ठुम्का पावर

Spread the love

कुनै समय थियो, शाही महलहरूमा नृत्यांगनाका ठुम्काका किस्सा खुबै सुन्न पाइन्थे । बाँकी समाजका लागि भने ती सबै रोचक र तिलस्मी किस्सा थिए । उपन्यास, कथा तथा परीकथाहरूमा नृत्यांगनाहरूको सौन्दर्य, ठुम्का र चालढालको रंगीन चर्चा हुन्थ्यो । अहिले समयमा ठूलो परिवर्तन आइसकेको छ । नृत्य बन्द कोठाभित्र मात्र सीमित छैन, असिमित दर्शकमाझ फैलिएको छ । नयाँ पुस्ताका युवा–युवतीहरू नृत्यमै गतिलो करिअर बनाइरहेका छन् । 

करिअर त एउटा पक्ष मात्र हो, अहिले ठुम्काको पावरमा ‘नेमफेम’ छ । बुटवलकी तेरिया फौजा मगर नृत्य कौशलकै कारण डिआईडी लिटिल मास्टर–२०१४ र झलक दिखला जा सिजन नौं को विजेता भएर लाखौं रुपैयाँ जित्न सफल भइन् । पुरस्कार त एकातिर छँदैछ, त्यो उत्कृष्ट प्रदर्शनपछि उनको जीवनमै कायकल्प भएको छ । अहिले उनी मुम्बईमा अध्ययन गर्दैछिन् । हालसालै कक्षा १० को बोर्ड परीक्षा दिएकी तेरिया अहिले नृत्यमार्फत शरीर मेन्टेन गर्ने उपाय सिकिरहेकी छिन । ‘परीक्षापछि अलि फुर्सदिलो छु’, उनले साप्ताहिकसँगको भलाकुसारीमा भनिन्, ‘नृत्यले नै मलाई नाम र दाम दियो ।’ डिआईडी र झलक दिखलाजा जस्ता उच्चस्तरका रियालिटी शोको सहभागिताले आफ्नो नृत्य करियरलाई उचाइ प्रदान गरेको उनको भनाई छ । तेरियाका लागि नृत्य शारीरिक एक्सप्रेसनबाट मनोरन्जन प्रदान गर्ने एउटा सशक्त माध्यम हो । 

तेरिया मात्र होइनन्, बर्दियाकी अञ्जली अधिकारीलाई नै हेरौं न । सानैदेखि नृत्यकी सौखिन अञ्जली ०७३ मा परिवारको स्वीकृति विपरीत काठमाडौं प्रवेश गरेकी हुन् । त्यसपछि मात्र सुरु हुन्छ उनको नृत्यमा करिअर बनाउने यात्रा । ३ वर्ष नबित्दै २२ वर्षीया यी नृत्यांगना सफलताको त्यो टाकुरामा छिन्, जसलाई झट्ट पत्याइहाल्न गाह्रो पर्छ । यो छोटै अवधिमा उनले ४ सयभन्दा बढी गीतमा नृत्य कौशल प्रस्तुत गरिसकेकी छिन् । त्यसबाहेक, स्टेज सो र अन्य कार्यक्रमहरूमा उनको प्रस्तुतिको बेग्लै सूची छ । अधिकारी औसत मासिक १० वटा गीतको भिडियोमा अभिनय गर्छिन् । यस आधारमा वर्षमा उनले काम गर्ने गीतको सूची १ सय २० हुन्छ । अहिले उनको प्रतिगीत बजार भाउ ५० हजार रुपैयाँ हो, जसको औसत हिसाब गर्दा उनले गीतको भिडियोमा अभिनय गरेर वार्षिक ६० लाख आम्दानी गर्छिन् । त्यसबाहेक स्टेज शो, महोत्सव तथा विदेशमा हुने सांगीतिक कार्यक्रमको आम्दानी बेग्लै छ । अञ्जली देशभित्रका मेला महोत्सवका स्टेज सोमा ५० हजारभन्दा बढी पारिश्रमिक लिन्छिन् । 

