कालोपुलमा धर्मछोरी बसेकी सन्तोषीको दक्षिणकाली मन्दिर परिसरमा क्रुर हत्या

Spread the love

दक्षिणकाली नगरपालिका-७ स्थित दक्षिणकाली मन्दिरपरिसरभित्र सानो बजार छ। निषेधाज्ञा केही सहज भए पनि गाडी नचलेकाले बजार सुनसान नै छ।

बजारसामुन्ने बसपार्क छ। त्यसको दुई सय मिटर पर खाली मैदान छ। स्थानीयका अनुसार त्यहाँ स्कुटर सिक्ने मानिसहरू जाने गर्छन्। मंगलबार दिउँसो पनि त्यहाँ स्कुटर सिक्नेहरू भेला भएका थिए।

त्यसैको मुनि रहेको जंगल क्षेत्रमा एउटा पुरानो प्रयोगविहीन शौचालय छ। जहाँ, मंगलबार एकाबिहानै एक जना महिलाको शव देखेपछि च्याउ टिप्न गएका दुई महिला तर्सिएका थिए।

स्थानीय महिला आत्तिएर त्यहीँ नजिकै रहेको इलाका प्रहरी कार्यालयमा खबर गरेपछि घटनास्थलमा अनुसन्धान गर्न प्रहरी टोली पुगेको थियो।

महानगरीय प्रहरी परिसर, महानगरीय अपराध महाशाखा, कीर्तिपुर वृत्तसहित त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विज्ञसहितको टोली अनुसन्धानमा खटिएको थियो।

घटनास्थल पुगेका अपराध महाशाखाका प्रहरी उपरीक्षक कृष्ण पंगेनीका अनुसार ती महिला काठमाडौं कालोपुलनजिक बस्ने सन्तोषी सुब्बा भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

कालो पुलमा छाप्रो हालेर बसिरहेका धनबहादुर तामाङले उनलाई धर्मछोरी बनाएर राखेका थिए। तामाङसँग प्रहरीले अहिले सोधपुछ गरिरहेको छ।

तामाङले धर्मछोरी सुब्बा केही रिसाहा स्वभाव भएकी रहेको बताएका छन्। उमेर भने तामाङले पनि एकिन भन्न सकेका छैनन्।

सन्तोषीको क्रुर ढंगले हत्या गरेको देखिएको छ। उनलाई सुरूमा घाँटीमा सलले कसिएको देखिएको छ। उनको प्राण गएपछि ढुंगाले अनुहारमा हिर्काएर चिन्नै नसक्ने बनाइएको छ।

‘निधारदेखि मुनि चिउँडोसम्मको कुनै भाग पनि छैन, अनुहार नचिनियोस् भनेरै त्यसरी क्षत-विक्षत पारेको देखिन्छ,’ पंगेनीले सेतोपाटीसँग भने।

उनीसँग कुनै पुरूषको शौचालयबाहिर निकै झगडा भएको देखिएको छ।

बाहिर रक्ताम्य देखिन्छ। बाहिर हत्या गरी शव शौचालयभित्र घिसारेर लगेको संकेत देखिएको छ।

हत्या सोमबार भएको हुनसक्ने अनुमान गरिएको पंगेनीले बताए। शव फेला परेको दिन मंगलबार स्थानीय कसैले पनि उनको सनाखत गर्न सकेनन्। न, उनीहरूले घटना भएको सुइँको नै पाएको बताउन सके।

‘कसैले पनि नदेखेको अवस्थाले घटना निकै योजनावद्ध छ भन्ने हाम्रो प्रारम्भिक अनुसन्धानले देखाएको छ,’ पंगेनीले भने।

कीर्तिपुरकी एक महिला हराएको सूचनाका आधारमा केही आफन्त घटनास्थल पुगेका थिए। तर, उनीहरूले सनाखत गर्न सकेनन्।

अनुसन्धानका लागि घटनास्थलमा केही चिजवस्तुहरू पर्याप्त थिए।

घम्साघम्सी हुँदा उनको कानका टप फुस्किएका देखिन्छन्। चुँडिएको माला फेला परेको छ। कुच्चिएको चश्माको फ्रेम फेला परेको छ।

घटनास्थलमा फेला परेको मृतक सुब्बाको जुत्ता, मास्क र श्रीबन्दी।

सुब्बाले बोकेको झोला पनि भेटिएको थियो। त्यो झोलामा केही भिजिटिङ कार्डहरू फेला परेका थिए।

झोलाभित्र लिपिस्टिक, पाउडरलगायत मेकअपका धेरै सामग्री फेला परेका थिए। मोबाइलको ब्याट्री फेला परेको थियो। तर, मोबाइल भने थिएन।

