झिलिमिली झिलिमिली, ए है के को झिलिमिली ?
जतिबेला नेपालीले संस्कृत भाषासँग शब्दको सापटी लिएको थियो, त्यतिबेलादेखि नै संस्कृतले नेपालीलाई धेरै आलंकारिक शब्दहरु पनि उपहार दिएको छ । त्यसैले नेपाली भाषामा पनि संस्कृतका जस्तै आलंकारिक शब्द एवं उपमाहरुको प्रयोग गर्ने परिपाटी छ ।
हामीलाई चन्द्रमुखी र सूर्यमुखी जस्ता शब्दहरु संस्कृतले नै सिकायो । केवल नेपालीलाई मात्रै होइन, संस्कृत साहित्यले कखरा सिकाएका भारोपेली भाषा परिवारका अधिकांश भाषाहरु यस्तै आलंकारिक शब्द एवं वाक्यमा रमाउने गरेका छन् ।
यो अलंकार भाषामा मात्रै सीमित भएन । बिस्तारै बिस्तारै शब्दमा पनि यसको प्रयोग गर्न थालियो । सुन्दर महिलालाई जनाउनको लागि ‘चन्द्रमा जस्ती’ भन्नको लागि हामीलाई संस्कृतले नै सिकायो । यही संस्कृतले सिकाएको शब्द हो हामीहरुको दोस्रो ठूलो पर्व दीपावली । वास्तवमा हामीले दीपावली भनेर चिन्ने पर्व केवल लक्ष्मी पूजा मात्रै हो । यम पञ्चकको पाँचै दिनलाई जनाउने नेपाली शब्द हो तिहार । तर, उज्यालोको पर्वको रुपमा चिनाउनको लागि भने तिहारभन्दा पनि दीपावली नै उपयुक्त शब्द हो ।
सरस्वतीले हामीलाई ज्ञान दिईन् । साधु सन्तले हामीलाई पवित्रता सिकाए, योगीले हामीलाई एकाग्रता सिकाए । यिनै व्यवहारिक ज्ञानले तेज स्वरुप भएको हाम्रो सत्वोगुणलाई मन्थन गरेर बाहिर निकाल्ने पर्व हो दीपावली । दीपक जस्तै जाजल्यमान रहेको हामीभित्रको ज्ञानको ज्योतिलाई प्रज्वलित गराउने पर्व भएकोले यो पर्वसँग बत्तीकोबीच नजिकको सम्बन्ध पाइन्छ ।
तिहारसँग बत्तीको सम्बन्ध
तिहार पर्वसँग जोडिएको बत्तीको सम्बन्धलाई पनि यस्तै आलंकारिकताले स्पष्ट पार्ने गर्दछ । तिहारमा कहिलेदेखि यस्तो झिलिमिली गराउन थालिएको हो ? भन्ने इतिहास खोज्न त्यति सहज छैन । तर, तिहार र बत्तीसँगको सम्बन्धको नतीजा खोज्दा यसको दार्शनिक पक्षसम्म पुग्नै पर्ने हुन्छ ।
व्यवहारलाई अभ्यस्त गराउनको लागि तिहारको विषयमा पनि धेरै पौराणिक कहानीहरु तयार नपारिएका होइनन् । तर, जे जस्ता किंवदन्तीहरु तयार पारिएको भएपनि त्यो कथाभित्र समेत दार्शनिक पक्ष समेटिएको छ । कसैले यसलाई दानवी प्रवृत्तिलाई पातालमा धसाएर दैवी शक्तिलाई सत्तामा ल्याएको आधारमा सबैले गाउँघरलाई झकिझकाउ गरेको एक पक्षको विश्वास छ । यहाँ दानवी शक्ति भनेको हामीभित्र नै रहेको असत् तत्व हो भने दैवी शक्तिले हाम्रै सत् गुणलाई जनाउने गर्दछ । यसको सांकेतिक अर्थ पनि हाम्रो मनमा रहेको तमसलाई निकालेर ज्योतिको दियो बाल्नुपर्छ भन्ने हुन्छ ।
त्यसैले, ‘तमसो माऽज्योतिर्गमय’ नै तिहारलाई सुहाउँदो विशेष किसिमको उक्ति हो । अर्थात्, अन्धकारबाट ज्योतितर्फ फर्किने पर्व नै तिहार हो । त्यसैले यो पर्वमा सबैतिर उज्यालो मात्रै छर्ने गरिन्छ ।
यो पर्वको १५ दिन अघिदेखि नै हामीहरु घर घरमा उज्यालो छर्ने तयारीमा जुटिसकेका हुन्छौं । हाम्रो संस्कृति अनुसार दशैंको अन्तिम दिन अर्थात् कोजाग्रत पूणिर्माको दिनदेखि नै घरघरमा आकाशदीप बाल्ने परम्परा छ । यहीँदेखि सुरु हुन्छ तमसबाट ज्योति तर्फको गमन ।
तिहारमा के बाल्ने र कहाँ कहाँ बाल्ने ?