अन्जली एसएलसी सकिने बित्तिकै भागेर काठमाडौं आएकी थिइन् । ‘बर्दिया महोत्सवका बेला नृत्यमा करियर बनाउने रुचि बद्री दाइलाई सुनाएकी थिएँ,’ उनले साप्ताहिकसँग भनिन्, ‘उहाँले सहयोग गर्ने आश्वासन दिनुभएको थियो, त्यही आश्वासनकै डोरी पछ्याउँदै काठमाडौं आएकी थिएँ ।’ अहिले सेलिब्रेटी जीवन बिताइरहेकी अन्जलीका सुरुवाती दिनहरू सहज भने थिएनन् । उनलाई काठमाडौं आएपछि सुरुमा बद्री पंगेनीले आफ्नै निरमाया दोहोरी साँझमा काम मिलाइदिए । उनी त्यहाँ मासिक १५ हजार तलब पाउँथिन । ‘म पाँच सय रुपैयाँ बोकेर काठमाडौं आएकी थिएँ, बद्री दाइले मेरो प्रतिभा चिनेर बाटो देखाइदिनुभयो,’ उनले भनिन् । दोहोरी साँझमा कार्यरत अञ्जलीलाई केही समयपछि बद्रीले ‘खरबारीमा’ गीतको भिडियोमा अभिनय गर्ने अवसर दिए । अञ्जली पहिलो म्युजिक भिडियोबाटै दर्शकको नोटिसमा मात्र परिनन्, त्यो उनको जीवनकै टर्निङ प्वाइन्ट सावित भयो । त्यसपछि उनी दोहोरी साँझसँगै म्युजिक भिडियोमा समेत काम गर्न थालिन् । ‘खरबारीमा’ गीतको भिडियोमा अभिनय गर्दा ५ हजार रुपैयाँ पारिश्रमिक पाएकी अञ्जली अहिले प्रतिगीत ५० हजार पारिश्रमिक लिन्छिन् । एक वर्षअघि आएको प्रकाश सपुतको ‘बोल माया’ गीतमा अन्जलीको अभिनयपछि त उनी अहिलेको बजारमा हटकेक नै भएकी छिन् । चलचित्रमा आइटम डान्स पनि गर्ने अन्जली ‘गलबन्दी’ पछि चर्चाकै शिखरमा छिन् । जापान, युरोप, बेल्जियम, कोरियाजस्ता देशमा भएका सांगीतिक कार्यक्रममा प्रस्तुति दिइसकेकी अन्जलीले चलचित्र प्रसादमा समावेश ‘बनकी चरी’ गीतमा आइटम डान्स गरेकी छिन् । म्युजिक भिडियो तथा देश–विदेशका स्टेज कार्यक्रमहरूको बढ्दो अफरजस्ता कारणले व्यस्त नृत्यांगना अन्जली भन्छिन्, ‘म आफ्नो पेसाप्रति सन्तुष्ट छु ।’ 

म्युजिक भिडियो क्वीन एलिशा राईको सेलिब्रेटी स्टाटस पनि ठुम्काकै जगमा खडा भएको हो । आकर्षक लुक्सकी धनी एलिशा अहिले म्युजिक भिडियोमा सर्वाधिक खोजिने नृत्यांगना हुन् । खोटाङमा जन्मिएर काठमाडौंमा हुर्किएकी राईको नृत्यांगना बन्ने चाहना सानैदेखिको हो । ‘उमेरले ६–७ वर्षकी थिएँ होला, त्यतिबेलादेखि नै स्टेज कार्यक्रमहरूमा नृत्य प्रस्तुत गर्थें,’ राई भन्छिन्– ‘सानै उमेरदेखि संघ–संस्थाहरूका लागि डोनेसन उठाउने कार्यक्रममा नृत्य गर्थें ।’ आकर्षक ठुम्का प्रदर्शन गर्ने राईको नृत्यले त्यतिबेलै सबैको ध्यान तान्थ्यो । उनको ठुम्काको प्रशंसा नगर्ने कमै थिए । त्यही प्रशंसाले पुलकित बनाएर नृत्यलाई करियरका रूपमा अघि बढाउन प्रेरित गरेको एलिशा बताउँछिन् ।

