लकडाउनमा परिवार पाल्न लिएको ऋण तिरिनसक्दै आइपुग्यो निषेधाज्ञा

Spread the love

‘कोरोनाले भन्दा निषेधाज्ञाले खान नपाएर मरिएलाजस्तो भयो’

जनकपुरधाम उपमहानगरपालिका- ६ का कासिम अन्सारी १० वर्षदेखि जानकी मन्दिरको छेउमा रहेको अरगज्जा पोखरीको डिलसँगै जोडिएको फुटपाथमा कपडा बेच्छन्।

यही व्यापारमा निर्भर छ उनको ६ जनाको परिवार।

कोरोना महामारीको दोस्रो लहर आएपछि मंगलबारदेखि स्थानीय प्रशासनले जनकपुरधामसहित धनुषाका १८ वटै स्थानीय तहमा निषेधाज्ञा जारी गरेको छ। निषेधाज्ञासँगै कासिमको व्यापार पनि बन्द भएको छ।

कासिम घरमा कमाउने एक्ला व्यक्ति हुन्। निषेधाज्ञापछि कासिमलाई आफ्नोसँगै परिवारका अरू पाँच जनाको बिहान-बेलुका हातमुख कसरी जोड्ने होला भन्ने पीरले सताउन थालेको छ। 

‘निषेधाज्ञाअघि दिनभर पसल चलाउँथे। त्यसैको आम्दानीले घर चलेको थियो। आजदेखि त्यो पनि बन्द भयो। अब कसरी यो १० दिन कट्छ कुन्नि,’ अन्सारीले मंगलबार सेतोपाटीसँग भने, ‘व्यापार नचल्दा त केही दिन कसैले मेरो समस्या बुझिदेला तर पेटलाई कसरी मनाउने?’

कासिमका तीन छोरी र एक छोरा छन्। छोरालाई उनले मदरसाको होस्टेलमा राखिदिएका छन्। छोरीहरूलाई सामुदायिक विद्यालयमा पढाइरहेका छन्। व्यापार नचले अब मदरसालाई बुझाउनु पर्ने पैसा कहाँबाट ल्याउने होला भन्ने चिन्ताले अचेल उनलाई राति राम्ररी निद्रा लाग्दैन। 

छोराको पढाइका लागि कासिमले वर्षको २० देखि २५ हजार रुपैयाँसम्म मदरसालाई बुझाउनु पर्छ।

उनलाई फेरि आफ्नो अवस्था पोहोरजस्तै हुने हो कि भन्ने पीर उनलाई छ। 

पोहोरको लकडाउनको नमीठो अनुभव अहिले पनि कासिमको दिमाग ताजै छ।

गतवर्ष कोरोनाको पहिलो लहरमा सरकारले निरन्तर ६ महिनासम्म लकडाउन गरेपछि परिवारको गर्जो टार्न उनले साहुबाट ऋण लिएका थिए। त्यो ऋण अहिले पनि तिरिसकेका छैनन्। 

‘पोहोर ६ महिनासम्म बन्द हुँदा परिवार पाल्न ८० हजार ऋण लिनु परेको थियो,’ उनले भने, ‘ऋण त तिर्न सकिनँ यस वर्ष फेरि त्यस्तै हुन लागेको देख्दा मेरो शरीर काम्न थालेको छ।’

उनको गुजारा चलाउने माध्यम नै व्यापार हो। त्यो पनि ठप्प भए ऋण तिर्न जम्मा गरेको पैसा खाएर सकिन्छ।

‘यसपटक समेत ऋण लिनुको विकल्प छैन मसँग,’ उनले भने।

पछिल्लो वर्षको निषेधाज्ञाका कारण आफूजस्तै व्यापार गरेर गुजारा चलाउनेको अवस्था यस वर्षसमेत हुने भएपछि कासिमलाई कोरोना संक्रमण रोक्न निषेधाज्ञामात्रै विकल्प होजस्तो लाग्दैन।

‘भीडभाड नियन्त्रण तथा सरसफाइमा ध्यान दिएर बजार खोलेको भए फुटपाथमा व्यवसाय गर्नेलाई भार पर्दैनथ्यो,’ कासिमले भने, ‘हाम्रा छोराछोरीले भोको पेट दिन कटाउने बाध्यता पनि रहँदैनथ्यो।’

कासिमजस्तै जानकी मन्दिरको प्राङ्गणमै जनकपुरधाम उपमहानगरपालिका- ५ का वीरेन्द्र भण्डारी पनि फुटपाथमा फूलमाला बेच्छन्।

सरकारले मन्दिरमा पनि भीडभाड हुने भएकाले बन्द गर्न भनेपछि भण्डारीको अवस्था कासिमको जस्तै भएको छ। 

