खेल होइन, झेल पनि हुन्छ – साप्ताहिक संवाददाता

Spread the love

साप्ताहिक संवाददाता

ब्राजिलीयन टेनिस खेलाडी जाँओ डिसुजालाई गत शनिबार अन्तर्राष्ट्रिय टेनिस फेडेरेसनले आजीवन प्रतिबन्ध लगाउँदै २ करोड २६ लाख रुपैयाँ जरिवनाको घोषणा गर्‍यो । ३१ वर्षीय डिसुजाले सन् २०१५ देखि २०१९सम्म भएका एटिपी च्यालेन्ज र आईटीएफअन्तर्गत भएका प्रतियोगितामा मिलेमतो गरेको अभियोग लागेको थियो । छानबिनका क्रममा डिसुजाले प्रमाण नष्ट गरेको र अनुसन्धानमा सहयोग नगरेको पाइयो । 

यसरी खेलमा मिलेमतो गर्ने डिसुजा एक्ला खेलाडी भने होइनन् । विश्वको खेलकुद क्षेत्रमा मिलेमतो, शक्तिवद्र्धक औषधि सेवन, भ्रष्टाचार, विद्रोह, बहुविवाहजस्ता विभिन्न घटनामा मुछिएर करिअर नै समाप्त गरेका खेलाडी तथा खेल पदाधिकारी धेरै छन् । 

महिला टेनिसको शीर्ष वरियताक्रममा रहेकी रसियन टेनिस खेलाडी मारिया सारापोभाले शक्तिवद्र्धक औषधि सेवन गरेको प्रमाणित भएपछि उनको खेल करिअर नै बर्बाद भयो । सन् २०१६ मा अस्ट्रेलियन ओपन खेल्ने क्रममा उनको रगत परीक्षण गर्दा शक्तिवद्र्धक औषधि सेवन गरेको प्रमाणित भयो । उनलाई दुई वर्षको प्रतिबन्धको घोषणा गरिए पनि नौ महिनामा फुकुवा गरियो । 

सन् २०१६ को रियो ओलम्पिक प्रतियोगितामा शक्तिवद्र्धक औषधि सेवन गरेका कारण सबैभन्दा धेरै खेलाडी प्रतिबन्धमा परे । रसियाबाट सहभागी ६८ जना एथलेटिक्स खेलाडीमध्ये ६७ जनाले शक्तिवद्र्धक औषधि सेवन गरेको प्रमाणित भएको थियो । अन्तर्राष्ट्रिय डोपिङ एजेन्सीले सन् २०११ देखि २०१५ बीचमा रसियन खेलाडीहरूको पिसाब परीक्षणको नमुना संकलन गरेर उक्त नतिजा ल्याएको थियो । यो घटनापछि रसियन खेलाडीमाथि प्रतिडोपिङ एजेन्सीले विशेष निगरानी बढाएका थिए । 

ओलम्पिक प्रतियोगिताको चर्चा गर्दा अमेरिकी धाविका मारियन जोन्सको नाम छुट्दैन । सन् २००० को सिड्नी ओलम्पिक प्रतियोगितामा जोन्सनले छोटो दूरीका दौड र लङजम्पमा ३ स्वर्ण र २ कास्य पदक जितेकी थिइन् । यस्तै वल्र्ड च्याम्पियनसिपमा छोटो दूरीको दौडमा पनि उनले सन् २००१ मा आफ्नो वर्चस्व देखाएकी थिइन् । जोन्सनले शक्तिवद्र्धक औषधि सेवन गरेको प्रमाणित भएपछि उनलाई ६ महिनाको काराबास सजाय हुनुका साथै सन् २००० को अवधिमा ओलम्पिक र वल्र्ड च्याम्पियनसिपमा जितेका सबै पदक खोसिएको थियो ।

अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) को उपल्लो तहमा रहेका ७ जना पदाधिकारीलाई सन् २०१५ को मे महिनामा स्विट्जरल्यान्डको ज्युरिचको एक होटलमा पक्राउ गरिएको थियो । सोही वर्षको डिसेम्बरमा फिफाका दुई उपाध्यक्षसहित १६ जना ज्युरिचमै पक्राउ गरे । कतारलाई सन् २०२२ को विश्वकप फुटबल प्रतियोगिता आयोजना गर्न दिने विषयमा उनीहरू आर्थिक प्रलोभनमा परेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको थियो । उक्त बिषयमा छानबिन गर्न गठन गरिएको समितिले फिफा र यूईएफएका अध्यक्ष सेप ब्लाटर र माइकल प्लाटिनीलाई समेत आठ वर्षको प्रतिबन्ध लगाइयो । भ्रष्टाचारको अभियोगबाट दुवै जना मुक्त भए पनि आफ्नो इच्छा अनुकूल निर्णय गराउन प्रभावित गरेको अभियोगमा भने उनीहरू दोषी पाइए । 

