गाँजासहित पाँच जना पक्राउ

Spread the love

हेटौँडा । मकवानपुर प्रहरीले मंगलबार दुई स्थानमा गरी १०३ किलो लागूऔषध गाँजासहित पाँच जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले पत्रकार सम्मेलनको आयोजना गरी उनीहरुलाई सार्वजनिक गरेको थियो । प्रहरीले मकवानपुरको इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षक अरूणकुमार कुशवाहाको नेतृत्वमा गएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

हेटौँडा १५ रातोमाटेमा हेटौँडाबाट वीरगन्ज जाँदै गरेको एचआर ५१ एल २४४१ को भारतीय कारलाई जाँच गर्दा २१ किलो पाँच सय ग्राम गाँजासहित भारतीय नागरिकहरु कार चालक मुकेश सहनी, राजकुमार, भारत मोतिहारीकै ओमप्रकाश चौधरी र नेपाल पर्सा जिल्लाका जीतेन्द्रप्रसाद यादवलाई पक्राउ गरिएको मकवानपुर प्रहरी प्रमुख मुकेशकुमार सिंहले बताए ।

त्यस्तै जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरीक्षक पवनकुमार झाको नेतृत्वमा गएको प्रहरी टोलीले मकवानपुरको राक्सिराङ गाउँपालिका ३ पलासे बसपार्कबाट ८१ किलो सात सय ग्राम गाँजासहित सप्तरी जिल्लाका पुरन साहलाई पक्राउ गरिएको प्रहरी प्रमुख सिंहले बताएका छन् ।

पक्राउ परेकालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । पछिल्लो एक महिनामा मकवानपुरमा तीन सय किलो गाँजा बरामद भएसकेको छ ।


Spread the love