अभिनय र नृत्यमा रुचि भएकी राईले करिब पाँच वर्षपहिले ‘डेट इन युएन पार्क’ सर्ट मुभीमा अभिनय गरिन् । उक्त सर्ट मुभीपछि राई दर्शकको नजरमा चढिन् । अभिनय पनि राम्रो र आकर्षक लुक भएकी राईलाई विस्तारै म्युजिक भिडियोको अफर आउन थाल्यो । यही क्रममा उनले नितिन चन्दको एउटा गीतको भिडियोमा (चार वर्षअघि) अभिनय गर्ने मौका पाइन् । त्यो नै उनको पहिलो म्युजिक भिडियो थियो ।  विस्तारै एलिशाद्वारा अभिनय गरिएका भिडियोहरू हिट हुन थाले । म्युजिक भिडियोमात्र होइन, एलिशा नेपाली चलचित्रका गीतमा आइटम डान्स गर्न पनि खोजिने मोडल हुन् । दुई वर्ष अघि प्रदर्शनमा आएको चलचित्र लुट–२ को ठमेल बजार गीतको आइटम डान्सले उनलाई शिखरमा पुर्‍याएको थियो । 

नृत्यमार्फत नाम र दाम कमाउने युवतीहरू मात्र छैनन् । राम्रो नृत्य कौशल भएका युवाका लागि नृत्य अवसरको खानी हो । कार्टुन्ज क्रिउका सरोज अधिकारी हुन् वा भारतीय डान्स टेलिभिजन रियालिटी सो डान्स प्लस–४ का फस्ट रनर्सअप सुजन मार्पा तामाङ नै त्यसको ज्वलन्त उदाहरण हुन् । महोत्तरीका २४ वर्षीय सरोज स्कुल पढ्दादेखि नै नृत्यमा रुचि राख्थे, विद्यालयका विभिन्न कार्यक्रममा उनी नृत्य नै गरिरहेको हुन्थे । शिक्षक एवं साथीहरूबाट उनको नृत्यले वाहिवाही पाउँथ्यो । त्यस क्रममा सरोज कुशल डान्सर बन्ने लक्ष्य लिएर अघि बढे । कक्षा ९ मा अध्ययन गर्दा ‘कलशमा जल बोल’ गीतमा कोरस नाचे । त्यसवापत उनले २ सय रुपैयाँ पारिश्रमिक पाएका थिए । त्यति बेला कोरसमा निकै कम पारिश्रमिक थियो । ‘त्यतिबेला २ सय पाउन पनि निकै गाह्रो थियो,’ सरोज भन्छन्, ‘दुई सय रुपैयाँ लिन उल्टै सय रुपैयाँ खर्च हुन्थ्यो, त्यसपछि दिक्क लागेर छाडें ।’ 

