दुईपटक हेलिकप्टर गयो, ५ लाख रुपैयाँ सकियो तैपनि ल्याउन सकिएन सुरेन्द्रको शव

Spread the love

वन लसुन (हिमाली भेगमा पाइने जडिबुटी) टिप्न जाँदा भिरबाट लडेर बेपत्ता भएका गोरखाको सिर्दिवास पाङसिङका २४ वर्षीय सुरेन्द्र गुरूङको शव पाँच दिनदेखि अलपत्र छ।

बाबु र भाइसँगै वन लसुन टिप्न डेढ दिन हिँडेर रूवीनाला कटेर अजिरकोट,बारपाक-सुलिकोट र सिर्दिवासको सीमानास्थित लेक पुगेका गुरूङ चिप्लेर लडेपछि बेपत्ता थिए।

बाबु र भाइले केहीबेर खोजे तर उनलाई भेटेनन्। यो घटना गत शनिबार अपरान्ह ३ बजेतिरको हो।

भिरबाट लडेका सुरेन्द्र नभेटिएपछि बाबु र भाइले गाउँमा फोन गरेर गुहार मागे- छोरा भिरबाट लड्यो, हेलिकप्टर बोलाइदेऊ। त्यसदिन पानी परिरहेको र ढिला खबर आएकोले हेलिकप्टर जान सकेन।

भोलिपल्ट सोमबार काठमाडौंबाट घटनास्थलमा हेलिकप्टर पठाइएको थियो। पानी परिरहेको र कुहिरो लागेकोले हेलिकप्टर घटनास्थल नजिक ल्याण्ड गर्न सकेन। बाबु र भाइले खोजिरहे तर उनलाई भेटेनन्।

‘उद्धार गर्न त्यसदिन सिम्रिक एअरको हेलिकप्टर पठाइएको थियो,’ काठमाडौंबाट हेलिकप्टर पठाउन सहजीकरण गरेका सिर्दिवासका वीरबल घलेले सेतोपाटीसँग भने, ‘त्यसदिन खोजी र उद्धार गर्न सकिएन। दुई लाख ४० हजार हेलिकप्टर भाडा त्यसै खेर गयो।’

उनीहरू घरखर्च चलाउन सजिलो हुन्छ भनेर वन लसुन टिप्न गएका थिए।

‘उनीहरू गरिब परिवारका हुन्। अलिकति घरखर्च होला भनेर वन लसुन टिप्न गएका थिए। घरखेत बेचेर पनि छोराको शव घर ल्याउँछु भनेर बाबुले हेलिकप्टर बोलाए,’ उनले भने, ‘पहिलो दिनको खर्च परिवारले नै ऋणधन गरेर जुटाएको हो।’

यसबीचमा लाप्राकबाट ११ जना युवालाई सुरेन्द्रको खोजी गर्न पठाइएको थियो।

‘हिमाल चढ्ने काम गरिरहेका ११ जना शेर्पालाई नै सुरेन्द्रको खोजी गर्न पठाइएको थियो। लडेको ठाउँबाट निकै तल कोप्चेरोमा सुरेन्द्रको शव फेला पर्‍यो,’ उनले भने।

शव फेला परेको खबरपछि बुधबार फेरि हेलिकप्टर मगाइयो तर हेलिकप्टर पठाउने पैसा भएन।

‘हामीले चुमनुब्री समाजबाट चन्दा उठाएर एअर डाइनेष्टीको हेलिकप्टर पठायौं,’ उनले भने, ‘युवाहरूले शव पहरा/खोंचबाट निकालेर केही माथिसम्म लगेका छन्। मौसम सफा हुन्छ र हेलिकप्टर अवतरण गर्न सकिन्छ भन्ने अनुमान थियो तर हेलिकप्टर अवतरण नै हुन सकेन।’

उनकाअनुसार शव भएको ठाउँमा हेलिकप्टर बुधबार पनि अवतरण हुन सकेन। ‘शव ल्याउन त सकिएन तर बाबु र कान्छा छोरालाई सिर्दिवास ल्याइयो,’ उनले भने, ‘शव उतै अलपत्र छ।’

शव खोज्न गएका लाप्राकका युवा गाउँ फर्कंदैछन्।

‘सुरेन्द्रको खोजी र उद्धारका लागि पुगेका युवाहरू उतै बस्न सकेनन्। बस्न ओडार पनि छैन, भोकभोकै परे। लगेका खानेकुरा पनि पकाएर खान पाएन छन्। भिरमा बोकेर हिँड्न गाह्रो भएपछि भाँडाकुँडा पनि त्यतै फालेर फर्किएका छन् रे,’ उनले भने।

शव ल्याउन नसके पनि बुधबार हेलिकप्टरलाई थप दुई लाखभन्दा बढी भाडा तिर्नुपर्‍यो। अब हेलिकप्टर पठाउन पैसा पनि नभएको उनी बताउँछन्।

‘हामीले चन्दा उठाएर हेलिकप्टर पठाएका थियौं तर शव ल्याउन सकिएन,’ उनले भने, ‘फेरि हेलिकप्टर पठाउन पैसा छैन। पहिले हेलिकप्टर पठाएकै पैसा तिर्न बाँकी छ।’

शव बोकेर सिर्दिवास ल्याउन तीन दिन लाग्छ।

‘हिमाल चढ्ने शेर्पाहरूले त शव बोकेर ल्याउन सकेनन् भने गाउँलेहरूले झन् भिरैभिरको बाटो कसरी ल्याउने?,’ उनले भने, ‘अब परिवारका सदस्य र गाउँलेहरू गएर उतै अन्तिम संस्कार गरेर आउने कि भन्ने कुरा भइरहेको छ।’

सिर्दिवासमा नेपाल टेलिकमको मोबाइल नेटवर्कमा गत सातादेखि समस्या देखिएको छ अझै मर्मत भइसकेको छैन।

‘कहिलेकाहीँ मात्र गाउँपालिका भवनमा इन्टरनेट चल्छ त्यही बेला गाउँको खबर सोध्ने हो,’ उनले भने, ‘अन्तिम संस्कार गर्न अब गाउँलेहरू जालान्।’

शव भएको ठाउँमा पुग्न सिर्दिवासबाट डेढ दिन लाग्ने उनले बताए। ‘बिहानै हिँड्यो भने एउटा ओडारमा बास बस्न पुगिन्छ अनि अर्कोदिन बिहान शव भएको ठाउँमा पुगिन्छ,’ उनले भने।

वन लसुनको बजार चीन हो। अहिले नाका वन्द छ। भारतीय बजार हुँदै चीनमा वन लसुन बिक्री गरिँदै आइएको छ।

‘नाका वन्द भएका बेला पनि गाउँलेहरू वन लसुन टिप्न गएछन् सायद घरखर्च होला भनेर हुनुपर्छ,’ उनले भने।


Spread the love