नेपाल पक्षसँग वार्ता गर्न प्रधानमन्त्री ओलीले बादललाई पनि खटाउने

Spread the love

प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षसँग वार्ता गर्न आफ्ना तर्फबाट गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई खटाउने तयारी गरेका छन्।

शुक्रबार प्रधानमन्त्री कार्यालयमा नेपाल पक्षसँग भएको वार्तामा प्रधानमन्त्री ओलीले बादललाई  लगेका थिए।

बैठकमा उपस्थित नेपाल पक्षीय नेताहरूले बादललाई उपस्थित गराएकोमा असहमति जनाएका थिए। उनीहरूले एमालेको झगडा मिलाउने बैठकमा बादललाई राख्न नहुने तर्क गरेका थिए।

२०७५ जेठ २ को अवस्थामा पार्टीलाई फर्काउने विषयमा वार्ता गर्ने भएकाले त्यस्ता बैठकमा बादललाई राख्नुको औचित्य नहुने नेपाल पक्षको अडान छ।

शनिबार नेपाल पक्षीय केन्द्रीय कमिटी बैठकमा समेत बादल बिनाको बैठक हुनुपर्ने विचार आएको थियो।

२०७७ फागुन २३ गते सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रको एकतालाई खारेज गरिदिएपछि एमाले प्रवेश गरेका बादल प्रधानमन्त्री ओलीका विश्वास पात्र बनेका छन्।

२०७७ फागुन २८ गते प्रधानमन्त्री ओलीले आफूनिकट केन्द्रीय सदस्यहरूको बैठक राखेर एमाले प्रवेश गरेका बादलसहितका पूर्वमाओवादी नेताहरूलाई पार्टीमा समावेश गरेका थिए। त्यसयताका हरेक बैठकमा ओलीले बादललाई सहभागी गराउने गरेका छन्। ओलीले नेपाल समूहलाई भने त्यस्ता बैठकमा सहभागी गराएका छैनन्।

एमालेभित्रको विवाद मिलाउने कार्यदलमा प्रधानमन्त्रीका तर्फबाट बादल रहने उनीनिकट एक नेताले सेतोपाटीलाई बताए।

‘आफ्ना तर्फबाट कसलाई वार्तामा खटाउने भन्ने अधिकार प्रधानमन्त्रीको हो। उहाँले जसलाई राख्न उचित ठान्नहुन्छ, उसलाई राख्नुहुन्छ। यसमा अरूले टिप्पणी गर्नुको कुनै अर्थ छैन,’ ती नेताले भने,’माधवजीको तर्फबाट को वार्तामा आउने भनेर हामीले भनेका छैनौं। त्यसैले उहाँहरूले पनि त्योबारे चासो राख्न मिल्दैन।’

शुक्रबारको बैठकमा बादलबारे कुनै प्रश्न नउठेको समेत ती नेताको दाबी छ।

बाहिर जे प्रचार गरिए पनि बैठकमा बादलको उपस्थितिलाई लिएर केही कुरा नआएको र आउन जरूरी नरहेको उनले बताए। 


Spread the love