कोरसको नशा उत्रिए पनि सरोजको मनबाट नृत्यको नशा भने उत्रिएको थिएन् । उनी आफ्नै घरमा डान्स सिक्न थाले । ठ्याक्कै त्यही समयमा माइकल ज्याक्सनको निधन भयो । त्यो खबरले मिडियाहरूमा सनसनी मच्चायो । माइकल ज्याक्सनका सम्बन्धमा पढेपछि सरोजले उनका सिडी किनेर उनको डान्स हेर्न थाले । नृत्यलाई करिअर बनाउने उनको चाहनामा आर्थिक संकट सबैभन्दा ठूलो बाधा थियो । त्यही बाधा पन्छाउन सरोज रेस्टुराँमा वेटर बन्न पुगे । रेस्टुराँमा विभिन्न व्यक्तिहरूसँग उनको सम्पर्क हुन थाल्यो, त्यही क्रममा उनले नेपाल हिपअप डान्स फाउण्डेसन (एनएचएफ)मा छात्रवृत्तिमा डान्स सिक्ने अवसर पाए । त्यही नृत्यशालामा एउटा टिम बन्यो—कार्टुन्ज क्रिउ । सरोज र उनका साथीहरूले सन् २०१० मा स्थापना गरेको कार्टुन्ज क्रिउ अहिले नृत्य बजारको सबैभन्दा हटकेट टिम हो । सरोज सम्झन्छन्,‘न्याथम कलेजमा हामीले पहिलो डान्स प्रस्तुति दिएका थियौं, एक हजार पारिश्रमिक थियो, त्यो पारिश्रमिक त मःम खाएरै सकियो ।’ विभिन्न बाधाहरू छल्दै कार्टुन्ज क्रिउ अघि बढिरह्यो । अहिले कार्टुन्ज क्रिउमा ६ जनाको समूह छ । कार्टुन्ज क्रिउको आफ्नै युट्युब च्यानल तथा स्टुडियो छ जसमा उनीहरूले अफिसियल तथा कभर भिडियोहरू अपलोड गर्छन् । अहिले कार्टुन्ज क्रिउले एउटा भिडियो बनाएबापत २ लाख ५० हजारदेखि ३ लाखसम्म लिने अधिकारी बताउँछन् । उनीहरूलाई स्टेज कार्यक्रमका लागि पनि उत्तिकै निमन्त्रणा आउँछ । स्टेज कार्यक्रममा नृत्य प्रदर्शन गरेबापत उनीहरू १ लाख ५० हजार रुपैयाँ पारिश्रमिक लिन्छन् । उक्त रकम समूहका सदस्यहरूबीच बाँडिन्छ । सरोज भन्छन्, ‘मासिक औसत ५० हजारभन्दा बढी कमाउछु ।’ 

डिआइडीको सेमीफाइनल र डान्स प्लस–४ मा प्रथम रनरअप भएका सुजन मार्पा तामाङ स्टार नर्तक हुन् । उनी भारत र नेपालका विभिन्न स्थानमा डान्स सिकाउने काम व्यस्त छन् । सिन्धुलीमा जन्मिएर काठमाडौंमा हुर्किएका १८ वर्षीय सुजन तेक्वान्दो तथा नृत्यका सौखिन हुन् । सुजन सानैदेखि जिमन्यास्टिक तथा बिबोइङ गर्थे । ‘नृत्य कक्षा लिएको हुनाले नृत्य धेरै सजिलो लाग्न थाल्यो,’ तामाङ भन्छन् ।’ 

कक्षा १२ सम्मको अध्ययन पुरा गरेका सुजनका लागि एक वर्षअघि भारतीय रियालिटी टिभी सो डान्स इन्डिया डान्स (डिआइडी)को सेमिफाइनलसम्म पुग्नु करिअरकै टर्निङ प्वाइन्ट सावित भयो । त्यसको केही समयपछि नै उनले भारतीय डान्स टेलिभिजन रियालिटी सो डान्स प्लस–४ को प्रथम रनर्सअप भएपछि थप चर्चा कमाए । डिआईडीबाट फर्किएपछि नै म्युजिक भिडियो तथा स्टेज कार्यक्रमहरूबाट उनको माग चुलियो । डिआईडीबाट फर्किएपछि भूपू पाण्डेको ‘छाता सङ’मा अभिनय गरे । उक्त गीतले युट्युबमा २७ लाखभन्दा बढी भ्युज पाएको छ । उक्त गीतको भिडियोमा अभिनय गर्दा ६० हजार पारिश्रमिक लिएको सुजन बताउँछन् । उद्यपि अहिले आफ्नो पारिश्रमिक त्यसको दोब्बर भएको उनको दाबी छ । जब उनी डान्स प्लस–४ मा प्रथम रनर्सअपका रूपमा फर्किए त्यसपछि म्युजिक भिडियो होस् वा स्टेज सो सबैबाट १ लाख २० हजार पारिश्रमिक लिने गरेको सुजन बताउँछन् । सुजन भन्छन्, ‘अहिले महिनामा तीन चारवटा शो गरिरहेको छु । त्यसैले महिनामा ४ लाखको हाराहारीमा कमाइरहेको छु ।’