अहिले तिहारको दिनमा बिजुली बत्ती बालेर तिहार मान्ने गरेको पाइएको छ । तर, यो हाम्रो प्राचीन परम्परा होइन । संस्कृतिविद् डा.जगमान गुरुङ पहिलेदेखि नै बिमिरोको पातमा बत्ती बाल्ने चलन रहेको बताउँछन् । पछि गाउँघरमा तामाको दियोमा कपासको बत्ती बालेर तिहार मनाउने गरियो । तामा वा माटोको पालामाभन्दा पनि बिमिरोको खोचीमा बालेर एउटा बत्तीलाई गौरेटो (गाग्री राख्ने ठाउँमा) राखिन्छ । अर्काे दुईवटा बत्ती संघारमा बालिन्छ । एउटा ढिकीमा, एउटा जाँतोमा र एउटा दोबाटोमा बाल्ने गरिन्छ ।
पहिले पहिले बिमिरोको खोचीमा बत्ती बाल्नेहरुहरुको पनि महत्व छुट्टै छ । त्यो खोचीमा तिलको तेलले बत्ती बाल्ने चलन थियो । बिमिरोको खोची जहाँ भन्यो त्यहीँ नअट्ने भएकोले त्यसलाई पाएसम्म गाईको गोबर, नपाए गोरुको र त्यो पनि नभएमा माटोमाथि राखेर बाल्ने गरिन्छ ।
निघण्टु शास्त्रमा द्रव्य गुण भन्ने हुन्छ । त्यहाँ बिमिरोको खोचीमा चौरीको घिउले बालेको बत्ती राख्दा आँखाको ज्योति बढ्छ भन्ने मान्यता छ । डा. गुरुङका अनुसार आँखाको तेजलाई राम्रो गराउने र त्यसमा भाइरस हटाउने एन्टिबायोटिक पाइने भएकोले पनि बिमिरोको महत्व बढ्ने गरेको हो ।
पौराणिक तर्क के छ दीपावली र प्रकाशको सम्बन्ध बारे ?
दशैं एवं तिहार जस्ता पर्वहरुको बारेमा विभिन्न किसिमका फरक फरक मतहरु सुन्न पाईन्छ । हिन्दू धर्मका हजारौं ग्रन्थहरुले यी पर्वहरुलाई आफू अनुकूल व्याख्या गरेकोले यी पर्वहरुको वास्तविक सुरुवातको विषयमा जान्न नै मुस्किल छ । यद्यपि तिहार पर्वको दियो वा उज्यालो सम्बन्धको विषयमा केही सांस्कृतिक मान्यताहरु र केही धार्मिक मान्यताहरु समेत मुख्य रहेको पाउँछौं ।
एक पौराणिक कथा अनुसार दीपावलीको दिन अयोध्याका राजा राम आफ्नो १४ वर्षको वनबासपछि घर फर्किएका थिए । अयोध्याबासीहरुले आफ्नो परमपि्रय राजा रामको आगमनमा प्रफुल्लित भएर चोक चोकमा बत्ती बालेर उनको स्वागत गरेका थिए । त्यो समयमा उनीहरुले राजा श्रीरामको स्वागतमा अयोध्याबासीहरुले घिउको दीपक जलाएका थिए । घनघोर कालो आमावश्याको दिनमा भगवान रामलाई स्वागत गर्नेहरुले दीपक जलाएर अयोध्या नगरलाई नै जाजल्यमान बनाएको उपलक्ष्यमा त्यही समयदेखि तिहारमा झिलिमिली बनाउन थालेको भन्ने एक किसिमको मान्यता छ ।
अर्काे मान्यता अनुसार राजा बलीलाई भगवान विष्णुले पातालमा धसाएपछि बलीले आफू मत्र्यलोक कहिले आउन पाउँछु ? भनेर सोधेका थिए । भगवान विष्णुले उनलाई यमपञ्चकको ५ दिन मत्र्यलोक आउने पाउने बर दिएका थिए । बलीको दबदबाबाट मुक्त भएका देवगणहरुले त्यतिबेला कुनैपनि हालतमा बलीलाई आफूहरु गरिब नभएको देखाउनको लागि झिलिमिली पार्न भनेका थिए । त्यसैले तिहारको पाँचै दिन झिलिमिली बनाउने गरिएको भन्ने शास्त्रीय मान्यता छ ।
त्यस्तै अर्काे मान्यता पनि दीपकको बारेमा सुन्ने गरिएको छ । प्रत्येक मनुष्यमा केही राम्रो र केही नराम्रो गुण हुने गर्दछ । कोही मानिसहरु सहिष्णु हुन्छन् भने केही मानिसहरु असहिष्णु हुने गर्दछन् । कुनै मानिसमा प्रेम शक्ति र उदारता जस्तो भाव पनि पाइने गर्दछ । हामी भित्र रहेका यी सबै गुणहरु एक लुकेको दीपक जस्तै हुन्छ । यस्ता गुणहरुद्वारा जाजल्यमान मानिसहरु आफ्नो दिव्य तेजलाई देखाउन सकुन् भन्नको लागि नै दीपक जलाउने गरिन्छ ।
आफ्नो यो लुकेको गुणहरु एउटाबाट मात्रै सन्तुष्ट नभएर हजारौं दीपक जलाएर आफैं भित्रको तमसबाट ज्योतिको खोजी गर्ने पर्वको रुपमा सांकेतिक दियो जलाउने गरिन्छ । हामीले बाल्ने दीपक ज्ञानको प्रतीक हो । ‘तमसोमा ज्योतिर्गमय’को अर्थ पनि यही हो । अज्ञानरुपि अन्धकारबाट ज्ञानरुपि उज्यालो प्राप्ति नै हामीहरुको ध्येय हो । यही गुणलाई जागृत गर्नको लागि नै दीपावली मनाउने गरिएको हो ।