कामका लागि मलेसियासम्म गएका भण्डारीलाई गएको वर्ष कोरोना संक्रमणको त्रासकै कारण सम्झौता पूरा नहुँदै कम्पनीले फर्काइदिएको थियो।

उनले मलेसियाबाट कमाएर ल्याउन सकेका थिएनन्। परिवारले बिहान-बेलुका सजिलै हातमुख जोड्न सकून् भनेर फर्केर आएपछि उनले पुर्ख्यौली पेशा फूलमालाको व्यापार थाले।

सन् २०२० जनवरी महिनामा घर फर्केका भण्डारीले वैदेशिक रोजगारीमा जाने क्रममा लिएका ऋणको ५० हजार रुपैयाँलाई बुझाउन अझ पनि बाँकी नै छ।

फूलमाला बेचेर ४ जनाको परिवार चलाउँदै आइरहेका भण्डारीका लागि निषेधाज्ञापछि आम्दानीको सबै स्रोत नै बन्द भएको छ। उनलाई पनि परिवार पाल्न फेरि ऋण लिनु पर्ने चिन्ताले सताइरहेको छ।

‘ऋण नलिएपछि त परिवार चलाउने अर्को विकल्प छैन,’ भण्डारीले भने, ‘लकडाउन सकिएपछि ती दुबै ऋण तिर्छु।’

निषेधाज्ञापहिले वीरेन्द्र फूलमाला बेचेर दिनको १५ सयसम्म कमाउँथे। निषेधाज्ञापछि बाँकी रहेका फूल अब फाल्नुपर्ने भएको छ।

‘अहिले विवाहको सिजनसमेत छ, कमाइ हुने बेला थियो तर सबै चौपट भयो,’ उनले भने।

व्यापार जे भए पनि सरकारले लगाएको निषेधाज्ञाको पूर्ण पालना गर्ने उनी बताउँछन्।

‘कोरोनाभाइरसको संक्रमण रोक्न स्थानीय प्रशासनले निषेधाज्ञा लगाएको छ, हामीले यसको सामना केही दिन पीडा सहेर पनि गर्नैपर्छ,’ उनले भने, ‘मलेसियामा रहँदा कोरोना संक्रमणको भय, कोरोनाको पीडा नजिकबाट मैले हेरेको छु, त्यसैले म सरकारले लगाएका सबै नियमको पालना गर्छु।’

आफूजसरी सानोतिनो व्यापार गरेर परिवार चलाउनेलाई सरकारले सहयोग गरेको भए हुन्थ्यो भन्ने उनको अपेक्षा छ।

निषेधाज्ञाले खाना नपाई भोकै ज्यान गुमाउनुपर्ने अवस्था आउन सक्नेतर्फ सचेत भई निर्णय गर्नुपर्ने भण्डारी बताउँछन्।

जनकपुरधामकै रविकुमार साह लड्डु, पेडालगायत मिठाइ बेच्छन्। उनको यो व्यवसाय पहिले जानकी मन्दिरको प्राङ्गणभित्रै थियो। त्यहाँबाट हटाएपछि उनको पसल ठेलामा छ। 

रविका अनुसार उनको पुर्खाले नै यो व्यवसाय गर्दै आएका हुन्। उनको परिवारले जनकपुरमा लड्डु-पेडाको व्यापार गरेको ५० वर्ष भइसक्यो। 

‘बाजेले यो व्यापार सुरू गरेर जानुभयो। पछि बुवा र दाइले पनि यही काम गर्नुभयो,’ रविले भने, ‘जनकपुरमा हाम्रो पसलबारे सायदै कसैलाई थाहा नहोला।’

पुस्तौंदेखि चलेको पसलबाट दैनिक ३ हजारसम्म कमाइ हुन्थ्यो। कोरोना संक्रमणको दोस्रो लहर आएसँगै उनको व्यवसायबाट हुने आम्दानीको २५ प्रतिशतमा झरिसकेको छ।

‘लकडाउन नलागे पनि हाम्रो स्थिति नाजुक नै थियो अब लकडाउन लागेपछि फेरि पोहोरजस्तै हुने भयो,’ उनले भने, ‘हामीजस्ता साना व्यापारी त कोरोनाभन्दा लकडाउनबाट मर्छौंजस्तो लाग्छ।’

गत वर्ष लकडाउन हुँदा राहतको नाममा १० किलो चामल, १ किलो दाल, नुन बाँडेर सरकारले जनताप्रतिको भार टार्ने काममात्रै गरेको रवि बताउँछन्।

‘९ जनाको परिवारले १० किलो चामल र १ किलो दाल कतिसम्म आफ्नो पेट भर्ला नि,’ रविले भने, ‘हाम्रा लागि नाम मात्रका ३ तहका सरकार छन्, काम त उनीहरूले आफ्ना लागि पो गरिरहेका छन्।’


Spread the love