प्लस टु सकियो अब जोसिएर अस्ट्रेलीया गई हाल्ने कि ठण्डा दिमागले सोचेर निर्णय गर्ने

Spread the love

कति खेर बार्ह सकिएला र सपनाको देश अस्ट्रेलीया जाउँला भनेर धेरै भाईबहिनीहरु कुरेर बसेका होलान्। आजदेखी कन्सल्ट्यान्सीमा लाईन लाग्ने छ। कन्सल्ट्यान्सीलाई पनि आफ्नो खुराक बेच्न भ्याई नभ्याई हुन्छ। कसरी हुन्छ दुहुनो गाईलाई यतिखेर राम्रोसँग दाना पानी दिन पाईयो भने त भोली केही वर्ष सम्म मस्तसँग दुहेर खान पाईने भो भनेर बढो चिल्ला मिठा र गुलीया सपनाको पोको बाढ्नेछन्। अनि बिधार्थीहरु पनि त्यहि चिल्ला मिठा र गुलीया सपनामा फस्ल्याङफुस्लुङ फस्नेछन्। 

गफ सँधै मिठा हुन्छन् तर ईन्टर्नेटको दुनीयाँमा कम्सेकम आफु जाने मनस्थिती भएपछि आफु कहाँ जाने, त्यहाँको पढाई कस्तो छ, के पढ्न जाने, फि कति लाग्दो रहेछ, कुन स्टेटमा जाँदा राम्रो होला। ईमिग्रेसनका अपडेटेड निती नियमहरु के कस्तो रहेछ भनेर आफैले बुझ्न सकिन्छ। 

पछिल्ला समय गएका कोही दाई दिदीहरु छन् भने उनीहरुको भोगाई कस्तो छ। उनीहरुले कस्तो सल्लाह र सुझाब दिन्छन् एकचोटी बुझ्न पनि जरुरी छ। बेच्ने पसलेले बिग्रेको, सडेको, डेट एक्सपाएर भएको भन्दैन है बिशेष गरेर नेपालमा। हो त्यसतै हो कन्सल्ट्यान्सीका लागी हामी बिधार्थी। उनीहरुले जे पनि यति सजिलो गरि भन्छन् कि असम्भव भन्ने कुरा उनीहरुको डिक्सनेरीमै हुँदैन।तपाईको ब्रेन वास गर्दिन्छन् कि मानौ पिआर त गोजीबाट दिईन्छ। 

आईएलटिसमा कनीकुथी पाँच आयो, लौ पिरनै नगर्नु होस्। ईङ्गलिस कोर्ष र सर्टिफिकेट ३ र ४ हालदिन्छु। भिषा लागि हाल्छ। गए पछि तपाईका बाटाहरु प्रसस्तै हुन्छन्। तपाई हामी पनि केही सोच्दैनौ। जान पाए भयो। गएर ड्याङ ड्याङी काम हान्ने हो। हो हाम्रो मानसिकतानै काम र पैसा हुन्छ। तर भोली आई पर्ने समस्याहरु सोच्दैनौ। कसरी पिआर लिन सकिन्छ, कुन बिषय पढ्दा ठिक हुन्छ सोच्दैनौ। अनि पछि चोर कन्सल्ट्यान्सीले फसायो भनेर उनैलाई दोष दिन्छौ। 

अबका दिनमा पाँच मात्रै वा छ मात्रै आईएलटिएसमा आउँछ भने पढेर पिआर पाउँछु भन्ने सोच लिएर नआउँदा हुन्छ। बोरु नेपालमै यहाँ भन्दा स्तरीय पढाई हुन्छ। बोरु यता आउने पैसा नेपालमै लगानी गरियो भने मज्जाले नेपालमै कमाईन्छ। मात्र चाहियो धैर्य र दृढसङ्कल्प।

अस्ट्रेलीया अमेरिका भन्ने बितिकै पैसो रुखमा टिपीदैन। यहाँ पनि मुख पलेटी परिन्जेल कामनै गर्नु पर्छ। काम मात्रै गरेर पुग्दैन। सबै ब्यवहार मिलाउनु पर्छ। काम पढाईलाई एकैसाथ लैजान पर्छ। फि तोकिएको समयमा बुझाउनै पर्छ। आँखा झिमीक्क हप्ता गायब हुन्छ। महिना बितेको पत्तै पाईदैन। आफ्नो अभिवावकको पुरै पढाईको पैसा ठेल्ने क्षमता छैन भने पनि बढो सकस हुन सक्छ पढाई सक्न। काम गरेर फि तिर्छु भन्ने सोच छ भने धेरै गार्हो पक्कै हुन्छ। 

म साँच्चै पढ्न जान्छु। नाम चलेका युनिभर्सिटीमा पढ्छु र मसँग युनीभर्सिटीको फि तिर्न सक्ने क्षमता छ भने तपाईको अस्ट्रेलीयाको बसाई एकदम रमाईलो हुन्छ र आउनु होस् पनि। तर जसोतसो दशठाउँबाट ऋण लिएर बैकमा घरखेत राखेर चर्को ब्याजमा पैसा लिएर अनि गएपछि मस्त काम गर्ने हो, पैसो छाप्ने हो र छिट्टै ऋण चुक्ता गर्ने सोच लिएर आउने हो भने बोरु नआउनुहोस्। तपाईले सोचे जस्तो सजिलो पक्कै छैन अस्ट्रेलीया।

नोट: सवै परामर्षदाताहरुलाई त्यस्तो नराम्रो भनेर मुछ्न खोजिएको हैन। केही राम्रा पनि छन् तर सकेसम्म अस्ट्रेलीयाको दुबै सकारत्मक र नकारत्मक पाटो बुझाई दिए भोलीका दिनमा फेरी कसैले सपना ठुलो राख्दै गर्दा, मनगण्न्ते कुराको पछि दगुर्दै गर्दा आत्माहत्या गर्ने स्थिती नआवोस्। कसैले अकालमा मृत्यलाई अङ्गाल्न नपरोस्। 

Manoj Poudyal

Neplay Events coordinator


Spread the love