कस्ता छन् स्वर्ण पदकधारी बडीबिल्डर

Spread the love

गत साता काठमाडौंमा सम्पन्न १२ औं दक्षिण एसियाली शारीरिक सुगठन च्याम्पियनसिपमा नेपालले उल्लेखनीय सफलता हात पार्‍यो । दक्षिण एसियाका ८ मुलुकका १ सय ३० जना खेलाडीले सहभागिता जनाएको उक्त प्रतियोगितामा नेपालका तर्फबाट १८ पुरुष तथा ५ महिला गरी २३ जना खेलाडी सहभागी थिए, जसमा नेपालले ३ स्वर्ण, ७ रजत तथा ६ कांस्य गरी १६ वटा पदक जित्यो । नेपालका लागि ६५ किलोमा समीर श्रेष्ठले, पुरुष एथलेटिक्समा नरेश मालाकारले तथा महिला मोडल फिजिक्समा मल्लिका शाक्यले स्वर्ण पदक जितेका थिए । 

मल्लिका शाक्य

२९ वर्षीया बडीबिल्डर मल्लिका शाक्य शारीरिक सुगठन (मोडल फिजिक) मा अन्तर्राष्ट्रिय स्वर्ण पदक जिताउने नेपालकै पहिलो महिला खेलाडी हुन् । उनी गत साता काठमाडौंमा सम्पन्न १२ औं दक्षिण एसियाली शारीरिक सुगठन च्याम्पियनसिपकी स्वर्ण पदक विजेता हुन् । मल्लिका यसअघि मिस्टर हिमालयन बडीबिल्डिङ प्रतियोगितामा चौथो भएकी थिइन् । अहिले बडीबिल्डरका रूपमा चिनिएकी मल्लिका दुई वर्षअघिसम्म म्यानपावर कम्पनीमा काम गर्थिन् । उनी अब एसियन बडीबिल्डिङ तथा एसिया प्यासिफिक प्रतियोगिताको तयारीमा जुट्ने कुरा बताउँछिन् । मल्लिकाले ०७२ सालको भूकम्पपछि खाने–बस्ने कामले मोटाएकाले तौल घटाउन फिटनेस सेन्टर ज्वाइन गरेकी थिइन् । यद्यपि उनी त्यहाँ तौल घटाउनभन्दा पनि कार्डियो कोर्स गरेर शरीर बनाउन तर्फ लागिन् । अन्ततः उनले चार वर्षमै अन्तर्राष्ट्रिय स्तरको स्वर्ण पदक जितिन् । छोटो समयमै यो स्थानसम्म आउनुको रहस्य आफ्नो मेहनत र इच्छाशक्ति भएको शाक्य बताउँछिन् । मल्लिका अहिले कार्डियो ट्रेनरका रूपमा समेत सक्रिय छिन् ।

समीर श्रेष्ठ 

समीर १२ औं दक्षिण एसियाली शारीरिक सुगठन च्याम्पियनसिपमा नेपाललाई स्वर्ण पदक दिलाउने सफल खेलाडी हुन । उनी देशबाहिर भए पनि देशलाई आवश्यक परेका बेला आफ्नो योगदानका लागि स्वदेश आइपुग्छन् । साउदी अरेबियामा कार्यरत श्रेष्ठ यतिबेला थाइल्यान्डमा हुन लागेको एसिया–प्यासिफिक प्रतियोगिताको तयारीमा छन् । श्रेष्ठले ६५ किलो तौल समूहमा स्वर्ण पदक जितेका हुन् । भक्तपुरको चाँगुनारायणमा जन्मिएका ३५ वर्षीय समीरले अहिलेसम्म मिस्टर एभरेस्ट, मिस्टर काठमाडौं, धर्मश्री, बुल्स म्यान, मिस्टर हिमालय गरी ५ वटा राष्ट्रिय गेममा तथा दक्षिण एसियाली १ गरी ६ वटा प्रतियोगितामा पदक जितिसकेका छन् ।

उनी आफ्नो शरीरलाई सुगठित र आकर्षक बनाउन हप्तामा ६ दिन व्यायाम गर्छन् । ७३ किलो तौलका श्रेष्ठको पाखुरा १८ इन्च, छाती ४५ इन्च, कम्मर ३० इन्च तथा उचाइ १ सय ६४ सेन्टिमिटर छ । ०६२ सालदेखि नै शरीर बनाउन लागिपरेका समीर साउदी अरेबियाको पावर जिममा प्रशिक्षकका रुपमा कार्यरत छन् । उनी शरीरका लागि सप्लिमेन्ट, प्रोटिन अमिनो, ओमेगा–३, बिका तथा मल्टिभिटामिन प्रयोग गर्छन् । 

नरेश मालाकार

१८ वर्षको उमेरदेखि नै व्यायाम गर्न थालेका नरेश १२ औं दक्षिण एसियाली शारीरिक सुगठन च्याम्पियनसिपको पुरुष एथलेटिक्स (१ सय ६७ सेन्टिमिटर) मा स्वर्ण पदक जित्ने खेलाडी हुन् । २६ वर्षको उमेरमा २०७० सालदेखि बडीबिल्डिङ प्रतियोगिताहरूमा भाग लिन थालेका नरेश अहिले ३२ वर्षका भए ।

उनले मिस्टर हिमालय, मिस्टर उपत्यका श्री, मिस्टर काठमाडौं, सुपर हेभीवेट (८ औं राष्ट्रिय खेलकुदमा) जस्ता प्रतियोगिताहरूमा स्वर्ण पदक जितिसकेका छन् । अर्को वर्ष उनी एसियन बडीबिल्डिङ प्रतियोगितामा सहभागी हुने योजनामा छन् । आफ्नो शरीरलाई व्यवस्थित बनाउन उनी प्रत्येक दिन २ घण्टा जिम गर्छन् भने साइकिलिङ, वाकिङ तथा ट्रेडमिलमा पनि उक्तिकै सत्रिय हुन्छन् ।

९५ किलोका नरेशको पाखुरा १८ इन्च, तिघ्रा २६ इन्च, छाती ४६ इन्च, कम्मर ३२ इन्च तथा उचाइ ५ फिट १० इन्च छ । शरीर नै आफ्नो पहिचान भएका कारण शरीरलाई आफूले निकै ध्यान दिने मालाकार बताउँछन् । नरेश शरीरलाई तन्दुरुस्त एवं फुर्तिलो राख्न डाइटका रूपमा चिल्लोरहित खानेकुरा, फलफूल, चिकेन, बफ, अण्डा, चना, मल्टी भिटामिन, सप्लिमेन्ट्री तथा प्रोटिनयुक्त खाद्यपदार्थलाई प्राथमिकतामा राख्छन् ।

खानेकुरामा अफ सिजनमा महिनाको ४० हजार तथा गेम भएका बेला १ लाखसम्म खर्च हुने मालाकार बताउँछन् । शरीर र सामाजिक पहिचानकै कारण उनी साइटेक न्युट्रिस्नको ब्रान्ड एम्बेसडरसमेत भएका छन् । मालाकारले काठमाडौंको ढल्कुमा न्यू फ्रेस एन्ड फिटनेस ट्रेनिङ सेन्टर तथा प्रोटिन हाउस न्युट्रिसन स्टोर पनि सञ्चालन गर्दै आएका छन् ।

प्रकाशित :श्रावण २२, २०७६


Spread the love