कुखुराको भालेले ठुंगेर अस्ट्रेलियामा एक ७६ वर्षीया वृद्धाको मृत्यु

Spread the love

एजेन्सी । कुखुराको भालेले ठुंगेर अस्ट्रेलियामा एक ७६ वर्षीया वृद्धाको मृत्यु भएको छ । सीएनएनको अनलाईन संस्करणमा प्रकाशित समाचार अनुसार कुखुराले ठुंगेर वृद्धाको मृत्यु भएको घटनापछि प्याथोलोजिष्टहरु पनि आश्चर्यमा परेका थिए । 

त्यसैले सत्यतथ्य बुझ्न प्याथोलोजिष्टहरुको एउटा समूहले अनुसन्धान नै सुरु गरे । अनुसन्धानबाट प्राप्त निश्कर्ष अगष्टको अन्त्यतिर प्रकाशित ‘जर्नल फोरेन्सिक साइन्स’मा छापिएको छ । 

युनिभर्सिटी अफ एडेलेड र नेदरल्याण्डको फोरेन्सिक इन्स्टिच्यूटका प्याथोलोजिष्ट संलग्न अनुसन्धानमा महिलाको मृत्युबारे भनिएको छ, ‘अस्ट्रेलियामा एक घरमा पालिएको कुखुराको भालेले वृद्धाको देब्रे खुट्टामा आक्रमण गरेको थियो । भालेले ठुंगेपछि वृद्धामा अनियन्त्रित रक्तश्राव भएपछि उनको निधन भयो ।’

‘कुखुराको भालेले वृद्धाको खुट्टामा पहिलेदेखि सुन्निएको नसा (भ्यारिकोस भेन)मा ठुङ्ग्न पुगेको थियो । रक्तनली फुटेर अत्यधिक रक्तश्राव हुँदा उनको मृत्यु भएको देखिन्छ,’ अनुसन्धान पेपरमा लेखिएको छ । 

यो अनौठो दुर्घटनामा वृद्धाको मृत्युको लागि भालेभन्दा पनि वृद्धामा पहिलेदेखि विधमान रोगहरु बढी जिम्मेबार देखिन्छ ।

प्याथोलोजिष्टले अनुसन्धानको क्रममा वृद्धामा उच्च रक्तचाप, रगतमा अत्यधिक मात्रामा बोसो, मधुमेह र रक्तनली सुन्निनेजस्ता समस्या रहेको पाएका थिए । 

‘यो घटनाले के देखाउँछ भने यदी तपाईंमा निश्चित प्रकारको रक्तनलीको समस्या छ भने समान्य घरेलु जीवले पनि प्राणघातक चोट पुर्याउन सक्छन्,’ पेपरमा निश्कर्ष दिइएको छ । 


Spread the love