उनलाई त्यहाँसम्म कसैले लगेर योजनापूर्वक नै हत्या गरेको देखिएको पंगेनीले बताए।

ती महिला गर्भवतीजस्ती देखिन्छिन्। ‘शव हेर्दा उनको पेटभित्र बच्चा छ भन्ने अनुमान गर्न सकिन्छ, तर हामीले पोस्टमार्टम गरिसकेका छैनौं,’ शिक्षण अस्पतालका फरेन्सिक चिकित्सक डा. गोपाल चौधरीले भने।

महाशाखाका प्रमुख एसएसपी चन्द्रकुबेर खापुङका अनुसार उनलाई निषेधाज्ञाको बेला गाडी पनि नचलेको अवस्थामा त्यहाँसम्म कसैले लगेको बुझ्न सकिन्छ।

हत्याको कारण गर्भमा रहेको बच्चा हुन सक्नेतर्फ अनुसन्धान केन्द्रित छ। सुब्बा अविवाहित हुन्।

‘गर्भ रहेपछि बिहे गर्छु भनी बहाना बनाएर दक्षिणकालीसम्म लगेको बुझ्न सकिन्छ, मेकअपका धेरै सामग्री देखिएकाले यस्तो अनुमान गर्न सकिन्छ,’ खापुङले भने।

त्यहाँ पुगेपछि उनीहरूबीच विवाद भएको  र विवादपछि घम्साघम्सी भएको देखिएको छ।

सुब्बाले प्रतिकार पनि गर्न खोजेको देखिएको छ। त्यस क्रममा उनको घाँटीको माला चुँडिएको छ। कानका टप फुस्किएका छन्। श्रीबन्दीलगायत नक्कली गहना भेटिएका छन्। ती टुटेका छन्।

घटनास्थलमा कुकुरसहितको टोली पुगेको थियो। कुकुरलाई मृतकले लगाएको ज्याकेट सुँघाएर छोडिएको थियो।

कुकुर दक्षिणकाली बसपार्कसम्म पुग्यो। त्यसपछि अघि बढ्न सकेन।

अनुसन्धानमा खटिने प्रहरीहरूका अनुसार कुकुरले कुनै सामग्री सुँघेर त्यससँग घटना गराउने व्यक्ति हिँडेर गएको अन्तिम बिन्दुसम्म पुग्न सक्छ।

तर, घटना गराउने व्यक्ति सवारीसाधन चढेर हिँडेको छ भने कुकुर अलमलिन्छ।

‘कुकुर बसपार्कबाट अगाडि बढ्न सकेन, त्यसकारण हत्यारा बसपार्कसम्म हिँडेर गएको र त्यहाँबाट सवारीसाधन चलाएर भागेको अनुमान गर्न सकिन्छ,’ महाशाखाका अनुसन्धान अधिकृत प्रहरी नायब उपरीक्षक निशान थापाले भने।

हत्याराले महिलालाई ल्याएर बसपार्कमा मोटरसाइकल रोके। त्यसपछि हिँडेरै घटनास्थलसम्म पुगे र हत्यापछि उनी आफ्नो सवारीसाधन पार्किङ गरेको ठाउँमा हिँडेरै पुगे भन्ने अनुमान गर्न सकिने थापाले बताए।  

तर, हत्या कसले गर्‍यो भन्ने पत्ता लाग्न सकेको छैन। सुब्बाका धर्मपिताले त्यसबारे केही ‘क्लू’ दिनसक्छन् कि भनी उनीसँग प्रहरीले सोधीखोजी गरिरहेको छ।

भिजिटिङ कार्डमा भेटिएको मोबाइल नम्बरमा प्रहरीले सम्पर्क गरेको थियो। केही नम्बर बौद्धतिर बस्ने व्यक्तिको खुलेको छ भने केही बागबजारमा कार्यालय रहेको व्यक्तिको पाइएको छ।

उनीहरूसँग मृतक सुब्बा कसरी जोडिइन् भन्नेतर्फ अनुसन्धान अघि बढाएर प्रहरीले हत्यामा संलग्न व्यक्ति खोजिरहेको छ।

एसपी पंगेनीका अनुसार महिलाले बोक्ने गरेको मोबाइल नम्बर पत्ता लागिसकेको छ। यसबाट उनीसँग सम्पर्कमा रहने व्यक्ति खुल्ने छ। 

बाँकी, फरेन्सिक विज्ञ टोलीले पोस्टमार्टम रिपोर्टबाट गर्भबारे यकिन गरेपछि हत्याको कारण पत्ता लाग्ने एसएसपी खापुङले बताए।

घटना अनुसन्धानमा महाशाखा र महानगरीय प्रहरी परिसरको टोली सक्रिय छ। अनुसन्धानमा भएको प्रगतिबारे परिसरले आधिकारिक रूपमा बताइसकेको छैन।   

Source :कालोपुलमा धर्मछोरी बसेकी सन्तोषीको दक्षिणकाली मन्दिर परिसरमा क्रुर हत्या :: Setopati


Spread the love