अवार्डको नाममा मानव तस्करी
आज अमेरिकाको न्युयोर्क र जापानको टोकियोमा नेपाली चलचित्र र गीत-संगीतसँग सम्बन्धित दुई कार्यक्रम आयोजना हुदैछन् । न्युयोर्कमा पहिलो वर्ल्ड नेपाली म्युजिक अवार्ड हुदैछ भने टोकियोमा दोस्रो सूर्य इन्टनेशनल अवार्ड।
यी दुबै अवार्डमा सहभागी हुन नेपालबाट केही कलाकार पुगेका छन् भने उनीहरूसँगै मिसाएर केही गैरकलाकारलाई पनि जापान र अमेरिका पुर्याइएको बताइएको छ। कति संख्यामा गैरकलाकार ओसारियो, त्यो भने कन्सुलरहरूले कतिलाई भिसा पत्याए त्यसमै भर पर्छ। यदि पत्याएनन् भने कलाकारका लागि त विदेश यात्राको लगन जुरेको मानिएला तर आयोजकहरू भने मज्जैले घाटा जानेछन्।
यी दुबै अवार्ड मानव तस्करी प्रयोजनका लागि आयोजना गरिएका हुन् भन्ने आरोप लागेको छ। आरोप लगाउनेहरू सम्बन्धित क्षेत्रका जानकार र विज्ञ नै छन्। सत्य के हो त्यो त सम्वन्धित पक्षले नै थाहा होला । बाहिर बस्नेले भने तथ्य र संजोगको आधारमा अनुमान गर्ने मात्र हो।
तर, यस्ता कार्यक्रमको विगत हेर्ने हो र आयोजकहरूको पृष्ठभूमि र यस्ता कार्यक्रम आयोजना गर्नुको भित्री उद्देध्श्यलाई हेर्ने हो भने यी कार्यक्रमका पैसा कमाउनकै लागि आयोजना गरिएका र त्यस्तो पैसा सिधै कार्यक्रम आयोजना गर्दा आउने अवस्था कतै देखिदैन। त्यसका लागि ढिलो चाँडो मानवतस्करीको सहारा नलिई उपाय नै छैन।
न्युयोर्कमा आयोजना गरिएको पहिलो वर्ल्ड नेपाली म्युजिक अवार्ड उत्कृष्ट नेपाली गीत संगीत चयन गर्ने आयोजना हो। यो यस्तो पहिलो र एक मात्र आयोजना हैन, यस्ता आयोजना वर्षे च्याउसरी घरदेशमा मात्र हैन, परदेशमा पनि आयोजना भैरहेका छन्। एउटा चारपाने पत्रिकादेखि अलेक्सामा कतै नदेखिएको अनलाइन मिडियाले पनि आयोजना गरिरहेका छन् । यी किन आयोजना गरिएका हुन्, साँच्चै भन्ने हो भने न ती आयोजकलाई थाहा छ, न त्यसमा सहभागी हुनेहरूलाई ।
वर्ल्ड नेपाली म्युजिक अवार्ड पनि त्यस्तै एउटा आयोजना हो । रूपमा संगीतको प्रवर्द्धन भनिए सारमा यस्ता आयोजनाका आयोजकको मनसाय पैसा कमाउने हो भने यसमा सहभागी हुनेको मनसाय चर्चा कमाउने नै हो। यो आयोजना त अझ यौन विवादमा पनि पर्यो । यसका एक हर्ताकर्ता सुमन बुढामगर निस्कासनमा परे भने अर्का हर्ताकर्ता आङ्गेलु शेर्पाले मुस्ताङे राजकुमार विष्टलाई अगाडि सारेर यो आयोजना गरिरहेका छन्।
यो आयोजनाका बारेमा निस्कासित संस्थापक सीईओ सुमन बुढामगरले नै आयोजनामार्फत् मानव तस्करी भैरहेको आरोप लगाएका छन् । जब संस्थापक सीईओ नै त्यस्तो आरोप लगाइरहेका छन् भने त्यसमा पटक्कै सत्यता छैन भनेर भनेर कसरी भन्न सकिन्छ र?
