एमाले लुम्बिनी प्रदेश कमिटी सदस्यले गरे भेरी अस्पतालमा डाक्टर र नर्समाथि कुटपिट

Spread the love

बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालका डाक्टर तथा नर्समाथि आक्रमण भएको छ।

कोरोना संक्रमणपछि उपचार गराइरहेका बिरामीको मृत्युपछि आफन्तले डाक्टर तथा नर्समाथि बिहीबार कुटपिट र हातपात गरेका थिए।

उनीहरूले अस्पतालसमेत तोडफोड गरेका थिए।

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ उरहरीका ५४ वर्षीय डिल्लीबहादुर रावतको मृत्यु भएपछि उनका भाइ मानबहादुर रावत र छोराहरू भरत रावतलगायत ४/५ जनाको समूहले अस्पतालका डाक्टर तथा नर्समाथि आक्रमण गरेका थिए।

अस्पतालमा उपचार गराइरहेका रावतको बिहीबार बेलुकी ८ बजे मृत्यु भएको थियो।

उनको मृत्युलगत्तै आफन्तहरूले डाक्टर र नर्समाथि आक्रमण र अस्पताल तोडफोड गरेको आरोप छ।

प्रहरीकाअनुसार घटनामा संलग्नमध्ये मानबहादुर, भरत र लोकराज रावतलाई पक्राउ गरिएको छ।

बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले उनीहरूलाई पक्राउ गरेर घटनाबारे थप अनुसन्धानअगाडि बढाइएको बताए।

भेरी अस्पताल विकास समितिका सदस्य कृष्ण श्रेष्ठले मृतकका आफन्तहरूको आक्रमणले ४ जना नर्सिङ स्टाफ र एक जना चिकित्सक घाइते भएको बताए।

‘आइसियू कक्षमै डाक्टर र नर्सहरूमाथि हातपात भएको छ,’ श्रेष्ठले भने, ‘पिपिई सेट लगाएका नर्सलाई घाँटी अठ्याउने, लात्ताले हान्नेजस्ता हर्कत भए।’

थप आक्रमण हुनबाट बच्न नर्सहरू भागेर शौचालयतर्फ जाँदा त्यहाँ गएर पनि उनीहरूले आक्रमण गरेको उनको भनाइ छ।

‘केही नर्स ज्यान जोगाउनकै लागि अस्पतालको छतबाट पनि हाम फाल्नुपर्‍यो,’ उनले भने।

उनीहरूको आक्रमणबाट डाक्टर दीपक गुप्ता, डाक्टर चन्द्रप्रकाश साहु, डाक्टर समा अनसारी, स्टाफ नर्स आश्विन गुरुङ, सदीक्षा गैरे, बन्दना श्रेष्ठलाई चोटपटक लागेको भेरी अस्पताल प्रशासनले जानकारी दिएको छ।

रावतका आफन्तले अस्पताल तोडफोड पनि गरेका थिए। ‘पंखा, टेबुल, कुर्सी र झ्याल ढोकासमेत तोडफोड गरेका छन्,’ श्रेष्ठले भने।

अस्पतालभित्रै रहेका एक कुरूवाले फोन गरेर बिरामीको मृत्यु भएको भन्दै अरू आफन्तलाई अस्पताल आइहाल्न भनेका थिए।

त्यसको केहीबेरमा उनीहरूले चिकित्सकमाथि आक्रमण गरेका थिए।

आफूहरूलाई आक्रमण गरेको विरोधमा गए राति अबेरसम्म चिकित्सक र नर्सहरूले अस्पताल परिसरमै विरोध गरिरहेका थिए। आक्रमण गर्नेहरूलाई पक्राउ गरी कारबाही गर्नुपर्ने माग उनीहरूको थियो।

अस्पताल विकास समितिका सदस्य श्रेष्ठकाअनुसार घटनापछि स्वास्थ्यकर्मीले असुरक्षित महसुस गरेका छन् र काममा आउन मानिरहेका छैनन्।

उनकाअनुसार अस्पतालमा एक सय ७० जनाभन्दा बढी बिरामी छन्। ज्यानको सुरक्षा नभएको भन्दै चिकित्सक अस्पताल आउन नमानेका हुन्।

यसबारे बाँके प्रशासनमा अहिले छलफल जारी छ। प्रमुख जिल्ला अधिकारी, अस्पताल विकास समिति र चिकित्सक तथा स्वास्थ्यकर्मीबीच छलफल भइरहेको छ।

पक्राउ परेका व्यक्ति मानबहादुर रावत नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीका सदस्य हुन्। राजनीतिक पहुँच भएकोले प्रहरीले उनलाई छाड्न सक्ने भन्दै स्वास्थ्यकर्मीले खबरदारी गरिरहेका छन्।

रावत यसअघि तुलसीपुर उपमहानगरपालिकामा सुब्बा हुँदा मेयर घनश्याम पाण्डेका स्वकीय सचिव थिए।

एक जना कार्यपालिका सदस्यमाथि अभद्र व्यवहार गरेको आरोपपछि उनको जागिर गएको थियो।

उनी एमाले दाङ जिल्ला सचिवालय सदस्य पनि हुन्।

देउखुरीकी एक जना महिलामाथि बलात्कार अभियोगमा उनीमाथि मुद्दा पनि चलेको थियो।

राजनीतिक शक्ति र सत्ताको आडमा जोगिँदै आएका व्यक्ति पुन: स्वास्थ्यकर्मीमाथि हातपातमा उत्रिएकोले छानविन गरी दोषी पाइएमा कानुनअनुसार कारवाही गर्न स्वास्थ्यकर्मीहरूले माग गरेका छन्।


Spread the love