सेक्सी जिउडाल, नृत्यमा देखाउने आकर्षक ठुम्का अनि सुन्दर अनुहारका कारण आश्मा विश्वकर्मा अभिनेत्री जस्तै देखिन्छिन् तर, आश्मा अभिनेत्री होइनन्, उनी अहिलेकी चर्चित नृत्यांगना हुन्, कार्टुन्ज क्रिउकी एक प्रभावशाली सदस्य । नृत्यांगना भएपनि आश्माको छवि कुनै अभिनेत्रीको भन्दा कम छैन । युट्युब तथा सामाजिक सन्जालमा उनका हजारौं फ्यान छन्, भिडियोमा उनी उतिकै खोजिन्छिन् । त्यसका पछाडि उनले देखाउने ‘ठूम्का जादू’ नै प्रमुख कारण हो । धरानकी २३ वर्षीया आश्मा कार्टुन्ज क्रिउको टिमसँगै सुरुमा एनएचएफमा बिगर्ल डान्स सिक्दै थिइन् । बिगर्ल सिक्ने एक्ली युवती आश्माको त्यहीँ कार्टुन्ज क्रिउका सरोज अधिकारीसँग भेट भयो । सरोजले उनलाई कार्टुन्ज क्रिउका लागि प्रस्ताव गरे । आश्मालाई सरोजको टिमको नृत्यले लोभ्याएको थियो, त्यसैले उनले नाइनास्ति गरिनन् । त्यहीँबाट उनी कार्टुन क्रिउकी एक्ली महिला सदस्य भइन् । जादुयी नृत्य गर्न सक्ने आश्मा क्रमशः दर्शकहरूको मनमा राज गर्न थालिन् । अहिले भिडियो तथा स्टेज कार्यक्रमहरूमा उनको नृत्यले खुबै तारिफ बटुल्न गरेको छ । कार्टुन्ज क्रिउको टिमसँग काम गरेको हुनाले स्टेज प्रोगाम होस् वा म्युजिक भिडियोमा अभिनय गरेको पारिश्रमिक टिममै आउँछ । आश्मा भन्छिन्,‘सुरुसुरुमा त खासै कमाई हुँदैनथ्यो, तर अहिले राम्रो कमाइ छ, म आफ्नो कमाइबाट खुसी छु ।’

बिनु शाक्यको बेली डान्सको क्रेज उस्तै छ । अहिले बिनुलाई स्टेज कार्यक्रम तथा म्युजिक भिडियोमा काम गर्न भ्याइनभ्याई छ । सिन्धुपाल्चोकमा जन्मिएर उत्तै हुर्किएकी बिनु भन्छिन्, ‘सानैदेखि नृत्यमा करियर बनाउने सपना थियो, ६ वर्षको उमेरदेखि नै नृत्य गर्थें ।’ बाल्यकालदेखि नै नृत्यांगना बन्ने उनको चाहना बयस्क हुँदा उमेरसँगै बढ्दै गयो । करिब ८ वर्ष पहिले ‘सकिन जुन छुन…’ गीतको भिडियोमा अभिनय गरेर म्युजिक भिडियोमा डेब्यु गरेकी बिनु उक्त भिडियोबाट भने खासै नोटिस हुन सकिनन्, तर त्यसबाट आफ्ना गल्ती कमजोरीलाई औल्याउने प्रशस्त मौका पाएको उनी बताउँछिन् । 

