चितवनमा बढ्दै डेङ्गु संक्रमण, ५७ दिनमा १५८५ संक्रमित

Spread the love

भरतपुर । डेङ्गुले देशभर नै महामारीको रुप लिइरहेको छ । यस आर्थिक वर्षको साउनमा धरानबाट फैलिएको डेङ्गुले ६१ जिल्ला प्रभावित पारेको स्वास्थ्य विभागले जनाएको छ । हिमाली जिल्ला मनाङमा समेत डेङ्गुले प्रभाव पारेको छ । काठमाडौँका तीन उपत्यकामध्ये सबैभन्दा बढी प्रभावित भक्तपुर छ ।

विभागका अनुसार डेङ्गुबाट बढी प्रभावित जिल्लामध्ये चितवन पनि एक हो । यहाँ डेङ्गु र स्क्रव टाइफस गरी साउनयता चार जनाको मृत्यु भइसकेको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार डेङ्गुबाट एक जना, डेङ्गु र स्क्रव टाइफस दुवैबाट एक जना र स्क्रव टाइफसबाट दुई जनाको मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालयका कीट नियन्त्रक निरीक्षक राम केसीले चितवन जिल्लटामा साउन एक गतेदेखि भदौ २४ गतेसम्म ५६ दिनमा डेङ्गुबाट एक हजार ४६० जना संक्रमित भएको जानकारी दिए । उनले भने, ‘एक हप्ताअघि एक हजार ३६ जना संक्रमित थिए, डेङ्गु संक्रमितको संख्या दिनानुदिन बढिरहेको छ ।’

चितवनका विभिन्न अस्पतालहरुमा चार हजार ४४५ जनामा डेङ्गु परीक्षण गर्दा एक हजार ५८५ जना संक्रमित फेला परेका निरीक्षक केसीले चितवन पोष्टलाई बताए । उनले भने, ‘चितवनका विभिन्न अस्पतालका रिपोर्टअनुसार संख्या बढिरहेको देखिन्छ, संख्या अझै बढ्ने आँकलन गरिएको छ ।’ उनका अनुसार हप्तैपिच्छे अस्पतालबाट डेङ्गुको उपचारको रिपोर्ट मागिएको छ ।

स्वास्थ्य कार्यालय चितवनले डेङ्गुको उक्त संख्यालाई हालसम्मकै उच्च मानेको छ । कार्यालयको रिपोर्टअनुसार यसअघि चितवनमा सबैभन्दा बढी २०१० मा डेङ्गुबाट संक्रमित थिए । २०१० चितवनमा ७३९ जना डेङ्गु संक्रमित थिए, अहिले ५६ दिनमै उक्त संख्याको दोब्बरजस्तै भयो ।

२०७३/७४ मा चितवनमा डेङ्गुबाट संक्रमित हुनेको संख्या ६८७ थियो । त्यो बेला रत्ननगर नगरपालिकाका बासिन्दा धेरै डेङ्गुबाट प्रभावित भएका थिए । २०७४/७५ मा यो संख्या घटेर ८५ मा सीमित भयो । २०७५/७६ मा यो संख्या अझै घटेर ३१ मा खुम्चियो ।
‘डेङ्गु संक्रमितको संख्या घट्दै गइरहेको थियो, तर यसवर्ष अचानक महामारीकै रुपजस्तो लिएको छ’, निरीक्षक केसीले भने, ‘सबैभन्दा बढी भरतपुर महानगरको सहरी क्षेत्र प्रभावित भएको देखिन्छ ।’

स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार भरतपुर महानगरमा मात्र यसवर्षको साउनयता एक हजार १८४ जना डेङ्गु संक्रमित बिरामी फेला परेका छन् । महानगरभित्र पनि वडा नं १, २, ३ अझ बढी प्रभावित छ । अधिकांश डेङ्गुका बिरामी यही वडाका छन् ।

रत्ननगरमा साउनयता ४६ जना डेङ्गुका बिरामी भेटिएका छन् । राप्तीमा ५, माडीमा १५, खैरहनीमा ७, इच्छाकामनामा ७, कालिकामा १६ जना डेङ्गुबाट संक्रमित छन् । संक्रमितमध्ये कति उपचारमै छन् भने कति निको भएर घर फर्केका छन् ।

चितवनका अस्पतालमा मकवानपुर, सर्लाही, लमजुङ, गोर्खा, नवलपुरलगायतका अस्पतालबाट आएका डेङ्गुका बिरामीहरुको पनि उपचार भइरहेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको पछिल्लो तथ्याङ्कअनुसार प्रदेश ३ मा सबैभन्दा बढी र कर्णाली प्रदेशमा सबैभन्दा कम डेङ्गुका रोगी पाइएको छ ।

यही भदौ महिनाको २२ गतेसम्मको तथ्याङ्कका आधारमा प्रदेश १ मा ८३१, प्रदेश २ मा २९, प्रदेश तीनमा दुई हजार १०, गण्डकी प्रदेशमा ८९४, प्रदेश ५ मा ९७, कर्णाली प्रदेशमा ३ तथा सुदूरपश्चिम प्रदेशमा २३ जना गरी हालसम्म तीन हजार ८९९ डेङ्गु रोगका बिरामी फेला परेका छन् ।

डेङ्गु परीक्षण कीट प्रदान

भरतपुर महानगरपालिकाले बिहीबार भरतपुर अस्पताललाई डेङ्गु परीक्षण कीट प्रदान गरेको छ । अस्पताललाई एक हजार डेङ्गु परीक्षण कीट प्रदान गरिएको महानगरले जनाएको छ ।

भरतपुर महानगरप्रमुख रेनु दाहालले एक कार्यक्रमका बीच अस्पतालका सुपरिन्टेन्डेन्ट श्रीराम तिवारीलाई डेङ्गु परीक्षण कीट प्रदान गरेकी हुन् । प्रमुख दाहालले डेङ्गु रोगको उपचारमा सहयोग पु¥याउन कीट प्रदान गरेको बताइन् ।

कीट हस्तान्तरण कार्यक्रमकी प्रमुख अतिथि महानगरप्रमुख दाहालले भनिन्, ‘कीटको अभावले बिरामीको परीक्षणमा समस्या नआओस् भनेर कीट प्रदान गरेका हौँ ।’ कार्यक्रममा मेसु तिवारीले महानगरले उपलब्ध गराएको कीटले उपचारमा सहज हुने बताए ।

कार्यक्रममा उपप्रमुख पार्वती शाह ठकुरी, प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीलगायतको सहभागितामा कीट हस्तान्तरण गरिएको थियो ।


Spread the love