटो रोज्नमात्रै प्रस्ताव गरेको नेपाल पक्षीय एक नेताले सेतोपाटीलाई बताए।

पार्टीभित्रको विवाद समाधानकै लागि राष्ट्रपति विद्यादेवी भण्डारीले बरिष्ठ नेता नेपालसँग छलफल गरेकी थिइन्। त्यो छलफलसमेत सकारात्मक नभएको नेपालनिकट स्रोतले सेतोपाटीलाई बतायो।

राष्ट्रपति भण्डारी र बरिष्ठ नेता नेपालबीच राती साढे १० बजेसम्म छलफल भएको थियो।

अर्कोतिर प्रधानमन्त्री ओलीले भुसाल र भट्टराईसँग साढे ११ बजेसम्म वार्ता गरेका थिए।

विवाद समाधानकै लागि बुधबार उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपाल पक्षीय नेता योगेश भट्टराई र गणेश पहाडीसँग छलफल गरेका थिए।

विभिन्न चरणमा दुई पक्षबीच वार्ता र छलफल भए पनि सकारात्मक हुन नसकेको एमाले नेता घनश्याम भुसालले सेतोपाटीलाई बताए।

‘हामीले विभिन्न तरिकाले वार्ता गरेका छौं। तर सहमतितर्फ जान सकेको छैन,’ उनले भने,’हामीले २०७५ जेठ २ को अवस्थामा फर्काउनु पर्ने भन्दै आएका छौं। त्यसमा उहाँहरू तयार हुनुभएको छैन।’


Spread the love