लमजुङ भूकम्प: भित्र जाउँ घर भत्केको छ, बाहिर बसौं सिमसिमे पानी परिरहेको छ

Spread the love

भूकम्पले घर भत्केपछि लमजुङ वेशीसहर नगरपालिका वडा नम्बर ६ की ३६ वर्षीया उमा गुरूङ घरभित्रै पुरिइन्।

केहीबेरमा छरछिमेकको सहयोगमा उनको उद्धार गरियो। आज बिहान ५:४२ बजे भूकम्प गएकोले निन्द्रामै रहेका मानिसहरू घरबाहिर निस्कन पाएनन्।

ब्युँझिएकाहरू भने घरबाहिर निस्केका थिए।

बुधबार बिहान लमजुङको भुलभुलेलाई केन्द्रबिन्दु बनाएर दुइटा भूकम्प गएका छन्। ५:४२ बजे ५.८ र ८:२६ मा ५.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ।

बिहानको पहिलो धक्काले लमजुङ, तनहुँ र गोरखाका केही गाउँका कच्ची (ढुंगा, माटो र काठका जडानले बनाइएका) घरमा क्षति पुगेको छ। घरका गारो भत्केको र चर्केको छ।

लमजुङको वेशीसहरकी उमासहित वेशीसहर नगरपालिका वडा नम्बर ११ चितीकी ८३ वर्षीया खकाकुमारी पाण्डे पनि भूकम्पले घर भत्काउँदा घाइते छिन्।

यस्तै वेशीसहर नगरपालिका वडा नम्बर ८ का २९ वर्षीया खुसीमाया गुरूङ र मर्स्याङ्दी गाउँपालिका वडा नम्बर ६ का २२ वर्षीय गोविन्द अधिकारी घाइते भएको प्रहरीले जनाएको छ।

अधिकांश कच्ची घर भूकम्पबाट क्षति पुगेको विवरण आएका छन्। जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश मिश्रका अनुसार भूकम्पले घरका गारो भत्किँदा मानिसहरू घाइते छन्। घाइतेको उद्धार गरी स्वास्थ्य संस्थामा उपचार गरिएको छ। अधिकांश मानिस भूकम्प आउँदाआउँदै भागेका कारण घाइते छन्। घाइतेहरूको हातखुट्टामा चोट छ।

भूकम्पले लमजुङका मुख्यगरी मर्स्याङ्दी गाउँपालिका र वेशीसहर नगरपालिकामा असर पुर्‍याएको छ। मर्स्याङ्दी गाउँपालिकाको वडा नम्बर ३ र ८ भुलभुले गाउँमा अधिकांश घरमा क्षति पुगेको छ।

वडा नम्बर ८ की अध्यक्ष हिरादेवी गुरूङले सेतोपाटीसँग कुराकानी गर्दै भूकम्पले कच्ची घरको गारो भत्केको र घरहरू चर्केको बताइन्।

‘केही मानिसलाई चोटपटक लागेको छ। अधिकांश घर चर्केको छ, धेरै घरको धुरीनेर चिम्नीको गारो भत्केर खसेको छ,’ उनले भनिन्। घर भत्केका गाउँलेले त्रिपाल माग गरिरहेको उनले बताइन्।

‘बिहानै ओच्छानमा हुँदा भूकम्पले घरमा क्षति पुर्‍यायो। केहीबेरमा अर्को भूकम्प आयो। गाउँलेहरू फेरि भूकम्प आउने हो कि भनेर घरबाहिरै छन्,’ उनले भनिन्, ‘सिमसिम पानी परेको छ, ओत लगाउने ठाउँ छैन। त्रिपाल मागेका छन्।’

वडा नम्बर १ का अध्यक्ष रूद्रमान गुरूङले घरका गारो भत्किएको गुनासाहरू गाउँलेहरूबाट आएको छ।

‘क-कसको घर भत्केको छ म बुझ्न जाँदैछु,’ उनले भने, ‘पानी परिरहेको छ। गाउँलेहरू घरबाहिरै छन्।’

उनकाअनुसार आफ्नो वडाभित्र अहिलेसम्म मानिस घाइते भएकोबारे जानकारी छैन।

वडा नम्बर ३ खुदीका अध्यक्ष प्रेमबहादुर बस्नेतले सेतोपाटीसँग कुराकानी गर्दै वडाभित्र करिब २० घर चर्केको र ६/७ वटा घर भत्केको जानकारी अहिलेसम्म प्राप्त भएको बताए।

‘दुई घरपरिवारका लागि त्रिपाल माग भएको छ। पानी परिरहेकोले छ, त्रिपाल दिने तयारी छ,’ उनले भने, ‘धेरै घर चर्केको छ, मानिसहरू घरमा बस्न डराएका छन्।’

लमजुङका प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुईंटेलले भूकम्पबाट ६ जना घाइते भएको बताए।

‘६ जना घाइते हुनुभएकोमा २ जना उपचारपछि घर गइसक्नुभयो,’ उनले भने, ‘छतबाट हाम फालेर बेहोस हुनुभएका एका घाइतेलाई परिवारले थप उपचार गर्न भरतपुर लैजाने तयारी गर्दै हुनुहुन्छ।’

उनकाअनुसार घर भत्केका तथ्यांक संकलन गरेर राहत वितरण गर्नेबारे तयारी भइरहेको छ।


Spread the love