मोटरसाइकल चोर्ने, आफ्नै ग्यारेजमा लैजाने र पार्टपूर्जा खोलेर बिक्री गर्ने गिरोहका तीन जना पक्राउ परे

Spread the love

पर्सा प्रहरीले मोटरसाइकल चोरीमा संलग्न गिरोहलाई पक्राउ गरेको छ।

शृंखलावद्ध रूपमा मोटरसाइकल हराउन थालेपछि अनुसन्धानमा जुटेको प्रहरीले तीन जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा किशोर पनि छन्। प्रहरीका अनुसार पक्राउ पर्नेमा पर्सा वीरगञ्ज महानगरपालिका-१८ का २१ वर्षीय साहेव साह, सोही ठाउँका २६ वर्षीय अवधेशप्रसाद पटेल र १५ वर्षीय किशोर छन्। नाबालिग रहेकोले ती किशोरको नाम सार्वजनिक गरिएको छैन।

सोमबार प्रहरी टोलीले वडा नम्बर २२ को जगरनाथपुरस्थित ग्यारेजबाट १२ वटा मोटरसाइकल बरामद गरेको थियो। त्यो अवधेशप्रसाद पटेलले सञ्चालन गर्ने ग्यारेज हो।

पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालका अनुसार चोरी गरी पटेलले आफ्नो ग्यारेजमा लगेर पार्टपूर्जा खोलेर बेच्ने गर्थे।

पछिल्लो समय असार ४ गते एउटा बिहेको पार्किङस्थलबाट ना६२प ९७१७ नम्बरको मोटरसाइकल हराएको थियो। त्यो मोटरसाइकल हराएपछि प्रहरीले अनुसन्धान थालेको थियो।

‘उनको ग्यारेजबाट प्रहरीले पार्टपूर्जा खोलेर राखेका अन्य ११ वटा चोरीका मोटरसाइकल बरामद गरेको छ,’ खनालले भने।

पटेलसहित पक्राउ पर्ने अरू दुई जना उनकै ग्यारेजमा कार्यरत् थिए। उनीहरू सबैलाई चोरी मुद्दामा थुनामा राखी अनुसन्धान थालिएको खनालले बताए।


Spread the love