रविको म्याद थपियो, अस्मिताको बहस गर्न कोही तयार भएनन्

Spread the love

भरतपुर । पत्रकार शालिकराम पुडासैनी मृत्यु घटनाका आरोपितहरु पत्रकार रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीलाई थप ५ दिन हिरासतमा राख्न अनुमति चितवन अदालतले दिएको छ ।

मंगलबार म्याद थपका लागि भएको बहसमा सरकारी वकिलका तर्फबाट जिल्ला न्यायाधिवक्ता यदुनाथ शर्माले आधार र कारण खुलाई थप १० दिनको समय माग गरेकोमा जिल्ला अदालत चितवनले पाँच दिनको समय दिएको हो । अनुसन्धान नसकिएकाले थप समय माग भएअनुसार पाँच दिन पुनः थप भएको जिल्ला सरकारी वकिल कार्यालयका सहायक न्यायाधिवक्ता प्रकाश थापाले जानकारी दिए ।

यसअघि गत साउन ३० गतेबाट लागू हुने गरी पहिलोपटक पाँच दिनको म्याद थप भएकोमा भदौ २ गते म्याद सकिएपछि हिजो ३ गते पुनः म्याद थपका लागि अदालतमा पेश भएको थियो ।

प्रतिवादी रवि र युवराजका तर्फबाट पूर्वमहान्यायाधिवक्ता सुशील पन्त, वरिष्ठ अधिवक्ता सुनिल पोखरेल र चितवन अदालत बार एसोसिएसनका पूर्वअध्यक्ष चूडामणि सापकोटाले बहस गरेका थिए । बहसका क्रममा ती अधिवक्ताहरुले प्रहरीसँग मात्रै भएको भनिएको भिडियो कसरी मिडियामा गयो भनी छानबिनका लागि माग गरेका थिए । दिउँसो २ बजेर २० मिनेट जाँदा सुरू भएको म्याद थप बहस ४ बजेर ३० मिनेटमा सकिएको थियो । म्याद थपकै बहसमा एक–एक घन्टा लामो बहस पन्त र पोखरेलले गरेका थिए ।

अस्मिताको कोही भएनन्

यस घटनाकी एक आरोपित अस्मिता कार्कीको बहसका लागि कुनै पनि अधिवक्ता तयार भएनन् ।

रवि र युवराजको पक्षमा पूर्वमहान्यायाधिवक्ता र वरिष्ठ अधिवक्ताले वकालत गरे पनि अस्मिताको पक्षमा कोही पनि नबोलेको अदालतले जनाएको छ ।

आरोपित रवि लामिछानेसँग झन्डै पाँच घन्टा बयान लिइएको छ । सोमबार र मंगलबार गरी पाँच घन्टा बयान लिइएको हो ।
रविका पक्षमा म्याद थपका लागि पहिलो दिन अदालत लैजाने क्रममा सयौँ समर्थक रहे पनि दोस्रोपटकको म्याद थपमा भने निकै कम समर्थक आएका छन् ।

झुन्डिएर आत्महत्या

मृतक पुडासैनीको पोस्ट मार्टम रिपोर्टमा झुन्डिएर आत्महत्या गरेको भनी उल्लेख छ । उनको आत्महत्या नभई हत्या भनी आममानिसमाझ बहस भइरहँदा रिपोर्ट भने आत्महत्या नै भनी सार्वजनिक भएको छ ।

पोस्ट मार्टम रिपोर्टसँगै मृत्युअघि रेकर्ड गरिएको भिडियो फरेन्सिक ल्याब परीक्षणबाट मृतक शालिकरामकै आवाज भएको पुष्टि भएको छ ।

प्राप्त प्रमाणहरुलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले अध्ययन अनुसन्धान गरिरहेको छ । पुडासैनीकी श्रीमतीले भदौ १ गते आइतबार प्रहरी परिसर टेकुमा किटानी जाहेरी दिएका छन् ।


Spread the love