पुडासैनी आत्महत्या प्रकरण : सीआईबीका एसपी नै अनुसन्धानमा, पोस्ट मार्टम र भिडियो ल्याब रिपोर्ट आयो

Spread the love

भरतपुर । पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणसँग जोडिएका प्रमाण संकलनमा प्रहरी लागिरहेको छ । पुडासैनीको पोस्ट मार्टम रिपोर्ट चितवन प्रहरीले प्राप्त गरिसकेको छ भने सिआइबीका एसपी नै अनुसन्धानमा खटिएका छन् ।

‘प्रहरीले पोस्ट मार्टम रिपोर्ट पाइएको छ, तर त्यसभित्र मृत्युको कारण के हो भनी उल्लेख गरे पनि सार्वजनिक गर्न मिल्दैन’, एक प्रहरी अधिकृतले भने, ‘सबै प्रमाणहरु जुटाउँदै छौँ ।’ साउन २२ गते त्रिभुवन टिचिङ अस्पताल काठमाडौँमा शवको पोस्ट मार्टम भएको हो । दस दिन ढिला गरी प्रहरीले रिपोर्ट पाएको छ ।

पोस्ट मार्टम रिपोर्टसँगै मृत्युअघि रेकर्ड गरिएको भिडियो फरेन्सिक ल्याब परीक्षण पनि प्रहरीले पाएको छ । पोस्ट मार्टम र भिडियो ल्याब दुवै रिपोर्ट थप अनुसन्धानका लागि बलियो प्रमाण बनेको प्रहरीको भनाइ छ ।

शालिकराम पुडासैनी मृत्यु घटनाको अनुसन्धानकै लागि भनेर केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का प्रवक्ता एसपी दीपक रेग्मी आफैँ चितवन आएका छन् । एसपी रेग्मीसहित केही अधिकृत गरी कुल ५ जनाको टोली यस घटनाका बारेमा अनुसन्धान गर्न चितवन आएको हो ।

मृत्युसँग जोडिएका विविध पक्षहरुको सिआइबीले सूक्ष्म ढंगले अनुसन्धान गर्ने प्रहरीले जनाएको छ । ‘यस घटनामा चितवन प्रहरीले आफ्नै तरिकाले पनि अनुसन्धान अघि बढाइरहेको छ’, एक प्रहरी अधिकारीले भने, ‘थप सहयोग र अनुसन्धानलाई व्यवस्थित, छिटोछरितो बनाउनका लागि उहाँहरु आउनुभएको हो ।’

किटानी जाहेरी

पुडासैनीकी श्रीमती सम्झनाले आइतबार प्रहरी परिसर टेकुमा किटानी जाहेरी दिएकी हुन् । पुडासैनीको परिवारले परिसरमार्फत जिल्ला प्रहरी कार्यालय चितवनमा उक्त किटानी जाहेरी दिएको प्रहरीले पुष्टि गरेको छ । भिडियोमा नाम उल्लेख भएअनुसार पत्रकार रवि लामिछाने, युवराज कँडेल र नर्स अस्मिता कार्कीविरूद्ध किटानी जाहेरी परेको हो ।

यी तीन आरोपितविरूद्ध गत साउन ३० गते ५ दिनको म्याद चितवन अदालतबाट थप गराई हाल अनुसन्धान गरिरहेको चितवन प्रहरी प्रवक्ता डिएसपी एकनारायण कोइरालाले बताए । उनीहरुमाथि आत्महत्या दुरूत्साहनको मुद्दा लागेको छ ।

प्रशासनमा बैठक

निमित्त प्रमुख जिल्ला अधिकारी जनकराज पन्तको अध्यक्षतामा आइतबार जिल्लामा सर्वदलीय र सर्वपक्षीय बैठक बसेको छ । बैठकले ३ वटा फरक निर्णयहरु गरेको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनका प्रशासकीय अधिकृत रामचन्द्र ढकालका अनुसार पत्रकार पुडासैनीको मृत्यु घटनाको स्वच्छ र निष्पक्ष न्यायसम्पादनका लागि प्रहरी प्रशासनलाई सहयोग गर्न राजनीतिक दलले जनतालाई आग्रह गर्ने, हिरासतमा रहेका तीन अभियुक्तको हकमा स्वच्छ र निष्पक्ष छानबिन गरी न्याय निरुपण कार्यमा सहयोग गर्ने र शान्ति सुरक्षामा खलल पु¥याउने, तोडफोड गर्ने कामलाई निरूत्साहित गर्ने निर्णय भएको हो ।

चौबीसकोठीमा सभा

पत्रकार रवि लामिछाने निर्दोष रहेकाले रिहाइको माग गर्दै उनका समर्थकहरुले आइतबार पुनः भरतपुर चौबीसकोठीमा सभा गरेका छन् । सभामा बोल्दै समर्थकहरुले सुनियोजित ढंगले रविलाई फसाउन खोजेको आरोप लगाएका छन् । शुक्रबार र शनिबार असामान्य बनेको यहाँको स्थिति आइतबार भने केही शान्तपूर्ण रह्यो ।

गम्भीर ध्यानाकर्षण

पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरण र त्यसपछि उत्पन्न परिस्थितिप्रति चितवनमा क्रियाशील मानवअधिकारसम्बन्धी संघसंस्थाहरुले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । आइतबार विज्ञप्ति निकाल्दै उनीहरुले अनुसन्धानमा कुनै पनि किसिमको दबाब नदिई स्वतन्त्र र निष्पक्षरुपमा सहयोग पु¥याउन अपिल गरेका हुन् ।

उक्त घटनाको स्वच्छ, निष्पक्ष र स्वतन्त्र ढङ्गले अनुसन्धान गरी सत्यतथ्य पत्ता लगाई कानुनको परिपालना गर्न सरकारसँग माग गरिएको छ । घटना न्यायिक प्रक्रियामा रहेकाले घटनाको समर्थन या विरोधमा लाग्नुभन्दा कानुनी सर्वोच्चतालाई सम्मान गर्दै संयमित रहन आग्रह गरिएको छ ।

–दिपेन्द्र अधिकारी

चितवन पोष्टAugust 19, 2019


Spread the love