नेपालमा रवि पक्रिएपछि प्रेम बानियाँले उठाए यस्ता गम्भीर प्रश्न

Spread the love

शालिकराम पुडासैनीको ‘आत्महत्या’ प्रकरणमा रवि लामिछानेलाई प्रहरीले पक्राउ गरेपछि विदेशमा रहेका अर्का चर्चित पत्रकार प्रेम बानियाँले पनि झड्का महसुस गरेका छन् । उनले केही गम्भीर प्रश्नहरु उठाउँदै रवि लामिछानेलाई ‘अति देवत्वकरण’ र ‘अति राक्षसीकरण’ नगर्न सुझाव दिएका छन् ।

पत्रकार प्रेम बानियाँले आफ्नो फेसबुक वालमा रवि लामिछानेलाई ट्याग गर्दै लेखेका छन् :

‘रविजी प्रकरणमा प्रचलित कानुनको सम्मान गर्दै ।

नम्बर १, आत्महत्या गरेको मान्छेको पकेटभित्रको मोबाइलमा रहेको भिडियो ‘इडिटेड भर्सन’मा सार्वजनिक गर्ने कुन प्रहरी अधिकारी हो ? उसलाई कारबाही हुनुपर्छ कि पर्दैन ? यो त अनुसन्धानको विषय थियो र प्रहरी अधिकारीबाहेक अरु कसैले यो सार्वजनिक गर्नै सक्दैन र मिल्दैन ! यदि अपराध पुष्टि भयो भने मात्रै प्रहरीले यसलाई सार्वजनिक गर्न पाउने अन्तर्राष्ट्रिय प्रचलन किन भुलियो ? कुल २३ मिनेटको भनिएको भिडियोमा खोई बाँकी भिडियो ? अरु पनि त आरोपित हुन सक्छन् ।

नम्बर २, भोलि, कोही कसैले कथम्कदाचित, प्रधानमन्त्री ओली, प्रचण्ड वा देउवाका नाममा तिम्रा कारण मैले आत्महत्या गरेको हुँ भनेर पासो लगायो भने उहाँहरु जेल जानुपर्छ कि पर्दैन ?

नम्बर ३, जनहितसम्बन्धी कार्यक्रम प्रसारणको अन्तिम तयारीमा रहेका बेला एउटा पत्रकारलाई कार्यक्रम नै प्रस्तुत गर्न नदिई न्यूजरूमबाट केवल डेढ घण्टा अगाडि टेलिभिजन स्टेशनमै गएर पक्राउ गर्दा के त्यो न्यायिक हुन्छ ? जबकि उसले सार्वजनिकरुपमा भनिसकेको छ, ‘यदि म दोषी ठहरिए कानुनबमोजिम कारवाही भोग्न तयार छु ।’ भोलि फेरि कसैलाई यस्तै पर्यो भने ???

नम्बर ४, नेपाली पत्रकारितामा यो ‘ग्याङ्फाइट’को इतिहासले नेपाली समाजलाई अति तल गिराएको छ । यसमा हावी अतिवाद रविजी विरोधी र समर्थकले समाजको रंग कुरुप देखिएको छ । अब एउटा बिन्दुमा हामी सबै मिलौं । पत्रकारिता अब सूत्रभन्दा माथि आयो कृपया, सबैले बुझौं ।

यी चार सवालहरुका साथ हामी संसारभरबाट बोल्न तयार छौं । के यी प्रश्नहरु गलत छन् ? अब दुनियाँ साँघुरो भइसक्यो । हामी न्यायका निम्ति जहाँसुकैबाट बोल्न तयार छौं ।

कृपया रविजीलाई ‘अतिदेवत्वकरण र अति राक्षसीकरण नगरौं’ संयमतापूर्वक सम्मानित अदालतको निर्णयको प्रतीक्षा गरौं ।’


Spread the love