सुरुमा बिना पारिश्रमिक ६ वटा म्युजिक भिडियोमा अभिनय गरेकी बिनु अहिले एउटा भिडियोबाट २५ हजारभन्दा बढी पारिश्रमिक लिन्छिन् । दुई दर्जनभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेकी बिनुले छैटौं भिडियोमा अभिनय गर्दा ५ हजार पारिश्रमिक लिएकी थिइन्, त्यो पनि डेढ वर्ष पहिले । म्युजिक भिडियोका अतिरिक्त उनी स्टेज कार्यक्रममा पनि उत्तिकै जमेकी छिन् । बिनु एउटा स्टेज कार्यक्रममा नृत्य प्रदर्शन गरेबापत २० हजारदेखि ४५ हजारसम्म पारिश्रमिक लिन्छिन् ।

‘सेल्फी सेल्फी…’ हरेकजसो तीजमा घन्किने गीत हो । ४ वर्षअघि सार्वजनिक भएको उक्त गीतसँगै नृत्यांगना करिष्मा ढकालको माग आकासिएको हो । उक्त गीतमा बसन्त थापा र लक्ष्मी मल्लको स्वर सुन्न सकिन्छ । लक्ष्मी मल्ल करिश्माकी सानीमा हुन् । सानैदेखि नृत्यमा सिपालु करिश्मा एसएलसी दिएर बसेकाले मल्लले उनलाई म्युजिक भिडियोमा अभिनय गर्ने अफर दिइन् ।  पहिलो गीतबाटै करिष्माको दाउ लाग्यो र उनी दर्शकको नजरमा परिन् । त्यसपछि उनलाई म्युजिक भिडियोबाट अफरको ओइरो लाग्न थाल्यो । त्यस लगत्तै उनले बसन्त थापाको ‘बागलुङ बजारमा’ गीतमा अभिनय गरिन् । उक्त गीतको भिडियोमा अभिनय गर्दा ५ हजार पारिश्रमिक लिएको करिश्मा बताउँछिन् । गोरखाकी २० वर्षीया करिश्मा ४ वर्षको छोटो अवधिमा १ हजारभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेको दाबी गर्छिन् । अहिले उनी एउटा भिडियोमा अभिनय गरेबापत २५ हजारभन्दा बढी पारिश्रमिक लिन्छिन् । मासिक २० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गर्ने करिश्मा बताउँछिन् । एक अनुमान अनुसार करिश्माले मासिक औसत ५ लाख रुपैयाँ ठुम्काबाटै कमाउँछिन् । यही अनुपातमा हेर्ने हो भने उनले वार्षिक रूपमा अभिनय गर्ने भिडियोको संख्या २ सय ४० वटा हुन्छ । जसको औसत हिसाब गर्दा उनले गीतको भिडियोमा अभिनय गरेर मात्र वार्षिक ६० लाख आम्दानी गर्छिन् । त्यसका अतिरिक्त उनी देश–विदेशका स्टेज कार्यक्रममा पनि उत्तिकै व्यस्त हुन्छिन् । नृत्यबाटै नाम र दाम कमाउन सफल भएकोमा दंग भन्छिन्, ‘नृत्यले मलाई सबै चीज दिएको छ ।’

