‘जाइरा’ को आइटम गीत: ‘यो मात चढेको साँझ’ मा तनुजा

Spread the love

काठमाडौं– ६ भदौबाट प्रदर्शनमा आउने फिल्म ‘जाइरा’को आइटम गीत रिलिज गरिएको छ । शुक्रबार इन्टरनेट ‘मार्फत सार्वजनिक ‘यो मात चढेको साँझ’ बोलको गीतमा मीना निरौलाले आवाज भरेकी छन् ।  पुरानो फिल्म ‘मनको बाँध’ मा रहेको गीत रिमेक गरेर यसमा राखिएको हो । सो समय गीतमा मिरा राणाले स्वर दिएकी थिइन् । 

किरण खरेलले शब्द, शिवशंकरको संगीत रहेको रिमेक गीत फिरोज बज्राचार्य र डिजे राजुले रिएरेञ्ज गरेका छन् ।  ‘यो मात चढेको साँझ’मा तनुजा गुरुङले दमदार नृत्य गरेकी छन् । तनुजालाई अडिसनमार्फत गीतका लागि छानिएको हो । यसको कोरियोग्राफर गोविन्द राई हुन् ।

‘जाइरा’ अभिनेत्री नम्रता श्रेष्ठले मिक्स मार्शल आर्ट खेलाडीको भूमिका निर्वाह गरेको फिल्म हो । पर्दामा प्रायः लभर गर्लको भूमिकामा प्रस्तुत हुँदै आएकी श्रेष्ठको फिल्ममा एक्सन पनि छ । फिल्म आशुतोष राज श्रेष्ठले निर्देशन गरेका हुन् । 

फिल्ममा नम्रताको अलवा अनुपविक्रम शाही, प्रमोद अग्रहरी, रेमन दास श्रेष्ठ, नव–कलाकारहरु श्रृजना रेग्मी, सुजता श्रेष्ठ र सम्राट मगर समेत मुख्य भूमिकामा छन् । कटामरी फिल्मस्को ब्यानरमा निर्माण भएको यो फिल्म नम्रता श्रेष्ठ प्रोडक्शन र ट्रेन्डसेटर्स प्रालिको ब्यानरमा तयार भएको हो । यसका कार्यकारी निर्माता प्रशन्न गोपाली रहेका छन् ।


Spread the love