मेलम्ची, याङ्ग्री र लार्केको पानी पिउने काठमाडौंको सपना– अब कहिले होला पूरा?

Spread the love

अविरल वर्षाले असार १ गते मेलम्चीको सिरान क्षेत्रमा पर्ने भेमथाङमा पहिरो गयो। त्यसपछि आएका विनाशकारी बाढीका तस्बिर तथा भिडिओ हाम्रा मोबाइल स्क्रिन र समाचारहरूमा छाइरहेकै छन्।

बर्खा अझै बाँकी रहेकाले मेलम्ची र तल्लो तटीय क्षेत्रमा बस्नेहरूको त्रास हटिसकेको छैन। लाङटाङका हिमाली चुचुरादेखि दक्षिणतिर बसेको हेलम्बुका गाउँ-बस्तीमा भेमथाङको जस्तै अर्को पहिरो जाला कि भन्ने त्रास जीवितै छ।

त्यस्तै त्रास मेलम्चीभन्दा पूर्वबाट बग्ने याङ्ग्री र लार्के नदी किनारमा पनि व्याप्त छ। ती नदी इन्द्रवतीमा मिसिन्छन्।

इन्द्रावतीदेखि अझै पारि पर्ने पाँचपोखरी थाङपाल गाउँपालिका-३ का अध्यक्ष निमाछिरिङ तामाङका अनुसार असार १ गते याङ्ग्री र लार्केमा पनि भीषण बाढी आएका थिए। यसले याङ्ग्री गाउँका ७ घरसँगै एक नवनिर्मित विद्यालय भवन पनि क्षतिग्रस्त भए।

‘कम्तीमा एक जनाको मृत्यु भयो भने अहिले ४०-५० घरधुरी रहेको याङ्ग्री गाउँलाई नै सार्नुपर्ने अवस्था छ,’ तामाङले भने, ‘बिजुली र इन्टरनेट नभएर गाउँ अन्धकारजस्तै हुन पुगेको छ। बाहिरी दुनियाँसँग सम्पर्क टुटेको छ। मोटर चल्ने पुल बगाएपछि घुमाउरो बाटो भएर गाउँ आउनुपर्ने अवस्था छ। याङ्ग्री गाउँवासीले अहिले ठूलो विपद् भोगिरहेका छन्।’

मेलम्ची बजार काठमाडौंदेखि ४० किलोमिटर उत्तरपूर्वमा पर्छ। त्यहाँबाट मेलम्ची मुहान धेरै टाढा छैन तर याङ्ग्री गाउँ करिब ३० किलोमिटर टाढा पर्छ। याङ्ग्री र लार्के तिनै नदी हुन् जसको पानी भविष्यमा नयाँ-नयाँ सुरुङ बनाएर मेलम्चीको मुहानमा मिसाउने सरकारको योजना छ।

मेलम्ची र इन्द्रावती उपत्यका। तस्बिर सौजन्य: गुगल अर्थ
असार १ गते भेमथाङमा गएको पहिरो। तस्बिर सौजन्य: रविनराज निरौलाको ट्विटर

भूकम्पपछिको बज्रपात

एक्कासि आएको बाढीले आफ्ना घर क्षतविक्षत तुल्याइदिएको र आफू जीवन रक्षानिम्ति भाग्नुपरेको भोगाइ मेलम्चीवासीले सायद कहिल्यै बिर्सन सक्ने छैनन्।

त्यो साँझ मेलम्ची र इन्द्रावतीमा मिसिने याङ्ग्री र लार्के नदीको बाढीले सिन्धुपाल्चोकवासीलाई गहिरो चिन्ता र सकसमा पारिदिएको छ। २०७२ को भूकम्पले दिएको पीडा बिर्सिनै लागेका सिन्धुवासी अहिले अर्को बज्रपात सहन बाध्य छन्।

पुलहरू बगाएर मेलम्ची मुहान र काठमाडौंबीच सम्पर्क विच्छेद भएपछि हेलम्बु सेर्माथाङ बस्ने मेरो पुरानो चिनजानका दाइ कान्छा (ह्योल्मो) लामा र उनकी श्रीमती म्हेन्दो लामा पनि निकै चिन्तामा परेका छन्।

मंगलबार साँझ टेलिफोन कुराकानीमा कान्छा लामाले भने, ‘हामीलाई औषधोपचारका लागि काठमाडौं आइरहनुपर्छ। मेलम्ची बजारदेखि माथिको बाटो र पुल बाढीले बगाइदिएपछि काठमाडौं ओहोरदोहोर कसरी गर्ने भन्ने पीर परेको छ।’ 


Spread the love