२०१९ मा बलिउडमा जसले कमाल गरे

Spread the love

बर्ष २०२० को पहिलो दिन हो, आज ।

यतिबेला बलिउडका दुई चलचित्र ‘दबंग ३’ र ‘गुड न्युज’ प्रदर्शन भैरहेका छन् । तथापी, गुड न्युज दबंगभन्दा धेरै राम्रो चलिरहेको छ । यि चलचित्रको पुर्ण हिसाब आउन केहि समय पक्कै लाग्नेछ । यो बर्ष बलिउडबाट केहि आशा राखिएका चलचित्र प्रदर्शन हुनेवाला छन् । तर, यतिबेला २०१९ का केहि हिट चलचित्रका बारेमा चर्चा गर्नुपर्छ ।

बर्ष २०१९ मा बलिउडका १५ वटा चलचित्रले सय करोडको व्यापार गरे । ति चलचित्रहरुमध्ये अक्षय कुमार अभिनित तीन चलचित्र छन् । अजय देवगन, सलमान खान र आयुष्मान खुरानाका दुई–दुई चलचित्र । यद्यपी, ऋत्विक रोशनको वार, शाहिद कपुरको कवीर सिंह र भिक्की कौशलको उरीको व्यापार अरुको तुलनामा धेरै माथि रह्यो ।

ऋतिक रोशनका फ्यान हुन्, टाइगर श्राफ । ऋतिक र टाइगर अभिनित चलचित्र हेर्न पाएका थिएनन् दर्शकले । टाइगरको उदय र ऋतिकको व्यक्तिगत जीवनमा उतारचढाव आउनु करिब एकै समयमा भएपछि उनीहरु एउटै चलचित्रमा देखिनका लागी संयोग मिलेको थिएन । ‘वार’ त्यही चलचित्र हो, जहाँ ऋतिक र टाइगर पहिलोपटक सँगै देखिए । दुबैको आ–आफ्नै किसिमको फ्यान फलोइङ थियो, त्यसले दर्शक तान्यो । एक्सन–थ्रीलर जनराको दमदार यस चलचित्रले अढाइ घण्टा दर्शकलाई बाँध्न सक्यो । यही कारण हो, बक्सअफिसमा कमाल गर्न सफल भयो । १ सय ५० करोडमा निर्माण गरिएको यो चलचित्रले विश्वभरबाट ४ सय ७४ करोडको हाराहारीको ब्यापार गरेको भारतीय मिडियाहरुको दाबि छ ।

यो बर्ष गुगलमा सर्वाधिक खोजिएको चलचित्रमा ‘कविर सिंह’ परेको छ । भारतमा गुगल प्रयोग गर्ने प्रयोगतकर्ताले साहिद कपुरको मुख्य भूमिका रहेको चलचित्र ‘कविर सिंह’लाई सर्वाधिक खोजी गरेका हुन् । यसले पनि के थाहा हुन्छ भने, कविर सिंह कति चर्चामा रहेछ ।

हलिउडको हिट चलचित्र ‘एभेन्जर्स इन्डगेम’लाई समेत पछि पारेर ‘कविर सिंह’ले इन्टरनेटमा जुन कमाल गर्न सफल भयो, त्यसैअनुसार हलमा समेत कमालको व्यापार ग-यो । साहिद कपुर र कियरा आडवाडी अभिनित यो चलचित्रले बक्स अफिसमा २ सय ८० करोड हाराहारीको व्यापार गरेको छ । यो वर्षको सर्वाधिक नाफा कमाउने चलचित्र समेत हो ।

सलमान खानको ‘दबंग थ्री’ले बक्स अफिसमा सय करोडको आँकडा पार गरिसकेको छ । बर्षको अन्तिममा प्रदर्शन भएको यो चलचित्र सय करोड भारु व्यापार गर्ने सलमानको १५ औं चलचित्र हो ।

सलमानबाहेक सोनाक्षी सिन्हा, किच्चा सुदीप, सई मांजरेकर लगायतका कलाकारको मुख्य भूमिका रहेको यो चलचित्र सलमानको स्टारडमका कारण मात्रै चलेको हो । अधिक फाइट, हल्का–फुल्का लभ स्टोरीमा कमजोर स्क्रिप्टको भरमा निर्माण गरिएको यो चलचित्रलाई प्रदर्शन भएको अर्को हप्ता अक्षयकुमारको ‘गुड न्युज’ले असर पा¥यो । यद्यपी अहिलेसम्म दबंगले १ सय ५० करोडको हाराहारी कलेक्सन गरिसकेको छ । अहिलेपनि यो चलचित्र धेरै हलमा प्रदर्शन भैरहेको छ ।

