पत्रकार मृत्यु प्रकरण : आत्महत्या दुरूत्साहनको मुद्दा दर्ता, समर्थक र प्रहरीबीच झडप

Spread the love

भरतपुर । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा प्रहरी हिरासतमा रहेका रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीलाई जिल्ला सरकारी वकिलको कार्यालयले चितवन जिल्ला अदालतमा मुद्र्दा दर्ता गरेको छ ।

दुईपटक १० दिनका लागि म्याद थप भएकोमा प्रहरीले सरकारी वकिल कार्यालयमा आइतबार मुद्दाको अध्ययन प्रतिवेदन र रायसहितको मिसिल बुझाएपछि सरकारी वकिलले अभियोजनसहित अदालतमा मुद्दा दर्ता गराएको जिल्ला सहायक न्यायाधिवक्ता प्रकाश थापाले बताए ।

प्रहरी प्रतिवेदन र रायका आधारमा आत्महत्यामा दुरूत्साहनअन्तर्गत नै रही सरकारी वकिलले अदालतमा मुद्दा दर्ता गराएका हुन् । कसुर प्रमाणित भए मुलुकी अपराध संहिताअनुसार पाँच वर्षसम्म कैद र ५० हजार रूपैयाँसम्म जरिवाना हुन सक्ने कानुनी व्यवस्था छ ।
आइतबार आरोपितमध्येका रुकु भनिने अस्मिता कार्कीसँग अदालतले बयान लिएको छ । कार्कीसँगको बयान सकिएको छ । रवि र युवराजसँग आज सोमबार बयान लिइने चितवन अदालतका श्रेस्तेदार रूद्रमणि गिरीले बताए ।

थुनछेक बहस

रवि र युवराजसँगको बयानपछि सरकारी र आरोपित पक्षका वकिलहरुले बहस गर्नेछन् । यस मुद्दा चितवन अदालतका जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासमा परेको छ । बहस सोमबार सकिए तत्कालै र नत्र केही दिन लाग्ने भएमा पुर्पक्षका लागि थुनछेक आदेश पनि धकेलिने भएको छ । थुनछेक आदेशपछि धरौटीमा रिहा हुने वा कारागार चलान भई मुद्दा प्रक्रिया अघि बढ्ने भन्ने निक्र्यौल हुनेछ ।

समर्थकद्वारा प्रदर्शन

रवि लामिछानेका समर्थकहरुले आइतबार भरतपुरमा प्र्रदर्शन गरेका छन् । आइतबार नै रवि रिहा हुने भन्दै विभिन्न स्थानबाट समर्थकहरु फूलमालासहित आएका थिए । साँझ ६ बजेको समयमा प्रदर्शनकारी उत्तेजित भई ढुंगा हान्न थालेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो ।

घटनामा एक प्रहरी घाइते भएको चितवन प्रहरी प्रवक्ता डिएसपी एकनारायण कोइरालाले बताए । दर्जनौँ सेल अश्रुग्यास प्रहार भएको थियो । एक घन्टासम्म प्रहरी र समर्थकबीच ढुंगा र अश्रुग्यास हानाहान भएको थियो ।

साउन २० गते राति नारायणगढस्थित पोखरा बसपार्कको होटल कङ्गारूमा झुन्डिएको अवस्थामा पुडासैनीको शव भेटिएको थियो । पुडासैनी नुवाकोट जिल्ला बेलकोटगढी नगरपालिका वडा नम्बर ३ निवासी हुन् ।

पुडासैनीले आत्महत्या गर्नुपूर्व कैद गरेको भिडियो सार्वजनिक भएको भोलिपल्ट साउन ३० गते बिहीबार साँझ पत्रकार लामिछानेसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको थियो । पुडासैनीले पत्रकार रवि, युवराज र रुकुका कारणले गर्दा आफूले आत्महत्या गर्न बाध्य भएको भिडियोमा बोलेका थिए ।


Spread the love