अष्ट्रेलियामा घन्कियो ‘गाउँ गाउँबाट उठ…’

Spread the love

एक ताका नेपालमा निक्कै बज्ने गीत हो– ‘गाउँ गाउँबाट उठ’ । अहिले पनि बेला बखत विभिन्न कार्यक्रमहरुमा युवालाई आन्दोलित पार्ने क्रममा यो गीत बजिरहेकै हुन्छ । यहि गीत मंगलबार  नेपालीको उल्लेख्य बसोबास रहेको अष्ट्रेलियाको शहरमा घन्कियो । अष्ट्रेलियामा जारी नेपथ्य श्रृंखलाअन्तर्गत तेस्रो कन्सर्ट एडिलेडको ‘एचक्यू कम्प्लेक्स’मा यो कन्सर्ट गीत गाइएको हो । 

कन्सर्ट हेरेर फर्केपछि एडिलेडका स्थानीय जो डेभिसले उनको फेसबुकमा तस्बिरहरु राख्दै टिप्पणी गरेका छन्, ‘माई फस्ट नेपाली कन्सर्ट, इट वाज असम ।’  

एडिलेड मा करिब आठ हजार नेपाली बसोबास गर्छन् । उल्लेखित संख्याको आधाजसो मानिस त  पछिल्लो समय पुनर्वास गराइएका भुटानी शरणार्थी रहेका छन् ।  यति थोरै नेपाली रहेको स्थानमा भब्य कार्यक्रम होला भनेर नेपथ्यका मुख्य गायक अमृत गुरुङले चिताएकै थिएनन् रे । उक्त कार्यक्रम सम्पन्न भएपछि आयोजक समूहका गगन गिरी र खुम गुरुङले भनेका थिए, ‘तपाईंले नेपाली कार्यक्रमको नयाँ रेकर्ड कायम गरिदिनुभयो ।’ आयोजक गगन र खुम दुवैले एक स्वरमा यो कन्सर्ट आयोजना गरेर नेपथ्यलाई साथ दिने मौका दिएकामा कृतज्ञता प्रकट गरेका थिए ।

एडिलेडको कन्सर्ट सम्पन्न भएसँगै नेपथ्यले अब पहिलोपटक अष्ट्रेलियाको बेग्लै टापुमा टेक्ने भएको छ । एन्टाकर्टिक महादेश (पृथ्वीकै पिँध)को नजिकै पर्ने अनि अष्ट्रेलियाको बेग्लै टापुमा बसेको राज्य तास्मानियामा पहिलोपटक यसपाला नेपथ्य पुग्दैछ । त्यस राज्यको राजधानी होबार्टस्थित तासमान हलमा डिसेम्बर ८ तारिखको बेलुकी नेपथ्यका लोकभाकाहरु घन्कनेछन् ।

Source: saptahik


Spread the love