प्रदेश प्रमुखलाई मुख्यमन्त्री कार्यालयमै बोलाएर शंकर पोखरेलले लिए मुख्यमन्त्रीको शपथ

Spread the love

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पाेखरेलले पद तथा गाेपनियताकाे सपथ लिएका छन्।

आइतबार दाेस्रो पटक मुख्यमन्त्री नियुक्त भएका एमाले संसदीय दलका नेता शंकर पाेखरेललाई प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादवले पद तथा गाेपनियताकाे सपथ गराएका हुन्। 

प्रदेश प्रमुखको कार्यालयमा विपक्षी दलका सांसदहरुले घेराउ गरेपछि प्रदेश प्रमुखलाई नै मुख्यमन्त्रीको कार्यालयमा लगेर शपथ गराइएको हो।

विपक्षी गठबन्धनका कार्यकर्ताले बाहिर नाराबाजी गरे पनि पोखरेलले नाराबाजीकैबीच सपथग्रहण लिएका हुन्।

आजै आर्थिक तथा योजना मन्त्रीमा बैजनाथ चौधरी र  स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा हरि रिजाललाई पद तथा गोपनियताको सपथ दिलाए।

यस्तै जसपाका सन्तोष पाण्डे र विजय यादवले पनि पूर्ववत पदमै सपथ लिएका छन्।पाण्डे भौतिक पुर्वाधार विकास र यादव भूमी व्यवस्था तथा कृषि मन्त्रीको रूपमा सपथ लिए।  कल्पना पाण्डे र सुमन शर्मा रायमाझी उपस्थित नभएकोले भोलि सपथ गराईने मुख्य मन्त्रीको सचिवालयले जनाएको छ।

सरकारको मुख्यमन्त्री रहेका पोखरेलले यसअघि आजै संविधानको धारा १६८ (२) अन्तर्गत गठन भएको सरकार विघटन गरि धारा १६८ (१) अन्तर्गत एमालेको एकल सरकार गठन गर्ने भन्दै विहान राजीनामा दिएका थिए।

मुख्यमन्त्रीको राजीनामा पछि लुम्बिनीको राजनीतिक जोडघटाउ छिनछिनमै फेरिएको छ। हाल कायम रहेको ८१ जना प्रदेशसभा सदस्य मध्ये ४१ जनाको हस्ताक्षरसहित प्रदेश प्रमुख समक्ष शंकर पोखरेलले पुनः मुख्यमन्त्रीको दाबी पेश गरेलगत्तै माओवादी केन्द्र र नेपाली कांग्रेसले कुलप्रसाद केसीलाई मुख्यमन्त्रीमा प्रस्ताव गर्दै ४२ जनाको हस्ताक्षर प्रदेश प्रमुख समक्ष पेश गरेका थिए।

तर प्रदेश प्रमुख यादवले यसअघि नै ४१ जनाकाे हस्ताक्षर पेस गरेका एमाले संसदीय दलका नेता शंकर पाेखरेललाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।

पोखरेल अल्पमतमा परेर पनि सत्ताको दुरुपयोग गर्दै पुनः नियुक्ति लिएको भन्दै बहुमत सदस्य आन्दोलनमा छन्।


Spread the love