बलिउड हो, मसला चलचित्रमा सधै एक कदम अगाडि हुन्छ । जसरी हुन्छ, दर्शकलाई मनोरञ्जन दिनुपर्छ भन्ने ध्येयले बनाइने यस्ता चलचित्रहरु दबंग थ्रि जस्तै हुन्छन् । तर बजार भने राम्रैसँग कब्जा गर्छन् । यस बर्षको सुरुवात्मै प्रदर्शन भएको चलचित्र ‘टोटल धमाल’ एक्सन, रोमान्स, एडभेन्चर, डान्स, डर सबैको समिश्रण हो  । कतिपयले ‘कमेडीको नाममा बकवास’ भन्दै वाहियत चलचित्रको कोटीमा राख्दै धज्जी समेत उडाए । तथापी, यो चलचित्रले राम्रै व्यापार गर्न सफल भयो । २००७ मा प्रदर्शनमा आएको चलचित्र ‘धमाल’को तेस्रो शृंखला ‘टोटल धमाल’ले संसारभरबाट २ सय २८ करोडको हाराहारीमा कलेक्सन गरेको बताइन्छ ।

सलमान खान अभिनित चलचित्र ‘भारत’ यस बर्षको अर्को हिट चलचित्र हो । सलमानसहित कैटरिना कैफको बेजोड प्रस्तुती रहेको  चलचित्र भारतमा भारतको सन् १९४७ देखि अहिले सम्मको स्वतन्त्रताको यात्राको बारेमा देखाइएको थियो । यो चलचित्रले २ सय १० करोड भन्दा माथिको व्यापार गर्न सफल भयो ।

अक्षयकुमार अभिनित चलचित्र ‘हाउसफुल ४’ यस बर्ष कमालको ब्यापार गर्ने अर्को चलचित्र हो । बलिउड अनलाइन कोइमोइका अनुसार यो चलचित्रले २ सय ८ करोडको व्यापार गरेको छ । हिट चलचित्र हाउसफुलको सिरिज भएका कारण समेत यो चलचित्रप्रति दर्शक धेरै आकर्षित भएको अनुमान गर्न सकिन्छ ।

केशरी अनुरागद्धारा लिखित तथा निर्देशित चलचित्र ‘केशरी’ बर्ष २०१९ को अर्को हिट चलचित्र हो । अक्षयकुमार अभिनित यो चलचित्रले १ सय ५४ करोडको ब्यापार गर्न सफल भयो ।

१ सय २ करोड ४० लाख भारुको व्यापार गर्न सफल ‘दे दे प्यार दे’मा अजय देवगणको दमदार अभिनय देख्न सकिन्छ । यो चलचित्रले यस बर्ष राम्रो चर्चा पायो । जति आशा गरिएको थियो यो चलचित्र त्यसअनुसार चल्न भने सकेन । तर, निर्मातालाई जोगी हुनबाट बचायो ।

समाचारहरूमा जनाइएअनुसार ‘साहो’ निर्माण गर्न ३५० करोड भारु  खर्चिइएको छ । तर, यो चलचित्र लगानी भएअनुसारको ब्यापार गर्नबाट चुक्यो । बाहुबली प्रभासको अभिनय रहेका कारण यो चलचित्रको चर्चा निर्माण सुरु भएदेखिनै थियो । ‘बाहुबली’का दुई भागको अपार सफलतापछि प्रभासले अभिनय गरेको चलचित्र भएका कारण पनि ‘साहो’ हेर्न प्रदर्शन भएको केहि दिन हलमा अचाक्ली भिड लाग्यो । तर, चलचित्र हेरेका दर्शक भने ‘ह्याप्पी’ हुन सकेनन् । तथापी, चलचित्र राम्रै फाइदामा गयो । यो चलचित्रले ४ सय २० करोड हाराहारीको ब्यापार गरेको भारतिय मिडियाहरुको भनाई छ ।

