चितवनमा दसैँभर मासुको मूल्य नबढ्ने, १० हजार खसीबोका खपत हुने अनुमान

Spread the love

भरतपुर । यसवर्षको दसैँमा चितवन जिल्लामा १० हजार खसीबोका खपत हुने भएको छ ।

खसीबोका मासु व्यवसायी संघ चितवनले यसवर्ष दसैँको घटस्थापनादेखि पूर्णिमासम्म (१५ दिन) चितवन जिल्लाको लागिमात्रै १० हजारको हाराहारीमा खसीबोका खपत हुने जनाएको छ । गत वर्ष चितवनमा आठ हजार खसीबोका खपत भएको थियो । यो संख्यामा घरमा पालेर घरमै खपत गरिएको खसीबोका गणना गरिएको छैन ।

दसैँमा चितवनका व्यवसायीहरुले भारतबाट खसीबोका आयात गर्दै आएका थिए । स्थानीय उत्पादनलाई प्राथमिकता दिने गरी भारतबाट पशुपक्षी आयातमा सरकारले कडाइ गरेपछि खसीबोका आयात पनि ठप्पजस्तै छ ।

‘गएको फागुनदेखि भारतबाट खसीबोका आयात ठप्प छ, स्थानीय उत्पादनले अघिपछिको समयलाई सजिलै धानेको छ, तर दसैँमा धान्न मुस्किल छ’, संघका अध्यक्ष उद्धव तिमिल्सिनाले भने, ‘नपुगे पूर्वी तथा पश्चिम तराईका जिल्लाहरुमा पुग्ने सोच बनाएका छौँ ।’

खसीबोका मासु व्यवसायी संघले जिल्लामा दर्ता भएका एक सयवटा मासु पसलबाट निकालेको तथ्याङ्कअनुसार चितवनवासीले दसैँमा १० हजार खसीबोका खपत गर्दा झन्डै डेढ करोड बढी लगानी गर्नेछन् । यसवर्ष पनि चितवनका खसीबोका मासु पसलहरुले च्याङ्ग्रा ल्याउने योजना बनाएका छन् ।

गत वर्ष व्यवसायीहरुले एक हजार ८०० च्याङ्ग्रा चितवन भिœयाएका थिए । यसवर्ष व्यवसायीहरु मिलेर दुई हजार बढी च्याङ्ग्रा चितवन जिल्लामा भिœयाउने योजना बनाइएको संघका अध्यक्ष तिमिल्सिनाले बताए ।

यतिबेला चितवनका मासु व्यवसायीहरुले चितवनको पहाडी क्षेत्रमा सहकारीहरुले उत्पादन गरेका खसीबोका ल्याइरहेका छन् । चितवनमा पहाडी क्षेत्रका आठवटा सहकारीले यतिबेला जिल्लालाई खसीबोका मुस्किलले पु¥याइरहेका छन् ।

‘भरतपुर र नारायणगढका व्यवसायीहरुले जिल्लाका पहाडी क्षेत्र कविलास, शक्तिखोर, सिद्धि, काउले, कोराकका सहकारीबाट खसी ल्याइरहेका छन्, यसबाहेक धादिङ, नवलपरासी र मकवानपुरबाट पनि खसीबोका आइरहेको छ’, अध्यक्ष तिमिल्सिनाले भने, ‘बोयर खसीहरु बजारमा आइसकेका छैनन्, जसले गर्दा यसपटकको दसैँमा केही समस्या हुन्छ कि !’

सहकारीबाट व्यवसायीहरुले जिउँदो खसी खरिद गर्दा सरदरमा किलोको ५२० रूपैयाँ हालेका छन् । व्यवसायीहरुले खसीको मासु बनाएर किलोको ९०० रूपैयाँमा उपभोक्ताहरुलाई बेचेका छन् । उपभोक्ताले खोजेजस्तो मासुलाई व्यवसायीहरुले एक किलोको एक हजार रूपैयाँमा बेचेका छन् ।

संघले दसैँ, तिहार र छठमा खसीबोकाको मासुको मूल्य नबढ्ने जनाएको छ । संघका महासचिव गणेशप्रसाद कँडेलले भने, ‘चाडबाडको बेला उपभोक्तालाई मार नपार्ने भन्ने हिसाबले मूल्य वृद्धि गरेका छैनौँ, अहिलेको मूल्य छठ पर्वसम्म कायम हुन्छ ।’

संघमा व्यवसायीबाट मूल्य वृद्धि गर्न व्यापक दबाब आइरहेको उनको भनाइ थियो । उनले भने, ‘हामीले जिल्ला प्रशासनसँग चाडपर्वसम्म मूल्य नबढाउने प्रतिबद्धता गरेका छौँ, त्यसकारण हाललाई मूल्य बढ्दैन, तर छठ पर्वपछि बढ्न सक्छ ।’


Spread the love