भिमफेदीका निर्मल लामा गाउँघरका मेला महोत्सव हुन् वा विद्यालयका विभिन्न कार्यक्रम कम्मर हल्लाइरहेका हुन्थे । सन् २००४ मा स्टुडेन्ड भिसामा कोरिया पुगेका लामाले २ वर्ष अध्ययनपछि त्यही काम गर्न थाले । राम्रो पैसा कमाउँथे । यद्यपि उनमा भएको डान्सर बन्ने भोकलाई कोरियाको आकर्षक कमाइले मार्न सकेन् । सन् २००९ मा नेपाल फर्किएर उनी कोरियन भाषा पढाउन थाले, जसबाट उनले राम्रै पैसा कमाइरहेका थिए तर त्यतिमै रमाइरहेको थिएन । एउटा डान्स ग्रुप बनाउने इच्छा जाग्यो । त्यही इच्छाका बलमा सन् २०१० मा भिमफेदी गाइज जन्मियो । टोल– छिमेकका भाइहरूसँग मिलेर भीमफेदी गाइज गठन गरिएको लामाको भनाइ छ । भीमफेदी गाइज सुरुमा विभिन्न गीतको कभर भिडियो बनाउँथ्यो । ‘कोरियन भाषा सिकाएर पाएको पारिश्रमिकले कभर भिडियो बनाउँथ्यौं,’ साप्ताहिकसँगको कुराकानीमा लामा भन्छन् । अहिले भीमफेदी गाइजले ४० वटाभन्दा बढी अफिसियल भिडियो तयार गरिसकेको छ । 

भीमफेदी गाइज स्थापनाताका यसमा १२ जना सदस्य थिए यद्यपि अहिले ६ जना युवाको समूह छ । यो ग्रुपले करिब ५ वर्ष पहिले दिल तामाङको ‘आजकालको ठिटी’ गीतको भिडियो बनाएको थियो । उक्त भिडियो बनाउँदा ग्रुपले १ लाख ५० हजार रुपैयाँ प्रोडक्सन खर्च लिएको लामा बताउँछन् । निर्मल भन्छन्,‘उक्त गीतबाट हामी चर्चामा त आएनौं, तर हामीले आफ्ना कमजोरी पत्ता लगाउने राम्रो मौका पायौं ।’ यत्तिकैमा यो ग्रुपले दुई वर्ष अघि गायक प्रमोद खरेलको चल बतास गीतको भिडियोमा अभिनय गर्‍यो । उक्त गीत सर्वाधिक हिट भयो भने दर्शकहरूमाझ भीमफेदी गाइज परिचित समेत भयो । उक्त गीतको भिडियोमा अभिनय गरे बापत २० हजार पारिश्रमिक लिएको लामाले बताए । अहिले आफ्नो डान्स ग्रुपको उल्लेख्य माग हुन थालेको निर्मल बताउँछन् । 

भीमफेदी गाइज् टिमले अहिले एउटा म्युजिक भिडियो बनाएबापत २ लाख ५० हजारदेखि ३ लाखसम्म प्रोडक्सन खर्च लिन्छ । निर्मल भन्छन्, ‘निर्माणको जिम्मा नलिई पारिश्रमिकमा मात्र काम गर्नुपर्‍यो भने ७० देखि ८० हजार पारिश्रमिक लिन्छौं ।’ भीमफेदी गाइज टिमले मासिक दुई देखि तीनवटा म्युजिक भिडियोमा अभिनय गर्ने गरेको छ । त्यसैले यो ग्रुपमा रहेका एक जना सदस्यले मासिक ५० देखि ६० हजार आम्दानी गर्ने टिम लिडर लामाले बताए । 

भारतीय डान्स टेलिभिजन रियालिटी सो डान्स प्लस– २ को फाइनालिस्ट भएसँगै सुशान्त खत्री पनि चर्चामा छन् । त्यसअघि उनी इन्डिया डान्सिङ सुपरस्टारको टपटेनमा पुग्नुका साथै फिल डान्स कम्पिटिसनमा प्रथम भएका थिए । डान्स प्लस–२ को टप ५ सम्म पुगेका खत्री यतिबेला म्युजिक भिडियो तथा देश–विदेशका स्टेज सोहरूमा व्यस्त छन् । 

– महेश तिमल्सिना saptahik

असार ५, २०७६


Spread the love