तर, पनि यो विवादास्पद आयोजनामा सहभागी हुन नेपालबाट आधा दर्जन कलाकार अमेरिका आएका छन्। आउनेमा यम बराल, केकी अधिकारी, अञ्जु पन्त, शिव परियार, मिङ्मा शेर्पा, सत्यकला राईलगायतका कलाकार भएको बताइन्छ । न्युयोर्कमै रहेका केही कलाकार पनि यसमा सहभागी छन्। आयोजना विवादमा परेका कारण नेपालबाट कति कलाकार आएनन् भने कतिले भिसा पनि पाएनन् ।
उता, जापानको टोकियोमा आयोजना हुने भनिएको सूर्य इन्टरनेशनल अवार्डको कथा पनि उस्तै छ। यो अवार्ड जापान अनि जापान हुदै अमेरिका नेपाली पठाउने भिसा कन्सल्टेन्सी चलाइरहेको लामिछाने दाजुभाइको एक नाफामुखी कम्पनीले आयोजना गरेको हो। नेपाली चलचित्र र नेपाली चलचित्रकर्मीलाई उत्कृष्टताका लागि पुरस्कृत गरिने भनिएको यो अवार्डको आयोजक संस्था केही समयअघि मात्र मानव तस्करी विवादमा मुछिएको थियो। यही कम्पनीले १२ लाख रूपैया लिएर पठाएका एक नेपाली युवा विमानस्थलबाटै नेपाल फर्काइएका थिए।
सूर्य अवार्डका लागि जापान जाने जम्बो टोलीमा त नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईजस्ता सरकारी ओहोदावाला मात्र छैनन्, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, नीर शाहजस्ता प्रतिष्ठित कलाकार पनि छन् । यो देख्दा लाग्छ, हाम्रा राष्ट्रका गहनाहरू गुन्दुककै झोलमा जात मात्र फालिरहेका छैनन, अप्रत्यक्ष रूपमा मानव तस्करीलाई नै सघाइरहेका छन्।
नेपाल फर्केपछि ती युवाले सार्वजनिक गरेको कहालीलाग्दो कथाले यो संस्थाको गोरखधन्दा सार्वजनिक भएको छ। अवार्ड आयोजना गरेर ब्राण्डिङ गर्ने र त्यसैको आधारमा मानव तस्करीको आधार बनाउने यो कम्पनीको भित्री उद्देश्य रहेको देखिन्छ।
सूर्य अवार्डका लागि जापान जाने जम्बो टोलीमा त नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईजस्ता सरकारी ओहोदावाला मात्र छैनन्, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, नीर शाहजस्ता प्रतिष्ठित कलाकार पनि छन्। यो देख्दा लाग्छ, हाम्रा राष्ट्रका गहनाहरू गुन्दुककै झोलमा जात मात्र फालिरहेका छैनन, अप्रत्यक्ष रूपमा मानव तस्करीलाई नै सघाइरहेका छन्।
यसरी यी दुबै विवादमा परे पनि नेपालका नाम चलेका कलाकार भने लर्को लागेर अमेरिका र जापान पुगेका छन्। राष्ट्रका गहना भनिएका कलाकारहरू पैसा पाए भने जसले आयोजना गरे पनि जसले बोलाए पनि विदेश जान हरहमेसा तयार रहेको पाइन्छ। उनीहरूको यो पैसामुखी व्यवहारका कारण मानव तस्करी गर्ने गोरखधन्धावालहरूको धन्दा चलाइरहेका छन्। हुन त अहिले देशमा विदेश जाने लहर चलेको छ, पैसा र चर्चाका लागि हदभन्दा पनि तल झर्ने परिपाटी सुरू भएको छ। त्यसमा कालकार मात्र अछुतो रहनुपर्छ भन्नु पनि त्यति व्यवहारिक नहोला। तर, कलाकार आफूलाई राष्ट्रका गहना भनेर गजक्क पर्ने भएकाले त्यसअनुसारको व्यवहार उनीहरूबाट अपेक्षा गर्नु अन्यथा हैन।