रोल्पाको जंगलमा भेटिए २५ म्याग्जिन र ९ सय ७० राउन्ड गोली

Spread the love

रोल्पाको जंगलमा  नौ सय ७० राउन्ड गोली फेला परेको छ।

जिल्लाको त्रिवेणी गाउँपालिका वडा नम्बर २ रामपुर गाउँ नजिकैको एक सामुदायिक वनको बाँस घारीमा प्लाष्टिकले बेरी राखेको अवस्थामा ती गोली फेला परेका हुन्।

जिल्ला प्रहरी प्रमुख डिएसपी नरेशराज सुवेदीले एसएमजीमा प्रयोग हुने म्याग्जिन २३ थान, एम १६ को म्याग्जिन १ थान, एलएमजी म्याग्जिन १ थान गरी २५ थान म्याग्जिन बरामद भएको सेतोपाटीलाई बताए।

त्यस्तै एके ४७ मा प्रयोग हुने  गोली ७ सय ५२ थान, ७.६२ मिमि हतियारको गोली २ सय ८ थान र ९ एमएमको गोली १० राउन्ड गरी ९ सय ७० राउन्ड गोली बरामद भएको डिएसपी सुवेदीले बताए।

‘बाँसघारीमा बाँसको पातले छोपेर लुकाएर राखेको अवस्थामा शनिबार बेलुका ती गोली भेटिएका हुन,’ डिएसपी सुवेदीले भने, ‘गोली केही समय पहिलामात्रै  त्यहाँ राखेको हुनुपर्छ। सबै गोली र म्याग्जिन प्रयोग गर्न योग्य छन्।’

स्थानीयको सुराकीको आधारमा प्रहरी त्यहाँ पुगेर हेर्दा ठूलो मात्रामा गोली बरामद भएको र गोली बरामद भएको क्षेत्रमा थप हुन सक्ने आशंकामा खोजी भइरहेको डिएसपी सुवेदीले जानकारी दिए।

केही समयअघि त्रिवेणी रामपुर गाउँ क्षेत्र र आसपासको जंगलामा ठूलो आगजनी भएको हुँदा घरभित्र लुकाएर राखिएका गोली सुरक्षाको लागि जंगल र बाँस घारीमा लुकाएर राखिएको हुन सक्ने सुवेदीले बताए।

उक्त क्षेत्रमा नेपाली सेनाको बटुक दल गणको दहवनस्थित गुल्मको टोलीले थप खोज तथा अनुसन्धान जारी राखेको डिएसपी सुवेदीले बताए।

गत वर्षमात्रै त्रिवेणी गाउँपालिका-७ मा बेवारिसे  बम विष्फोट हुँदा बाख्रा गोठाला गएका  ४ बालकको मृत्यु भएको थियो।

त्यस्तै गत साल असोजमा पनि नेपाली सेनाले रोल्पाको जंगलमा लुकाएर राखेको अवस्थामा ठूलो परिमाणमा हात हतियार फेला पारेको थियो।


Spread the love