सुशान्त सिंह राजपूत र अभिनेत्री श्रद्धा कपूर अभिनीत चलचित्र ‘छिछोरे’ले सय करोड भन्दा माथिको ब्यापार गर्ने अर्को भाग्यमानी चलचित्र हो । ६ सेप्टेम्बरमा प्रदर्शन भएको यो चलचित्र ‘वर्ड अफ माउथ’ बलियो भएका गज्जबले चल्यो । संसारभरबाट २ सय १२ करोड भन्दा माथिको व्यापार गर्न सफल ‘छिछोरे’ दशककै सर्वाधिक हिट चलचित्र मानिएको ‘दंगल’ निर्देशक नतेश तिवारीको निर्देशनमा बनेको थियो ।

चलचित्र ‘सुपर ३०’ ६० करोड भारुमा निर्माण गरिएको थियो । यसले आफ्नो लगानी सुरक्षित गर्नका लागि ७० करोड भारुको व्यवसाय गर्नुपर्ने थियो । तर, यसले संसारभरबाट २ सय ८ करोडको व्यापार गर्न सफल भयो । भारतका गणितज्ञ आनन्द कुमारको जीवनमा आधारित यो चलचित्रलाई विकास बहलले निर्देशन गरेका हुन् । यो चलचित्रलाई  भारतका थुप्रै राज्यहरुमा ट्याक्स फ्रि गरिएको घोषणा गरिएको थियो । चलचित्रमा ऋतिक रोशनको कमालको अभिनय थियो ।

पछिल्लो समयका हिट अभिनेता रणविर सिहं तथा आलिया भाट स्टारर चलचित्र ‘गली ब्वाइ’ले वक्सअफिसमा शानदार कमाइ गरेको छ । चलचित्रले सबैलाई अचम्म पार्दै २ सय २० करोड भारुको व्यापार गर्न सफल भयो । भ्यालेन्टाइन डे को दिन प्रदर्शन भएका कारण भएकाले समेत यो चलचित्रले लोभलाग्दो व्यापार गर्न सफल भएको भारतीय चलचित्र पण्डितहरुको बुझाई छ ।

चलचित्र ‘अन्धाधुन’मा गरेको उत्कृष्ट अभिनयका लागि ‘नेशनल एवार्ड’ हात पारेका बलिउड अभिनेता आयुष्मान खुरानाको मुख्य अभिनय रहेको चलचित्र ‘ड्रिम गर्ल’ले १ सय करोडभन्दा माथिको व्यापार गरेको छ । सेप्टेम्बर १३ शुक्रबारबाट प्रर्दशनमा आएको चलचित्रले १० दिनमा ९७.६५ करोडको व्यापार गरेको थियो ।  राज शाडिल्यको निर्देशनमा बनेको यो चलचित्रमा आयुष्मानसहित नुशरत भरुचा, अन्नु कपूर, अभिषेक बनर्जी, विययराजलगायतको मुख्य अभिनय थियो । चलचित्रमा केटीको आवाजमा कुरा गर्ने एक युवाको कथा देखाइएको छ । संसारभरका हलबाट चलचित्रले २ सयभन्दा माथिको व्यापार गर्न सफल भएको छ ।

अक्षय कुमार स्टारर चलचित्र ‘मिसन मंगल’ले बलिउड बक्स अफिसमा धमाका मच्याउन सफल भयो । यो चलचित्रले रिलिजको ६ दिनमा नै १ सय करोड बढिको व्यापार गर्न सफल भयो । मिसन मंगलमा अक्षयको साथमा बिद्या बालन, तपसी पन्नु, सोनाक्षी सिन्हा लगायतका कलाकारको मुख्य भूमिका थियो । चलचित्रले २ सय भन्दा माथिको व्यापार गरेको रेकर्ड छ ।

चलचित्र ‘बाला’ले बक्स अफिसमा हंगामा मच्चायो । सामान्य विषयवस्तुलाई रोचक तरिकाले प्रस्तुत गरिएको यो चलचित्रलाई दर्शक र समिक्षकले समेत उत्कृष्ट भन्दै प्रशंसा गरे ।

रिलिजको पहिलो दिन नै चलचित्रले सुखद ओपनिङ गरेको थियो । आयुष्मान खुरानासँगै भूमि पेड्नेकर, एमी गौतम, सीमा पाहवा, मनोज पाहवा लगायतका कलाकारको अभिनय रहेको चलचित्रलाई अमर कौसिकले निर्देशन गरेका हुन् । आधा दर्जन भन्दा बढी चलचित्र बक्स अफिसमा लगातार हिट दिएका युवापुस्ताका कलाकारहरुमा सबैभन्दा अघि छन् आयुष्मान । चलचित्रले १ सय ७१ करोडको ब्यापार गर्न सफल भयो ।


Spread the love