क्रिकेट खेलमा पनि खेल मिलेमतो हुने घटना निकै हुने गर्छन् । दक्षिण अफ्रिकाका तत्कालीन कप्तान ह्यान्सी क्रोने सन् २००० मा खेल मिलेमतोमा मुछिए । यो घटना सनसनीपूर्ण त बन्यो नै, अहिलेसम्मकै चर्चित क्रिकेट मिलेमतो पनि मानिन्छ । सन् १९९६ मा दक्षिण अफ्रिकाका क्रिकेटरहरू भारतमा खेल्न आएका थिए । क्रोने र भारतका चर्चित सट्टेबाज सञ्जय चावलाबीच भएको टेलिफोन संवाद उक्त खेल मिलेमतोको बलियो प्रमाण बन्यो । खेल मिलेमतोमा समाप्त गर्न क्रोनेले १ लाख डलर लिएको स्वीकार गरे । यो अभियोगमा हसेल गिब्स, निक्की बोज र पिटर सिन्ड्रम पनि मुछिए । सन् २००२ मा भएको विमान दुर्घटनामा क्रोनेको निधन भयो । 

इन्डियन प्रिमियर लिग ट्वान्टी–२०लाई क्रिकेटमा सर्वाधिक पुरस्कार राशिको प्रतियोगिता मानिन्छ । सन् २०१३ मा यो क्रिकेट प्रतियोगिता पनि म्याच फिक्सिङको फन्दामा पर्‍यो । राजस्थान रोयलका तीन क्रिकेटर एस श्रीसन्त, अजित चण्डिला र अंकित चाभानलाई दिल्ली प्रहरीले पक्राउ गर्‍यो । सन् २०१५ मा पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा गठन गरेको छानबिन समितिले चेन्नई सुपर किङ र राजस्थान रोयल टिमलाई दुई वर्षको प्रतिबन्ध लगायो । यो अभियोगमा चेन्नई सुपर किङका गुरुनाथ मेयाप्पन र राजस्थान रोयलका राज कुन्द्रालाई आजीवन क्रिकेट गतिविधिमा लाग्न प्रतिबन्ध लगाएको थियो । 

सन् २०१६ मा आयोजना भएको अस्ट्रेलियन ओपनमा ब्वाइजको एकल उपाधि जितेका ओलिभर एन्डरसन म्याच फिक्सिङको अभियोगमा फसे । एटीपी टुरअन्तर्गत आयोजित खेलमा ओलिभरले आफूभन्दा कमजोर प्रतिद्वन्द्वीलाई खेल मिलेमतो गरेर विजयी गराएका थिए । यो अभियोगमा उनलाई ५ सय डलर जरिवाना गरिएको थियो । 

टुर डी फ्रान्सलाई विश्वकै सम्मानित साइकल रेस मानिन्छ । यो प्रतियोगिता सात पटक जितेर विश्वकै महान् खेलाडीको लाममा लान्स आर्मस्ट्रङ उभिएका थिए । क्यान्सर रोगबाट पुनर्जीवन पाएका लान्सले आफ्नो नाममा फाउन्डेसन राखेर मानवीय सहायताका धेरै कामसमेत गरे । जब उनी शक्तिवद्र्धक औषधि सेवन गरेर सफल भएको चर्चा चल्न थाल्यो, उनी त्यसलाई इन्कार गर्थे । पत्रकारहरूप्रति जाईसमेत लाग्ने गर्थे । तर, ओपरा विन्फ्रीको एक कार्यक्रमको दौरान उनले आफूले जितेको सातवटै उपाधि शक्तिवद्र्धक औषधि सेवन गरेर गरेको बताए र उनले जितेका सबै उपाधि खोसिएको थियो । 

गल्फमा टाइगर उड महान् खेलाडी मानिन्थे । सन् २००९ को नोभेम्बरमा उनले परस्त्रीहरूसँग सम्पर्क राखेको घटना सार्वजनिक भयो । यो समाचारले उनको घरमा आक्रोश बढ्यो । रिसको झाेंकमा कार चलाउँदा दुर्घटना भयो र आफैं चोटग्रस्तसमेत भए । यो घटना सार्वजनिक भएपछि उडको जीवनमा जोडिएका महिलाहरू एकपछि अर्को गर्दै देखा पर्न थाले । उनकी श्रीमती इलिन नोड्रेगेन ७५ करोड डलर लिएर उडसँग अलग भइन् । उडलाई ब्रान्ड एम्बेसडर बनाएका दर्जनौं कम्पनीले हात झिके भने उनको गल्फ करिअरको वरियताक्रम पनि पुछारमा पुगेको थियो । 

फिगर स्केटिङकी दुई सुन्दरी टोन्या हार्डिङ र नेन्सि केरिग्यानबीच भएको घटना पनि विश्वको खेलकुद क्षेत्रले कहिल्यै बिर्संदैन । सन् १९९४ मा नर्वेको लिलेह्यामरमा आयोजना हुने हिउँदे ओलम्पिक प्रतियोगिताको तयारीमा अमेरिकी टिमको तर्फबाट टोन्या र नेन्सी छनोट भएका थिए । उक्त प्रतियोगितामा नेन्सीले रजत पदक जितिन् भने टोन्याले आठौं स्थान हासिल गरिन् । यो पराजयको बदला लिन टोन्याको पति र उनको अंगरक्षकले एक भाडाको व्यक्तिलाई लगाएर नेन्सीको खुट्टा भाँचिने गरेर आक्रमण गराइन् । घटना सार्वजनिक भएपछि टोन्याले आफ्नो षड्यन्त्र स्विकार गरेकी थिइन् । त्यसबापत उनलाई १ लाख डलर जरिवाना गरिएको थियो ।


Spread the love