बिरामी बोकेको जिप अरुण नदीमा खस्यो, कम्तीमा ६ बेपत्ता

Spread the love

संखुवासभा — संखुवासभाको सदरमुकाम खाँदबारीबाट बिरामी बोकेर धरान जाँदै गरेको जिप दुर्घटना हुँदा कम्तीमा ६ जना बेपत्ता भएका छन् । दुर्घटनामा एकै परिवारका ३ जना छन् । 

धर्मदेवी नगरपालिका ८ मा पर्ने अक्करको भीरबाट को १ ज ३७४९ नम्बरको गाडी अरुण नदीमा खसेको हो। जिप मंगलबार राति साढे १० बजे सीधै अरुण नदीमा खसेर बेपत्ता भएको हो।
जिल्ला प्रहरी कार्यालय संखुवासभाका डीएसपी मीमबहादुर लामाका अनुसार जिप खस्दा खाँदबारी ९ का २ महिने बालक समिर श्रेष्ठ, उनका बुबा संगम श्रेष्ठ, आमा सदीक्षा श्रेष्ठ बेपत्ता छन्। त्यस्तै प्रमिस थापामगर, खवरमान मगर र चालक सन्तोष विक बेपत्ता छन्।
जिप अरुणमा खसेपछि खाँदबारीबाट राति नै प्रहरीको टोली परिचालित भएको थियो। केही दिनदेखिको वर्षाले उर्लिएको अरुणमा जिप पुरै डुबेकाले उद्धारमा समस्या भएको डिएसपी मिम लामाले जानकारी दिए। लामाका अनुसार कच्चीबाट छिचोल्दै घटनास्थलमा पुग्नु पर्छ।
घटनास्थलमा संखुवासभाका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षाकर्मी पुगिसकेका छन्।प्रकाशित : आश्विन १, २०७६ ०९:०२


Spread the love